बालेनले चुनावअघि भनेका थिए विकासका नाममा बस्ती उठाउनु गलत हो - Chaitanya News
  • 2026-04-27
  • 20:02:59
  • सोमबार,बैशाख १४, २०८३
  • बालेनले चुनावअघि भनेका थिए विकासका नाममा बस्ती उठाउनु गलत हो

    बालेनले चुनावअघि भनेका थिए विकासका नाममा बस्ती उठाउनु गलत हो

    काठमाडौं– थापाथलीको सुकुम्बासी बस्ती डोजर लगाएर मास्ने प्रयासका कारण काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह फेरि एकपटक चर्चामा छन्। सामाजिक सञ्जालमा उनको समर्थन र विरोधमा तीव्र बहस चलिरहेको छ।

    सम्भवतः चुनाव अगाडिको हुनसक्ने भिडिओमा बालेन मतदाताहरूसँग कुराकानी गरिरहेका देखिन्छन्, जुन काठमाडौंको विकाससँग सम्वन्धित छ। बालेनले विकासका नाममा घर भत्काउने र बस्ती उठाउने कार्य गलत भएको बताएका छन्।

    बालेनको भनाइ जस्ताको तस्तैः

    ‘मैले आफैं अध्ययन गर्दाखेरि के बुझ्या’छु भन्देखी, कहिले पनि कुनै विकास गर्दाखेरि बस्ती हटाउनु, बस्तीबाट बाटो निकाल्नु वा ठूलो पार्नुलाई विकास मान्दिनँ। विकास भनेको त मान्छे व्यवस्थित भएर बस्नुपर्‍यो। मान्छे खुशी हुनुपर्‍यो। कुनै पनि विकास गर्दा त्यहाँका नगरबासी खुसी छैनन् भने म विकासै मान्दिनँ। अरु ठाउँमा घरै भत्काइदिन्छन्। बस्ती नै उठाइदिन्छन्। यी कुराहरू गलत छन्। मान्छे व्यवस्थित रूपमा बस्न पाउनुपर्‍यो। कुनै पनि एउटा जात एउटा समुदायको होइन काठमाडौं। काठमाडौं भनेको पूरै नेपालभरिबाट आएको सबै समुदायको साझा हो। सबै कुरा नियम(कानूनसम्मत रूपमा जानुपर्छ । यो चिजहरूलाई व्यवस्थापन गरेर लैजानुपर्छ। यसलाई चाहीँ नियममा बसेर गर्नुपर्छ । मान्छेलाई दुस्ख दिने काम गर्नुहुँदैन।

    उनले यति बोलिसकेपछि मतदाताले समर्थनमा हुटिङ गरेका छन्।