१० महिनामै ३९ प्रतिशत बढ्यो सेयर कर्जा - Chaitanya News
  • 2026-06-04
  • 21:33:48
  • बिहिबार,जेठ २१, २०८३
  • १० महिनामै ३९ प्रतिशत बढ्यो सेयर कर्जा

    १० महिनामै ३९ प्रतिशत बढ्यो सेयर कर्जा

    काठमाडौं– बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा जाने मार्जिन प्रकृतिको कर्जा उच्च दरले बढेको छ।

    असार मसान्तको तुलनामा वैशाख मसान्तसम्म आउँदा कुल सेयर धितो कर्जा ३९.३ प्रतिशत बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वैशाख मसान्तसम्म १ खर्ब २५ अर्ब ५२ करोड रुपैयाँ सेयर धितो कर्जा गएको छ। अन्य किसिमका कर्जाको वृद्धि सुस्ताएका बेला सेयर धितो कर्जामा भारी वृद्धि देखिएको हो।

    सो प्रकृतिको कर्जामा पनि ठूला ऋणी हाबी छन्। १० महिनामा १ करोडमाथिको सेयर कर्जा मात्रै ५३.३ प्रतिशत बढेको छ। वैशाख मसान्तसम्म १ करोडमाथिको सेयर कर्जा ८५ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ।

    त्यस्तै ५० लाख देखि १ करोडसम्मको कर्जा १० महिनामा २१.१ प्रतिशत बढेको छ। वैशाख मसान्तसम्म यो सीमाको सेयर कर्जा १५ अर्ब ५ करोड रुपैयाँ छ। त्यस्तै २५ देखि ५० लाखसम्मको कर्जा १६ अर्ब ६२ करोड छ। १० महिनामा यो कर्जा सीमाको वृद्धिदर १५.३ प्रतिशत हो।

    २५ लाखमुनिको साना कर्जा भने १० महिनामा जम्मा १०.८ प्रतिशत मात्रै बढेको छ। वैशाख मसान्तसम्म यस्तो सीमाको कर्जा ८ अर्ब १० करोड छ।