लेखापरीक्षण सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाः ICAN, INTOSAI, ASOSAI
नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्था (The Institute of Chartered Accountants of Nepal)
नेपाल चार्टर्ड एकाउन्टेन्टस् ऐन २०५३ बमोजिम स्थापित नेपाल चार्टर्स एकाउन्टेनस् संस्था नेपालमा लेखा व्यवसायको विकास, संरक्षण, प्रवर्द्धन र नियमन गर्न, लेखा व्यवसायको सम्बन्धमा सामाजिक मान्यता तथा विश्वास अभिवृद्धि गर्न र लेखाको महत्त्वप्रति लेखा व्यवसायीको उत्तरदायित्त्व अभिवृद्धि गर्नमा प्रतिवद्ध संस्था हो। यसले नेपालमा लेखा र लेखापरीक्षण सम्बन्धी पेशा र शिक्षालाई नियमित गर्न नियमनकारी निकायको रुपमा कार्य गर्छ। वि सं २०५३।१०।१७ मा स्थापना भएको यस संस्थाले सन् २००३ मा इन्टरनेशल फेडरेशन अफ आकाउन्टेन्टस्को सदस्यता प्राप्त गरेको छ।
ICAN लाई एक विश्वसनीय लेखा व्यवसायिक संस्थाको रुपमा स्थापित गर्ने दीर्घकालीन सोच (Vision) रहेको यस संस्थाको उच्चस्तरीय वित्तीय प्रतिवेदन प्रणालीको प्रवर्द्धन तथा नियमन र अर्थ व्यवस्थाका सबै क्षेत्रमा प्रतिष्ठा अभिवृद्धि गर्न पेशागत लेखा व्यवसायीहरुको दक्षता विकास गर्ने परिलक्ष्य (Mission) रहेको छ।
यसका विश्वास, पारस्परिक सम्मान, नवप्रवर्तन, सान्दर्भिकता, जवाफदेहिता, सत्यनिष्ठा, पेशागत उत्कृष्ठता जस्ता मूल्य मान्यताहरु रहेका छन्।
यस संस्थाका देहायका उद्देश्य रहेकाः
राष्ट्रको आर्थिक विकास गर्न लेखा व्यवासायको सुदृढिकरण र विकसित गर्दै सदस्यलाई आचार संहिताको पालना गरी लेखा व्यवसाय गर्न उत्प्रेरित गर्ने नियमनकारी निकायको भूमिका निर्वाह गर्ने
लेखाको महत्त्व र लेखा व्यवसायीको आर्थिक एवं सामाजिक उत्तरदायित्त्व प्रति जनचेतना जगाउने र विश्वास अभिवृद्धि गर्ने
लेखा व्यवसाय एवं लेखाको महत्त्व प्रति लेखा व्यवसायीको उत्तरदायित्त्व बोध गराई लेखा व्यवसायको विकास संरक्षण र सम्बर्द्धन गर्ने
लेखा व्यवसायलाई मर्यादित र विश्वासिलो बनाउन लेखा व्यवसायीको दर्ता योग्यता तथा परीक्षा प्रणालीलाई अन्तर्राष्ट्रिय मान्यता अनुरुप विकसित गर्ने।
परिषदको गठन
संस्थाको सम्पूर्ण कामकारवाहीको रेखदेख तथा प्रबन्ध गर्न संस्थालाई भएको सबै अधिकार प्रयोग गर्ने गरी देहायका पार्षदहरु रहने एक परिषदको गठन हुने व्यवस्था छः
चर्टर्ड एकाउन्ट्न्ट सदस्यहरुले आफूमध्यबाट निर्वाचित १० जना
दर्तावाला लेखापरीक्षक सदस्यहरुले आपूमध्येबाट निर्वाचित ४ जना
महालेखापरीक्षकको सिफारिसमा नेपाल सरकारले लेखा सम्बन्धी अनुभव भएका व्यक्तिहरु मध्येबाट मनोनित ३ जना
खण्ड (क) बमोजिमका पार्षदहरु मध्ये बरिष्ट चार्टर्ड एकाउन्टेन्टहरुमध्येबाट अध्यक्ष र उपाध्यक्षको निर्वाचन गर्ने
परिषदको बैठक तीन महिनाको अन्तर नपर्ने गरी साधारणतया वर्षको ६ पटक बस्ने
परिषदको काम कर्तव्य र अधिकार
लेखा व्यवसायमा प्रवेश गर्नेका लागि परीक्षा सञ्चालन गर्ने
