काठमाडौँ– हाल देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विभागले जनाएको छ। कोशी प्रदेशका अधिकांश भू–भागमा भने मनसुनी वायुको प्रभाव रहेको छ।
यी वायुको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली छ। बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदली छ।
दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ।
राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ।