काठमाडौँ– आज (मंगलबार) सरकारले ३ अर्ब ८५ करोडको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ९ वर्ष अवधि रहेको उक्त ऋणपत्र बोलकबोल गर्न लागेको हो।
यसका लागि मंगलबार १० बजेदेखि ३ बजेसम्म बोलकबोल समय निर्धारण गरिएको छ। सो अवधिमा सबैभन्दा कम ब्याजदर बोलकबोल गर्ने बैंक तथा वित्तीय संस्थालाई प्राथमिकताका आधारमा विकास ऋणपत्र बाँडफाँट गरिने कार्यालयले जनाएको छ।
विकास ऋणपत्रलाई सरकारले आन्तरिक ऋण उठाउने एउटा प्रमुख औजारको रूपमा प्रयोग गर्दै आएको छ। यसअघि गत चैत १३ गते अन्तिमपटक ऋणपत्र निष्कासन भएको थियो। त्यो समयमा ४.४९ प्रतिशतमा उक्त ऋणपत्र बोलकबोल भएको थियो। हालसम्म औसतमा भने ४.७२ प्रतिशतमा ऋणपत्र बिक्री हुँदै आएको छ।
अहिले आर्थिक वर्षको अन्तिम सुरु हुन लाग्दा सरकारले फेरि विकास ऋणपत्र बिक्री गर्न थालेको हो।