संस्थाको सदस्यता तथा प्रमाणपत्र प्राप्त सदस्यमा दर्ताको कार्यविधि निर्धारण गर्ने
योग्यता पुगेको व्यक्तिलाई सदस्यता प्रदान गर्ने
लेखा व्यवसायमा दक्ष जनशक्तिको लागि योग्यता निर्धारण, पाठ्यक्रम र तालिमको किसिम निर्धारण गर्ने तथा शिक्षण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
लेखा व्यवसाय गर्न सदस्यलाई पेशागत प्रमाणपत्र दिने
सदस्यहरुले व्यवसायिक आचार संहिता पालना गरे नगरेको अनुगमन गर्ने तथा कार्वाही गर्ने
लेखा र लेखापरीक्षणका विभिन्न पक्षमा सैद्धान्तिक तथा व्यवहारिक निर्देशन र मार्गदर्शन दिने
लेखामान बोर्ड र लेखापरीक्षण मान बोर्डद्वारा सिफारिस लेखामान तथा लेखापरीक्षणमान पालना गर्ने गराउने र सोको अनुगमन गर्ने
सदस्यको हकहितको सुरक्षा एवं प्रतिष्ठाको संरक्षण र सम्बर्द्धन गर्ने
आर्थिक कारोबारसम्बन्धी विभिन्न कानूनमा सुधारका लागि सरकारलाई सुझाव दिने
अन्तरराष्ट्रिय क्षेत्रीय उपक्षेत्रीय महासंघको सदस्यता लिने तथा अन्य मुलुकका संस्थासँग सम्पर्क गर्ने
लेखा शिक्षाका लागि विश्वविधालय तथा अन्य शिक्षण संस्थालाई उपयुक्त शैक्षिक मापदण्ड सिफारिस गर्ने।
परिषद अन्तर्गत अनुशासनको उजुरी छानविन गरी कारवाहीका लागि परिषदमा सिफारिस गर्न अनुशासन समिति र संस्थाको दैनिक कार्य सञ्चालन गर्न कार्यकारिणी समिति रहने।यी दुई समितिका अलावा परीक्षा समिति र व्यवसायिक मार्गदर्शन समिति पनि रहने व्यवस्था छ।
लेखामान बोर्डको व्यवस्था
लेखा व्यवसाय र वित्तीय प्रतिवेदनलाई सुव्यवस्थित र नियमन गर्न नेपाल सकारले देहायको एक लेखामान बोर्डको गठन गर्नेः
नेपाल सकारले फेलो चार्टर्ड एकान्टेन्टहरुमध्यबाट मनोनित गरेको एकजना अध्यक्ष
अर्थमन्त्रलय, महालेखापरीक्षकको कार्यालय र महालेखा नियन्त्रक कार्यालयको एकएकजना प्रतिनिधि सदस्य
राजिस्ट्रार, कम्पनी राजिष्ट्रारको कार्यलय सदस्य
महानिर्देशक आन्तरिक राजस्व विभाग सदस्य
अध्यक्ष वा निजले तोकेको प्रतिनिध नेपाल धितोपत्र बोर्ड सदस्य
नेपाल सकरारले परिषद्को सिफारिसमा दर्तावाला लेखापरीक्षक सदस्यहरुमध्येबाट मनोनित गरेको एकजना सदस्य
लेखामान बोर्डको काम कर्तव्य र अधिकार
लेखा व्यवसाय र वित्तीय प्रतिवेदनलाई सुव्यवस्थित र नियमन गर्न अन्तरराष्ट्रिय लेखामान समेतको आधारमा लेखामानको व्यवस्था गर्ने
लेखामानको विकास गर्न उपयुक्त विधि तयार गर्ने र लेखामान सम्बन्धी सामग्री प्रकाशन गर्ने
लेखामानको संशोधन, सुधार, परिमार्जन गर्ने
लेखामानको व्याख्या गर्ने
लेखामान सम्बन्धी अन्य कार्य गर्ने।
नेपाल चार्टर्ड एकाउण्टेन्ट संस्थाबाट हुने कार्यहरुको खर्च व्यहोर्न संस्थाको एउटा छुट्टै कोष हुने व्यवस्था।
सर्वेच्च लेखापरीक्षण संस्थाहरुको अन्तर्राष्ट्रिय संगठन(The International Organization of Supreme Audit Institutions- INTOSAI)
