काठमाडौँ– आज (बुधबार) नेपाल राष्ट्र बैंकले एकै दिन बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ उठाउन लागेको छ। पछिल्लो समय बजारमा अधिक तरलता भएसँगै राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट निरन्तर रूपमा निक्षेप रकम उठाइरहेको छ।
राष्ट्र बैंकले २० दिनका लागि बोलकबोल आह्वान गरेको छ, जसमा बैंक तथा वित्तीय संस्थाहरूले भाग लिन सक्नेछन्। सोमबार दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ।
बैंक तथा वित्तीय संस्थाहरूले बोल गर्न सकिने रकम घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ।
राष्ट्र बैंकका अनुसार सावाँ तथा ब्याज भुक्तानी आगामी असार १८ गते तोकिएको छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ। निक्षेप सङ्कलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ। निक्षेप सङ्कलनको बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव) पछिको हकमा चार (अंकसम्म) उल्लेख गर्नुपर्नेछ।
बहु ब्याजदरमा पनि बहु बोलकबोल गर्न सकिनेछ। निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्।