को हुन् जर्मनीका भावी चान्सलर फ्रेडरिक मर्ज ? - Chaitanya News
  • 2026-11-17
  • 11:16:26
  • मंगलबार,मंसिर ०२, २०८३
  • को हुन् जर्मनीका भावी चान्सलर फ्रेडरिक मर्ज ?

    को हुन् जर्मनीका भावी चान्सलर फ्रेडरिक मर्ज ?

    बर्लिन– जर्मनीमा भएको आम चुनावमा क्रिश्चियन डेमोक्रेटिक युनियन (सीडीयू) का नेता फ्रेडरिक मर्जले ठूलो जित हासिल गरेका छन्। उनको पार्टी गठबन्धन सीडीयू–सीएसयूले निर्वाचनमा सबैभन्दा धेरै २८ दशमलव ५५ मत प्राप्त गरेको छ। यो गठबन्धनले वर्तमान चान्सलर ओलाफ स्कोल्जको सोशल डेमोक्रेटिक पार्टी (एसपीडी) लाई हराएको छ। स्कोल्जले पनि आफ्नो हार स्वीकार गरिसकेका छन्। मर्ज जर्मनीका भावी चान्सलर हुन्।

    १९५५ को नोभेम्बर ११ मा मा जर्मनीको ब्रिलोन शहरमा जन्मिएका मर्ज परिवारिक पृष्ठभूमि कानून हो। कानूनको पढाई गरेका मर्जले १९८१ मा चार्लोट मर्जसँग विवाह गरेका छन्। चार्लोट पेशाले न्यायाधीश हुन्। फ्रेडरिक र चार्लोटका तीन सन्तान छन्।

    यस्तो छ मर्जको राजनीतिक यात्रा:

    १९८९– युरोपेली संसदमा निर्वाचित।
    १९९४– जर्मन संसद, बुन्डेस्ट्यागको चुनावमा जित।

    २०००– सीडीयू पार्टीको संसदीय नेता बने, तर २००२ मा एन्जेला मर्केललाई पद हस्तान्तरण गर्नुपर्यो।
    २००५– सीडीयू र एसपीडीले गठबन्धन सरकार बनाएपछि उनी राजनीतिमा सीमान्तकृत भए।
    २००९– सक्रिय राजनीति छोडेर कानून र वित्तमा करियर बनाए।
    २०१८– मा मर्ज पुनः राजनीतिमा फर्किए। एन्जेला मर्केलले अवकाशको घोषणा गरेपछि उनी राजनीतिमा फर्किए। तर सीडीयूको अध्यक्षको चुनाव हारे।
    २०२०– फेरि पार्टी अध्यक्षमा लडे । तर यस पटक पार्टीले आर्मिन लास्चेटलाई रोज्यो।
    २०२१– तेस्रो पटक चुनाव लडे र संसदमा फर्किए, तर पार्टीले चुनाव हार्यो।
    २०२२– फ्रेडरिक मर्ज सीडीयूको को राष्ट्रिय अध्यक्ष बने।

    फ्रेडरिक मर्जले अवैध आप्रवासीहरूमाथि कठोर अडान राख्छन्। उनी जर्मनीको अर्थतन्त्रलाई बलियो बनाउनमा जोड दिइरहेका छन्। तर अब उनको सबैभन्दा ठूलो चुनौती जर्मनीमा सत्ता सम्हाल्न गठबन्धन सरकार गठन गर्नु हुनेछ। उनको फिर्तीसँगै, दोस्रो विश्वयुद्धपछि पहिलो पटक जर्मनीमा अतिवादी दक्षिणपन्थी पार्टी सत्तामा आउँदैछ। एजेन्सी