INTOSAI को स्थापना विश्वका विभिन्न मुलुकहरुका लेखापरीक्षण संस्थाहरु बीच आपसी सम्बन्ध विकास गर्न आर्जित दक्षता र सीप तथा अनुभव र ज्ञानको आदान प्रदान गर्ने उद्देश्यले भएको हो। सन् १९५३ मा क्युबाको हवानामा ३४ संस्थापक राष्ट्रहरुको प्रयासमा भएको प्रथम महाधिवेशनसँगै यसको स्थापना भएको हो।हाल यसका १९५ पूर्ण सदस्य ५ एसोसियट सदस्य र २ एफिलियट सदस्य रहेका छन्। यसको महाधिवेशन प्रत्यक ३ वर्षमा हुने र आयोजक मुलुक महाधिवेशनको अध्यक्ष हुने व्यवस्था छ।यसको सचिवालय अष्ट्रियाको भियनामा रहेको छ। नेपाल सन् १९६८ मा यस संगठनको सदस्य भएको हो।
यस संगठनले विश्वका सबै सदस्य राष्ट्रका सर्वोच्च लेखापरीक्षण संस्थाहरुको कामकारबाहीमा प्राप्त सफलता एवं असफलता अध्ययन गरी आपसी अनुभव र विचारको आदान प्रदानबाट लेखापरीक्षणको दक्षता ज्ञान र सीपको अभिवृद्धि गरी प्रत्येक सदस्य राष्ट्रको लेखापरीक्षणलाई अन्तरराष्ट्रिय स्तरको बनाउन सहयोग पुर्याएको छ।
यसका अफ्रिका, अरब, एसिया, क्यारेवियन, युरोप, ल्याटिन अमेरिका र प्यासिफिक क्षेत्रका अलग अलग सातवटा क्षेत्रीय संगठनहरु समेत रहेका छन्।
उद्देश्य
सर्वोच्च लेखापरीक्षण संस्थाहरुका बीचमा आपसी सहयोग आदान प्रदान गर्नु
एक आपसमा विचार, ज्ञान तथा अनुभवहरु साटासाट गर्नु
अन्तर्राष्ट्रिय समुदायबीच सर्वोच्च लेखापरीक्षण संस्थाहरुको मान्य विश्वव्यापी सार्वजनिक आवाजका रुपमा कार्य गर्नु
सार्वजनिक क्षेत्रको लेखापरीक्षणका मापदण्ड निर्धारण गर्नु
सदस्य राष्ट्रहरुमा सुशासन प्रवर्द्धन गर्नु
सर्वोच्च लेखापरीक्षण संस्थाहरुको क्षमता विवकास, साझेदारी र निरन्तर कार्यसम्पादन सुधारका लागि सहयोग गर्नु।
अङ्गहरुः
सभा (The Congress) यस संस्थाको सर्वोच्च अंग जसमा पूर्ण, एसोसियट र एफिलियट सदस्य सहभागी हुन्छन्।
गभर्निङ बोर्ड (The Governing Board) वार्षिक रुपमा बैठक बसी महासभाका बैठकहरु बीचमा रणनीतिक नेतृत्त्व उत्तरदायित्त्व र निरन्तरता प्रदान गर्छ।
सचिवालय (The General Secretariat) ले यस संस्थाका लागि आवश्यक रणनीतिक तथा केन्द्रीय प्रशासनिक सहयोग उपलब्ध गराउँछ।
लक्ष्य समितिहरु (The INTOSAL Goal Committees) ले सम्बन्धित लक्ष्य अन्तर्गत INTOSAI का प्रयासहरुको नतृत्त्व गरी त्यस्ता लक्ष्य तथा उद्देश्यक कार्यान्वयनमा गभर्निङ् बोर्डलाई मद्दत पुर्याउँछन्।
सममामयिक मुद्दा सुपरीवेक्षकीय समित (The Supervisory Committee on Emerging Issues) INTOSAI लाई समसायिक मामिलहरु र चुनौतीहरुका सम्बन्धमा दृष्टिकोण र रायसुझाव उपलब्ध गराउछ।
सर्वोच्च लेखापरीक्षण संस्थाहरुको एशिलयाली संगठन (Asian Organization of Supreme Audit Institution- ASOSAI)
ASOSAI को स्थापना एसियाली सर्वोच्च लेखापरीक्षण संस्थाहरुको क्षेत्रीय संगठनका रुपमा सन् १९७९ मा भएको हो। सुरुमा ११ संस्थापक सदस्य रहेकोमा हाल यसमा ४७ देशका सर्वोच्च लेखापरीक्षण संस्थाहरु सदस्य रहेका छन्। यसको सचिवालाय चीनको बेइजिङमा रहेको छ। यसको प्रत्येक तीन वर्षमा सबै सदस्य संस्था सदस्य रहने महासभाको बैठक बस्ने गर्दछ।
