ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्यु, धनगढीमा तनाव, - Chaitanya News
  • 2026-04-27
  • 20:05:28
  • सोमबार,बैशाख १४, २०८३
  • ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्यु, धनगढीमा तनाव,

    ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्यु, धनगढीमा तनाव,

    धनगढी– स्कूल जाँदै गरेकी छात्राको ग्रेडरको ठक्करबाट मृत्यु भएपछि धनगढीमा विद्यार्थीहरु आन्दोलित भएका छन्। घटनाको छानबिन गर्न तथा ग्रेडर चालक लगायतलाई कारबाही गर्न माग गर्दै विद्यार्थीले शुक्रबार पनि धनगढीको पिपल चौतारा क्षेत्रमा प्रदर्शन गरिरहेका छन्।

    तनाव साम्य नभएपछि जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका–५ पिपल चौतारा क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। तर निषेधाज्ञा तोड्दै विद्यार्थी आन्दोलन गरिरहेका छन्।

    बिहीबार बिहान साइकल चढेर विद्यालय जाँदै गरेकी १४ वर्षीया चेतना साउदलाई सडक सम्याउँदै गरेको ग्रेडरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो।

    त्यसपछि स्थानीय बासिन्दा र पद्मोदय माध्यमिक विद्यालय हसनपुरका विद्यार्थीले दिनभर प्रदर्शन गरेका थिए।

    कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले प्रदर्शनका क्रममा भएको अराजक गतिविधि नियन्त्रण गरी सर्वसाधारण नागरिकको जनधनको सुरक्षा र सरकारी सम्पत्तिको संरक्षण गर्न बिहीबार साँझ ७ बजेदेखि निषेधाज्ञाको आदेश जारी गरेको बताएका छन्।

    थापाले दुर्घटना घटाउने ग्रेडरका चालकलाई कारबाहीको दायरामा ल्याउन प्रशासन प्रतिबद्ध रहेको बताउँदै स्थिति सामान्य बनाउन पीडित पक्षसँग संवाद भएको समेत बताएका छन्। उनले विद्यार्थी तथा अभिभावकसँग पनि छलफल भइरहेको बताएका छन्।