काठमाडौं– संघीय निजामती विधेयकमा सहमति जुटाउन राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरू दिनभरि छलफलमा रहे।
प्रमुख राजनीतिक दल प्रमुख नेताहरूसँग संवाद गरिरहेका सांसदहरू आज (बिहीबार) पनि दिनभर सिंहदरवारमा छलफलमा जुटेका हुन्।
नेताहरूका अनुसार निजामती विधेयकका अधिकांश विषयमा सहमति जुटेको छ। अतिरिक्त सचिव पद ब्युँताउने कि नब्युँताउने र कुलिङ पिरियड कति समय राख्ने भन्ने विषयमा कुरा मिलेको छैन।
नेपाली कांग्रेस सचिव भन्दा तल र सहसचिवभन्दा माथि अतिरिक्त सचिव पद राख्ने पक्षमा छ। यस्तो अभ्यासमा नेपालमा विगतमा भएर पनि हटाइएको थियो। फेरि ब्युँताउने प्रयास कांग्रेसको छ।
अवकाश प्राप्त कर्मचारी निश्चित समयपछि मात्रै संवैधानिक नियुक्तिका लागि योग्य हुने गरी कुलिङ पिरियड राख्ने विषयमा पनि सहमति जुटेको छ। तर, कति वर्ष राख्ने भन्ने विषयमा कुरा मिलेको छैन।
सरकारको नेतृत्वकर्ता दल नेकपा एमाले कुलिङ पिरियड एक वर्ष राख्ने पक्षमा छ भने माओवादी केन्द्र दुई वर्ष राख्नुपर्ने पक्षमा छ।
यी विषयमा सहमति जुटाउन राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा, कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडू, एमालेका सांसद लिलानाथ श्रेष्ठ, माओवादी सांसद हितराज पाण्डे लगायतका नेताहरू दिनभरिजसो छलफलमा छन्।
सहमतिको नजिक रहेको बताउँछन् कांग्रेस सांसद बडू। ‘सके भोलि नै (शुक्रबार) पास गरौं भन्ने छ’ बडूले भने।
शुक्रबारबाट संघीय संसद्को वर्षे अधिवेशन सुरु हुँदैछ । वर्षे अधिवेशनमा यो विधेयक पारित गर्ने प्रयासमा रहेको नेताहरू बताउँछन्।