उद्देश्य
सदस्य संस्थाहरुबीच लेखापरीक्षण सम्बन्धी ज्ञान र अनुभवको आदानप्रदान गरी समझदारी र सहयोगलाई प्रवर्द्धन गर्नु
सरकारी लेखापरीक्षकहरुलाई तालिम तथा निरन्तर शिक्षा प्रदान गरी कार्यसम्पादन र गुणस्तर अभिवृद्धि गर्नु
विश्वका अन्य भागमा भएका सार्वजनिक लेखापरीक्षण सम्बन्धी संस्थाहरुसँग सूचनाको केन्द्र तथा क्षेत्रीय सम्पर्क विन्दुका रुपमा कार्य गर्नु
सदस्य संस्थाहरुको सरकारी सेवामा कार्यरत लेखापरीक्षकहरुबीच निकटतम सहयोग र भातृत्वको प्रवर्द्धन गर्नु।
कार्यहरुः उल्लेखित उद्देश्य पुरा गर्न अध्ययन तथा अनुसन्धान गर्ने, सभा सम्मेलन तथा गोष्ठिहरुको आयोजना गर्ने आवश्यकता अनुसार अन्य कार्यहरु गर्ने।
अङ्गहरुः
सभा (Assembly)
सञ्चालक समित (Governing Board)
सचिवालय (Secretariat)
क्षमता विकास समिति (Capacity Development Committee)
लेखापरीक्षण समिति (Audit Committee)
कार्यसमूहहरु (Working Groups)
सरकारी तथा संगठित क्षेत्र लेखापरीक्षण मान
सरकारी तथा संगठित क्षेत्रको लेखापरीक्षणलाई मार्गदर्शन गर्ने, अन्तरराष्ट्रिय रुपमा एकरुपता कायम गर्ने र लेखापरीक्षणको गुणस्तर अभिवृद्धि गर्ने सिद्धान्त र मूल्य मान्यताहरुको समष्टिलाई सरकारी तथा संगठित क्षेत्रको लेखापरीक्षण मान (Public and Corporate Sector Auditing Standards) भनिन्छ। यसलाई लेखापरीक्षकबाट अपेक्षिक व्यवसायिक आचरणका रुपमा पनि बुझ्न सकिन्छ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन २०५३ का अनुसार लेखा व्यवसाय र लेखपरीक्षणलाई सुव्यवस्थित र नियमन गर्न लेखापरीक्षणमान बोर्डबाट व्यवस्थित वा सिफारिस गरिएका लेखापरक्षण मान नै लेखापरीक्षण मान हुन्।
लेखापरीक्षणमान बोर्ड
यसै ऐनले अन्तर्राष्ट्रिय लेखापरीक्षणमान (International Standard on Auditing) समेतको आधार लिई लेखापरीक्षण मानको व्यवस्था गर्ने गरी परिच्छेद ३ख. दफा १५घ. देखि १५च. सम्म लेखापरीक्षणमान बोर्ड सम्बन्धी देहायको व्यवस्था गरिएको छः
नेपाल सकारले फेलो चार्टर्ड एकान्टेन्टहरुमध्यबाट मनोनित गरेको एकजना अध्यक्ष
अर्थमन्त्रलय र महालेखापरीक्षकको कार्यालयको एक एकजना प्रतिनिधि सदस्य
नेपाल सरकारले परिषदको सिफारिषमा चार्टर्ड एकाउन्टेन्टहरु मध्येबाट मनोनित गरेको तीनजना सदस्य
नेपाल सरकारले परिषदको सिफारिषमा दर्तावाला लेखापरीक्षक सदस्यहरु मध्येबाट मनोनित गरेको एकजना सदस्य
लेखापरीक्षणमान बोर्डको काम कर्तव्य र अधिकार
लेखा व्यवसाय र वित्तीय प्रतिवेदनलाई सुव्यवस्थित र नियमन गर्न अन्तरराष्ट्रिय लेखापरीक्षणमान समेतको आधारमा लेखापरीक्षणमानको व्यवस्था गर्ने
लेखापरीक्षणमानको विकास गर्न उपयुक्त विधि तयार गर्ने र लेखापरीक्षणमान सम्बन्धी सामग्री प्रकाशन गर्ने
लेखापरीक्षणमानको संशोधन, सुधार, परिमार्जन र व्याख्या गर्ने
