काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालय र मातहतका निकायमा हुने काम तीन दिनभित्र सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिएका छन्।
मन्त्रालय र मातहतका कर्मचारीको आज यहाँ बसेको बैठकमा उनले काम ढिलाइ नगरी प्रभावकारी कार्यसम्पादनमा लाग्न सबैलाई निर्देशन दिएका हुन्।
“मन्त्रालय र अन्तर्गतका निकायमा फाइल रोकिने, काममा ढिलाइ हुने गरेको गुनासो आएका छन्। कुनै पनि फाइल रोकिएर नागरिकले समस्या भोग्नु भएन, तीन दिनभित्र कुनैपनि फाइलको छिनोफानो हुनेगरी काम गर्नुहोस्”, मन्त्री खड्काले भने। उनले मन्त्रालयअन्तर्गतका निकायबाट उल्लेख्य प्रगति हुन नसकेकामा चिन्ता व्यक्त गर्दै काममा ढिलाइ गर्ने, नागरिकलाई दुःख दिने गरेको पाइएमा कारबाही गरिने उल्लेख गरे।
कर्मचारीलाई पुरस्कार र दण्डको व्यवस्था गरेमात्र हामीले लिएका लक्ष्य हासिल गर्न सहज हुने मन्त्रीको भनाइ छ। कर्मचारीलाई स्थायी सरकार भन्छौँ, काम स्थायी देखिँदैन, आफूले पाएको जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गरौँ”, उनले भने। ऊर्जा मन्त्री खड्काले मनसुन सुरु हुन लागेको भन्दै वर्षाबाट हुने जोखिम न्यूनीकरणका लागि सूचना प्रवाहलाई जनस्तरसम्म पुर्याउन जल तथा मौसम विज्ञान विभागलाई निर्देशन दिए।