काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय निजामती सेवा ऐन जारी भएपश्चात् थारू, मुस्लिमलगायतका अन्य पक्षको आरक्षणका विषय सम्बोधन हुने बताएका छन्।आज (बिहीबार) प्रतिनिधि सभाक बैठकमा ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
प्रश्नकर्ता सांसद बिनाकुमारी थनैतले थारू समुदायलाई छुट्टै वर्गका रूपमा आरक्षणको व्यवस्था नगरिएको र निजामती सेवा ऐन जारी गर्न भइरहेको ढिलाइबारे प्रश्न गरेका थिए।
प्रधानमन्त्री ओलीले सांसद थनैतको प्रश्नको जवाफ दिँदै संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० पारित भएर ऐन जारी भएपश्चात् थारू, मुस्लिम लगायतका अन्य पक्षको आरक्षण लगायतका विषय सम्बोधन हुने बताए।
‘उक्त विधेयक माथि अहिले संसद्को राज्य व्यवस्था समितिमा दफावार छलफल भइरहेको छ। निजामती सेवा ऐनमा समेत थारू समुदायलाई आदिवासी समुदायमा राखी आरक्षणको अवसर प्रदान गरिएको छ’, प्रधानमन्त्री ओलीले भने।
वर्तमान सरकार गठन भएपश्चात् मन्त्रिपरिषदबाट विभिन्न सार्वजनिक पदमा नियुक्ति गर्ने क्रममा समावेशी सिद्धान्तलाई अवलम्बन गरिएको उनले सांसदहरुलाई जानकारी दिए।