लेखापरीक्षणमान सम्बन्धी अन्य कार्य गर्ने।
महालेखापरीक्षकले यसअघि लेखापरीक्षणमान जारी गर्ने गरेको भएपनि २०७७ असार १६ गतेबाट त्यसअघि कार्यान्वयनमा रहेको सरकारी लेखापरीक्षण मानदण्ड एवं सरकारी लेखापरीक्षण नीति मानदण्ड खारेज गरी सर्वोच्च लेखापरीक्षण संस्थाहरुको अन्तर्राष्ट्रिय संगठनले जारी गरीका अन्तर्राष्ट्रिय लेखापरीक्षण मान (INTOSAI Framework for Professional Pronouncements, IFPP) मा आधारित नेपाल सरकारी लेखापरीक्षणमान (Nepal Government Auditing Standards, NGAS) कार्यान्वयनमा ल्याएको छ। यस अनुसार अन्तराष्ट्रिय लेखापरीक्षणमानका तपशिलका मानहरुनै नेपाल सरकारी लेखापरीक्षणमान समेत हुनः
Lima Declaration (1977) ले देहाएका विषयमा मानदण्डहरु निर्धारण गरेको छः
लेखापरीक्षणको उद्देश्य
Pre-audit र post-audit
आन्तरिक लेखापरीक्षण र वाह्य लेखापरीक्षण
कानूनी लेखापरीक्षण, नियमितता लेखापरीक्षण र कार्यसम्पादन लेखापरीक्षण
सर्वोच्च लेखापरीक्षण संस्था र सोका सदस्य तथा पदाअधिकारीहरुको स्वतन्त्रता र वित्तीय स्वायत्तता
सर्वोच्च लेखापरीक्षण संस्थाहरुको संसद, सरकार र प्रशासनसँगको सम्बन्ध
तिनीहरुको अनुसन्धान, निश्कर्षको कार्यान्वयन, विज्ञको विचार र परापर्शका सम्बन्धमा शक्ति र अधिकार
लेखापरीक्षण विधि, लेखापरीक्षण कर्मचारी र अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान
संसद र आम नागरिकलाई प्रतिवेदन र सोको प्रक्रिय
सर्वोच्च लेखापरीक्षण संस्थाको लेखापरीक्षण अधिकार
कर लेखापरीक्षण
Lima Declaration (1977) का अनुसार लेखापरीक्षण मानदण्डका आधारभूत सिद्धान्त
लेखापरीक्षण गर्ने निकाय स्वतन्त्र हुनु पर्ने
लेखापरीक्षक स्वतन्त्र र बाह्य हस्तक्षेप मुक्त हुनुपर्ने
बजेट तथा वित्तीय साधनको उपयोगमा स्वतन्त्रता हुनुपर्ने
बिना अबरोध सूचनामा पहुँच रहनुपर्ने
लेखापरीक्षणमा संलग्न कर्मचारी दक्ष योग्य र इमानदार हुनुपर्ने
बाह्य विशेषज्ञको सहयोग लिन पाउनुपर्ने
लेखापरीक्षण गरिएका विषयहरुको वर्षेनी स्वतन्त्र रुपमा प्रतिवेदन गर्नुपर्ने।
Mexico Declaration on SAI Independence (2019) ले सार्वजनिक क्षेत्रको उपयुक्त लेखापरीक्षणका लागि आवश्यक देहायका ८ सिद्धान्त निर्धारण गरेको छः
उपयुक्त र प्रभावकारी संवैधानिक तथा कानूनी Framework को व्यवस्था र कार्यान्वयन
सर्वोच्च लेखापरीक्षण संस्था प्रमुख र सदस्यको स्वायत्तता
त्यस्तो संस्थाले कार्य गर्न बृहत क्षेत्राधिकार र पूर्ण स्वतन्त्रता
सूचनामाथिक अनियन्त्रित पहुँच
उनीहरुको कामको प्रतिवेदन गर्ने अधिकार र दायित्त्व
लेखपरीक्षण प्रतिवेदनको विषयवस्तु र सोको सार्वजनिक गर्ने समयबारे निर्णय स्वायत्तता
सिफारिस कार्यान्वनयको follow-up गर्ने प्रभावकारी संयन्त्रको व्यवस्था
व्यवस्थापकीय तथा वित्तीय स्वतन्त्रता र पर्याप्त जनशक्ति र स्रोतसाधनको व्यवस्था
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।