काठमाडौँ– अबदेखि राइड सेयरिङ सेवा प्रदायक पठाओ नेपालको राइडर बन्न ८० प्रतिशत अंकसहित अनिवार्य रूपमा पास गर्नुपर्ने भएको छ। आफ्नो सेवालाई सुरक्षित र गुणस्तरीय बनाउने उद्देश्यका साथ पठाओले राइडर बन्नका लागि उक्त प्रावधान ल्याइएको कम्पनीले जनाएको छ।
पठाओले राइडरको गुणस्तर, सुरक्षा र सेवा अनुभव सुनिश्चित गर्न सुरुदेखिकै प्रक्रियाअन्तर्गत, राइडर दर्ताका लागि अनिवार्य अनलाइन प्रशिक्षण र परीक्षा प्रणाली लागू गर्दै आएको मार्केटिङ हेड सुरक्षा हमालले जानकारी दिइन्। सेवा सुरुवातदेखि नै राइडरले डिजिटल प्रणाली, ग्राहक सेवा र ट्राफिक अनुशासनमा दक्ष हुनुपर्ने मापदण्ड अवलम्बन गर्दै आएको उनको भनाइ छ।
पठाओमा राइडर बन्न इच्छुक व्यक्तिले बिलबुक, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) तथा तेस्रो पक्षबिचमा अनिवार्य पेस गर्नुपर्छ। यी कागजपत्र पेस गरिसकेपछि उनीहरूलाई अनलाइन कक्षामा सहभागी गराइन्छ। जहाँ ग्राहकसँग कसरी व्यवहार गर्ने ? डिजिटल वालेट कसरी प्रयोग गर्ने ? एपमा अर्डर कसरी लिने ? का साथै कम्पनीका नियमहरू सिकाइन्छ।
प्रशिक्षणपछि हुने अनलाइन परीक्षामा कम्तीमा ८० प्रतिशत अंक ल्याउनुपर्ने छ। असफल हुनेले भोलिपल्ट पुनः प्रशिक्षण लिनुपर्ने हमालको भनाइ छ। “यो प्रक्रिया हामीले सुरुदेखि नै कडाइका साथ लागू गर्दै आएका छौँ, हामी प्रत्येक राइडरलाई जिम्मेवार,जानकार र प्रयोगकर्तामैत्री बनाउने अभियानमा निरन्तर छौँ”, उनले भनिन्।
राइडर बन्नका लागि ८० प्रतिशत अंक ल्याउनुपर्ने नियमको हाल सामाजिक सञ्जालमा विरोध भइरहेको छ। “पछिल्लो समय यस विषयले सामाजिक सञ्जालमा चर्चा भइरहेको छ, तर कम्पनीले भने सुरुदेखि नै यो प्रक्रिया अपनाउँदै आएको छ”, उनले भनिन्।