एकै परिवारका पाँच जना सरकारी सेवामा - Chaitanya News
  • 2026-05-24
  • 02:27:37
  • शनिबार,जेठ ०९, २०८३
  • एकै परिवारका पाँच जना सरकारी सेवामा

    एकै परिवारका पाँच जना सरकारी सेवामा

    सर्लाही– नेपालमा सरकारी सेवामा प्रवेश गर्नु लाखौँ युवाको सपना हुने गरेको छ। यद्यपि केहीले मात्र यस्तो अवसर पाउँछन्।

    सर्लाही जिल्लाको गोडैता नगरपालिका–८ निवासी विजय कान्त दास र सविता देवी दासको परिवारमा भने पाँच जना सदस्य सरकारी सेवामा छन्। यो दम्पतीका पाँच छोरा सरकारी सेवामा कार्यरत छन्।

    विजय कान्त दास लामो समयदेखि शिक्षा क्षेत्रमा समर्पित छन्। उनी हाल सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवा स्थित जगन्नाथ राजकुमारी आधारभूत विद्यालयमा स्थायी शिक्षकको रूपमा कार्यरत छन्।

    शिक्षालाई जीवनको प्रमुख आधार मान्ने दासले आफ्ना छोराहरूलाई सानैदेखि अध्ययनमा प्रेरित गरे। कठिन परिस्थितिका बाबजुद शिक्षा नै भविष्यको आधार हो भन्ने सोच राख्दै उनले आफ्ना पाँचै छोरालाई मेहनत गर्न प्रोत्साहित गरे।

    पाँचै छोरा सरकारी सेवामा रहेकाले अहिले गाउँमा आफ्नो प्रतिष्ठा बढेको दास बताउँछन्।

    दास परिवारका जेठा छोरा धनञ्जय प्रसाद दास २०६८ मा खरीदार पदबाट सरकारी सेवा प्रवेश गरेका थिए। उनले २०७१ मा नायब सुब्बा पदमा पदोन्नति पाए। निरन्तर परिश्रम र अध्ययनको बलमा २०८० मा उनी शाखा अधिकृत पदमा पुग्न सफल भए।

    माइलो छोरा अनन्जय प्रसाद दासले २०७३ मा खरीदार पदमा सेवा प्रवेश गरेका थिए। उनी २०७९ मा नायब सुब्बा पदमा बढुवा भए।

    साहिँलो छोरा निरञ्जन प्रसाद दासले २०७९ मा बागमती प्रदेश प्रशासनतर्फ चौथो तहबाट सरकारी सेवामा प्रवेश गरेका थिए। उनी २०८१ मा मधेस प्रदेश सरकारअन्तर्गत लेखापाल ९पाँचौँ तह० मा पदस्थापन भएका छन्।

    काहिँलो छोरा अमित प्रसाद दास २०८० मा नेपाल विद्युत प्राधिकरणको चौथो तह सहायक लेखापाल पदमा प्रवेश पाए।

    कान्छा छोरा रौशन प्रसाद दासले २०८१ मा खरीदार पदबाट सरकारी सेवामा प्रवेश पाएका छन्।

    सरकारी सेवामा प्रवेश गर्नका लागि प्रतिस्पर्धा दिन प्रतिदिन बढ्दो छ। लगनशीलता, अनुशासन, सही रणनीति र कडा मेहनत गरे सफल भइन्छ भन्ने कुरा दास परिवारले प्रमाणित गरिदिएको छ। सरोज यादवबाट