काठमाडौं– सोमबार मात्रै एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)ले आफू मन्त्री बन्नकै लागि पार्टीमा नआएको बताएका छन्।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले आफूलाई मन्त्रीको ठूल्ठूला अफरसमेत आएको तर स्वतन्त्र रहेर जनताको काम गर्न असहज हुने हुँदा एकीकृत समाजवादीमा प्रवेश गरेको दाबी गरे। उनले भने,मन्त्री भनेको ठूलो कुरा होइन। यही पार्टीमा आएर मन्त्री बन्नुपर्छ भन्ने पनि छैन। म यतिकै मन्त्री बन्न सक्छु।
गुरुङले जिल्लाका साथीहरूसँग सल्लाह गरेरै पार्टीमा आएको बताए। उनले आफूलाई मुख्यमन्त्री दिए पनि नचाहिने बताए। गण्डकी प्रदेशमा गठबन्धनकै सरकार बन्ने उनको दाबी थियो।
यसैबीच, एकीकृत समाजवादीको महासचिव डा. वेदुराम भुसालले मानिसलाई विगतलाई मात्रै हेरेर मूल्यांकन गर्न नहुने बताए। पार्टी कार्यालयमा आज आयोजित कार्यक्रममा गुरुङलाई स्वागत गर्दै भुसालले उनको विगतलाई भन्दा पनि वर्तमान र भविष्य हेर्नुपर्ने बताए।
विगतमा गुरुङ सर्वसाधारणले नरुचाउने कामसँग जोडिए पनि अब सर्वसाधारणले रुचाउने काममा लाग्ने भन्दै प्रतिबद्धता जनाएकाले शंका गर्न नहुने उनको भनाइ छ।