विकास निर्माणको कामलाई र पूर्वाधार विकासलाई प्राथमिकता दिने सरकार आवश्यक : अध्यक्ष सिंह - Chaitanya News
  • 2026-05-05
  • 17:55:56
  • मंगलबार,बैशाख २२, २०८३
  • विकास निर्माणको कामलाई र पूर्वाधार विकासलाई प्राथमिकता दिने सरकार आवश्यक : अध्यक्ष सिंह

    विकास निर्माणको कामलाई र पूर्वाधार विकासलाई प्राथमिकता दिने सरकार आवश्यक : अध्यक्ष सिंह

    काठमाडौं– नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले विकास निर्माणको कामलाई र पूर्वाधार विकासको लागि प्राथमिकता दिने सरकार आवश्यक रहेको बताएका छन्। नेपाल निर्माण व्यवसायी महासंघले १५ औं निर्माण दिवसका अवसरमा आज विहीबार आयोजना गरेको प्रभातफेरी कार्यक्रममा अध्यक्ष सिंहले सो कुरा बताएका हुन्।

    देशमा रोजगारी सिर्जना गर्ने, सुशासन कायम गर्ने सरकारको आवश्यक्ता आमनागरिक र निर्माण व्यवसायीहरुलाई रहेको उनको भनाइ छ। कोरोना भाइरस, रुस—युक्रेन युद्ध, तरलताको अभाव, निर्माण सामग्री समयमा उपलब्ध नहुने समस्या लगायतका कारण पनि निर्माण व्यवसाय संकटमा रहेको उनको बुझाइ छ।

    अध्यक्ष सिंहले निर्माण व्यवसायलाई चलायमान बनाउन सरकारले निर्माण क्षेत्रमा पुँजी सञ्चालन गरी निर्माण उद्योगले प्राप्त गरेको सार्वजनिक खरिद ऐनमा व्यवस्था भएअनुसार २० प्रतिशत पेस्की रकम दिने प्रावधानलाई कडाईका साथ लागू गर्नुपर्ने बताए। निर्माण व्यवसायीले दिएको बिलको तुरुन्त भुक्तानी गर्न आवश्यक रहेको पनि उनले सुझाए।

    भूक्तानीमा ढिलाइ हुँदा पूर्वाधार विकासले तिब्रता लिन नसकेको भन्दै अर्थतन्त्रलाई चलायमान बनाउन निर्माण उद्योगलाई चलायमान गर्नुपर्ने आवश्यकता रहेको उनले तर्क गरे। प्रभातफेरीमा सहभागीहरुले निर्माण सामग्रीमा भएको मूल्यवृद्धि नियन्त्रण गर्, मूल्य समायोजन निर्देशिका भाग २ जारी गर्, पूर्वाधार निर्माण दिगो विकासको आधार, निर्माणबाट नै समृद्धि लगायतका प्लेकार्डहरु बोकेका थिए।