काठमाडौँ– संघीय संसद सचिवालयका महासचिव भरतराज गौतम निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्धको महाअभियोग निष्प्रभावी भएको पत्र लेखेको सम्बन्धमा लिखित जवाफ तयार पार्दैछन्।
शुक्रबार सर्वोच्च अदालतले के कति कारणले महाअभियोग निष्प्रभवी भएको पत्र लेखिएको हो भन्नेबारे जवाफ दिन संघीय संसदका महासचिवको नाममा समेत आदेश जारी गरेको छ। त्यस अनुसार महासचिव गौतम लिखित जवाफको तयारीमा जुटेका हुन्।
‘शुक्रबार सर्वोच्चको आदेश भएको छ। आइतबार ९आज० आदेशका सम्बन्धमा छलफल हुन्छ’ संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भने।
शुक्रबार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की सहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले महासचिव गौतमको पत्र कार्यान्वयन नगर्नु भनी आदेश दिएको हो। साथसाथै, संवैधानिक इजलासले के कति कारणले पत्र लेखिएको हो भन्नेबारे जवाफ दिनसंघीय संसदका महासचिवको नाममा आदेश जारी गरेको थियो।
महासचिव गौतमले जबराको निलम्बन फुकुवा भएको पत्र गत बुधबार दिएका थिए। लगत्तै बसेको सर्वोच्चका न्यायाधीशहरुको पूर्ण बैठकले पत्रमा केही प्रष्ट हुनुपर्ने भन्दै महासचिवलाई पत्र पनि लेखेको थियो। उक्त पत्रको समेत जवाफ महासचिव गौतमले पठाएका छैनन्। अब एकमुष्ट जवाफ पठाउने तयारी रहेको संसदका अधिकारीहरू बताउँछन्।
प्रष्ट हुनुपर्ने भन्दै सर्वोच्चले महासचिवसित नवनिर्वाचित प्रतिनिधिसभाले कार्य प्रारम्भ नगर्दैको अवस्थामा कुन संवैधानिक वा कानुनी व्यवस्थाको आधारमा महाअभियोग निष्प्रभावी भएको भनेको सोधेको छ।