काठमाडौँ– आइसिसी विश्वकप लिग–२ अन्तर्गतको चौथो राउण्डको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डलाई पराजित गर्दै विजयी भएको छ।
करण केसीको उत्कृष्ट ब्याटिङमा नेपालले स्कटल्याण्डलाई एक विकेटले पराजित गर्दै विजयी भएको हो। दुई सय ९७ रनको लक्ष्य पछ्याएको नेपालले ४९ दशमलव पाँच ओभरमा नौ विकेट गुमाएर पूरा गरेको हो।
नेपालको जितमा करण केसी नायक बनेका छन्। उनले ४१ बलमा तीन चौका र चार छक्काको सहयोगमा अविजित ६५ रन जोडे। त्यसै गरी ओपनर कुशल भुर्तेलले ४४ बलमा ११ चौकाको सहयोगमा ५३ रन जोड्दै अर्ध शतक बनाए।
कुशलले अर्का ओपनर आसिफ शेखसँग मिलेर पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरेका थिए आसिफ ३३ बलमा दुई चौकाको सहयोगमा २० रनमा आउट भए। त्यस्तै गुलशन झा ३० बलमा तीन चौका र तीन छक्काको सहयोगमा ४२ रन बनाएर आउट भए। भीम सार्कीले ४८ बलमा तीन चौकाको सहयोगमा ४० बनाउँदा कप्तान रोहितकुमार पौडेल ५६ बलमा ३७ रनमा आउट भए।
स्कटल्याण्डका लागि ब्रेण्डन मक्कमलानले तीन, माइकल लिस्क र ज्याक जार्भिसले समान दुई र जसपर डेभिडसनले एक विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर दुई सय ९६ रन बनाएको थियो।
स्कटल्याण्डका लागि चाल्र्स टेयर्सले सर्वाधिक ८० रन जोडे । उनले ७२ बलमा १२ चौका र एक छक्का प्रहार गरे। फेन्ली म्याक्रिथले ६७ बलमा तीन चौका र एक छक्काको सहयोगमा ५५ रनमा आउट भए।
कप्तान रिची बेरिङ्टन ४६ बलमा तीन चौका र दुई छक्काको सहयोगमा ४० रनमा आउट भए। म्याथ्यु क्रस ५६ बलमा तीन चौकाको सहयोगमा ३९ रनमा आउट भए भने माइकल लिस्क १५ बलमा १८ रन जोड्दै आउट भए। ब्रेण्डन मक्कमुलनले ३१ बलमा दुई चौकाको सहयोगमा १९ रन जोड्दा ओपनर जर्ज मुन्सी १२ रनमा आउट भए।
नेपालका लागि सोमपाल कामी, करण केसी र रिजन ढकालले समान दुई र सन्दीप लामिछानेले एक विकेट लिए। नेपालले अब नेदरल्यान्डससँग यही जेठ २१ गते खेल्नेछ।