काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलसमक्ष औषधिको मूल्यबारे सुझाव दिन गठित समितिले आफ्नो प्रतिवेदन पेस गरेको छ।
आज (मंगलबार) स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रममा समितिका संयोजक डा पोषराज पाण्डेले प्रतिवेदन प्रस्तुत गर्दै हरेक दुई वर्षमा मूल्य समायोजनका लागि सुझाव दिइएको बताए।
प्रतिवेदन ग्रहण गर्दै मन्त्री पौडेलले लामो समयसम्म औषधिको मूल्यको गहन रूपमा अध्ययन नहुँदा कतिपय औषधिको मूल्य समयअनुसार बढी भएको हुन सक्ने देखिएकाले समायोजनका लागि समिति गठन गरिएको बताए ।
स्वास्थ्य मन्त्रीको निजी सचिवालयका अनुसार प्रतिवेदनका माध्यमबाट औषधिको गुणस्तर सुधार, व्यवस्थापन र सुशासन कायम गर्न मद्दत पुग्ने विश्वास मन्त्री पौडेलले व्यक्त गरे। उनले उचित मूल्यमा औषधि प्राप्त गर्ने वातावरण बनाउन तयार पार्न आफू क्रियाशील रहेको बताउँदै प्राप्त सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।
स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माले प्रतिवेदन कार्यान्वयनमास्वास्थ्य मन्त्रालयअन्तर्गतका सबै निकायको सक्रिय सहयोग अपरिहार्य भएकामा जोड दिए।