मेहनतको प्रतीक यादव परिवार, एकै घरका सबै सदस्य निजामती सेवामा - Chaitanya News
  • 2026-05-24
  • 02:24:43
  • शनिबार,जेठ ०९, २०८३
  • मेहनतको प्रतीक यादव परिवार, एकै घरका सबै सदस्य निजामती सेवामा

    मेहनतको प्रतीक यादव परिवार, एकै घरका सबै सदस्य निजामती सेवामा

    काठमाडौं– तपाईँले लोक सेवा पास गरेर सरकारी सेवामा प्रवेश गर्ने धेरैको कथा सुन्नुभएको होला, तर के तपाईँले एकै परिवारका सबै सदस्य निजामती सेवामा कार्यरत रहेको अनौठो उदाहरण देख्नुभएको छ ?

    रौतहटको गरुडा नगरपालिका–१, जयनगरका यादव परिवार त्यस्तै उदाहरणीय परिवार हो, जहाँ हरेक सदस्य लोक सेवा पास गरेर सरकारी सेवामा आबद्ध छन्। यस परिवारका प्रमुख मनोज यादव, जो गोनाही देवाही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थिए, उनको निधन भइसकेको छ। तर, उनका बुवा, श्रीमती, छोरा–छोरी तथा भाइ–बुहारीहरू सबै निजामती सेवामा कार्यरत छन्।

    मनोज यादवका बुवा धिरेन्द्र यादव जय नगर प्राथमिक विद्यालयका प्रधानाध्यापक थिए र अवकाश पाइसकेका छन्। उनकी श्रीमती सन्झाँ यादव जयनगर स्वास्थ्य चौकीमा हेल्थ असिस्टेन्टका रूपमा कार्यरत छिन्। मनोज यादवको निधन भए पनि उनका छोराछोरीहरूले निरन्तर मेहनत गरेर सफलताको यात्रा जारी राखेका छन्।

    मेहनत र प्रेरणाको कथा:
    मनोज यादवका तिन छोराछोरीमध्ये छोरा रवि यादव सब(इन्जिनियर हुन्, जो हाल ऊर्जा मन्त्रालयअन्तर्गत बागमती सिँचाइ आयोजना, सर्लाहीमा कार्यरत छन्। छोरी श्रुति यादव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अ.हे.व. (सहायक स्वास्थ्यकर्मी) पदमा कार्यरत छिन् भने, अर्की छोरी कृति यादव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा पूर्ण छात्रवृत्तिमा एमबीबीएस अध्ययन गर्दै छिन्।

    बुवा–आमा नै निजामती सेवामा भएकाले उनीहरूको मार्गदर्शनले ठुलो भूमिका खेलेको उनीहरू बताउँछन्। “मेहनत र धैर्यता गर्‍यो भने एक दिन अवश्य सफल भइन्छ,” उनीहरू भन्छन्। घर–परिवार सबै सरकारी सेवामा भएकाले आफूहरू पनि देश र नागरिकको सेवामा समर्पित रहने संकल्प उनीहरूले गरेका छन्।

    पिताको सपना साकार पार्दै‘:
    मनोज यादवले आफ्नो जीवनभर मेहनत मात्र गरेनन्, परिवारलाई पनि सफलताको मार्गमा अघि बढाए। उनकी श्रीमती सन्झाँ यादव भन्छिन्, “उहाँले छोराछोरीलाई असल शिक्षा दिनुभयो, तर उनीहरूको सफलता आफ्नै आँखाले हेर्न पाउनु भएन।”

    यादव परिवारको परिश्रम, समर्पण, र अनुशासनले धेरैलाई प्रेरित गरेको छ। उनीहरूको सफलता केवल आफ्नै लागि होइन, समाजकै लागि एउटा प्रेरणादायी कथा बनेको छ। पिताको निधनपछि पनि संघर्षलाई नछोडी निरन्तर परिश्रम गरेर सफलता हासिल गर्नु झन् प्रशंसनीय छ। यादव परिवारले देखाएको बाटो अरूका लागि प्रेरणाको स्रोत बनेको छ। प्रशासनबाट सावार