हराउँदै गयो गुन्द्री बुन्ने चलन - Chaitanya News
  • 2026-06-30
  • 09:05:22
  • मंगलबार,आषाढ १६, २०८३
  • हराउँदै गयो गुन्द्री बुन्ने चलन

    हराउँदै गयो गुन्द्री बुन्ने चलन

    मंसिरको अन्तिम सातादेखि माघको पहिलो सातासम्म घरको आँगनमा पारिलो घामसँगै गुन्द्रीका तान तन्किएका हुन्थे। ती तानमा सासू–बुहारी, आमा–छोरी वा दिदी–बहिनीले हतासोले ‘झ्याक–झ्याक’ गर्दै गुन्द्री कसिरहेका भेटिन्थे। गुन्द्री बुन्नका लागि कात्तिकमा धान भित्र्याउने वेलामै पराल छुट्याइन्थ्यो। यसरी नै हरेक वर्ष गुन्द्री बुन्ने गरिन्थ्यो। तर, यो परम्परा भने केही वर्षदेखि बिस्तारै हराउँदै गएको छ। हिजोआज भने गुन्द्री बुन्ने चलन फाट्टफुट्ट मात्र भेटिन् । गाउँमा कहीँ कतै गुन्द्रीका तान देख्दा नयाँ पुस्तालाई नौलो लाग्न थालेको छ। बाबियोको डोरीको तानमा पराल मिलाएर राखेपछि एक–दुई दिनमै तयार हुने गुन्द्री अहिले कमै मात्रामा पाइन्छ। अचेल बाबियोको ठाउँमा जुट र प्लास्टिकका डोरी प्रयोग हुन थालेका छन्।

    बजारमा सजिलै पाइने प्लास्टिकका गुन्द्री र म्याटको बढ्दो प्रयोगसँगै परम्परागत परालको गुन्द्री बुन्ने चलन हराउँदै गएको छ। गाउँघरमा केहीले मात्र आफूलाई आवश्यक पर्ने गुन्द्री मात्र बुन्दै आएका छन्। पहिले पहिलेजस्तो चलन हराएको छ । तर, यस्तो अवस्थामा पनि बझाङ जिल्लाको गुङगल नगरपालिका की की जयसरा धामीले भने परम्परालाई धानेकी छिन्। उनले हरेक वर्ष १० देखि १५ वटासम्म गुन्द्री बुन्दै आएकी छिन्। बाबियाको डोरी नबनाए पनि जुटको डोरी प्रयोग गरेर हरेक वर्ष गुन्द्री बुन्दै आएको उनले बताइन्। चिसोबाट बच्न गुन्द्री अति उपयोगी हुने र बिस्कुन सुकाउन पनि सहज हुने हुँदा हरेक वर्ष आफूले पुरानो परम्परा धानेको उनको भनाइ छ। ‘गुन्द्रीले धेरै न्यानो बनाउँछ। खाटमा होस् वा पलाङमा हामी यसलाई ओछ्याएपछि मात्र बिस्तारा लगाउँछौेँ,’ उनी भन्छिन्, ‘अहिले पनि यो नओछ्याई निद्रै लाग्दैन। पाहुनलाई स्वागत गर्दा ओछ्याउने गाउँले गलैँचा भनेकै गुन्द्री नै हो।

    विवाह, व्रतबन्ध होस् वा अन्य सामाजिक संस्कारका काम गर्दा पनि गुन्द्री अति उपयोगी मानिन्छ। परालबाट बन्ने र यताउता लैजाँदा हलुका र झन्झट नहुने हुँदा यो अति नै उपयोगी हुने धामीले बताइन्। ‘हाम्रो पालामा त बाबियो काटेर र बाबियो बाटेर तान लगाई गुन्द्री बुन्ने चलन थियो। अहिले त बाबियो पनि मासिँदै गयो। बाबियो, परालको गुन्द्रीको प्रयोग घट्दै छ,’ धामीले भनिन्, ‘पहिलेको तुलनामा अहिले धेरैले प्लास्टिकका गुन्द्री र म्याट प्रयोग गर्छन्।’

    गुन्द्री बुन्नका लागि समय लाग्ने हुँदा पछिल्लो पुस्ताले यो चलनलाई छाड्दै गएको सोही नगरपालिकाकी अर्की सम्झना देवी धामी बताउँछिन्। समय धेरै लाग्ने र झन्झटिलो मान्ने हुँदा अहिलेका छोरी–बुहारीले यसप्रति चासो नदिएको उनको बुझाइ छ। ‘गुन्द्री बुन्नका लागि नयाँ पुस्तालाई सिक्ने चासो छैन। यसरी चासो नदिने हो भने हाम्रो परम्परा हराउँदै जान्छ। गाउँको भन्दा सहरीया उत्पादनले बढी ठाउँ ओगट्ने हुन्छ। तुलनात्मक रूपमा प्लास्टिकको गुन्द्री चिसो हुने र महँगो पनि पर्ने हुँदा यो चलनलाई जोगाउनुपर्छ,’ धामीले भनिन्।

    यसरी बुन्ने गरिन्छ गुन्द्री:

    कात्तिकमा धान भित्र्याउने क्रममा गुन्द्री बुन्नका लागि पराल छुट्याएर राखिन्छ। त्यस वेला लामो र दह्रो पराललाई गुन्द्री बुन्नकै लागि भनेर छुट्याइन्छ। हिउँदको वेला जब काम सकिन्छ, घरनजिकै समथर बारी, आँगनमा तलमाथि चारवटा किला गाडिन्छ। तलमाथिका किलामा नै दुईवटा काठ तेर्स्याइन्छ। काठको हतासोभित्र डोरी छिराइन्छ। डोरी काठमा बाँधिन्छ। सर्लक्क परेका लामो परालको त्यान्द्रा हाली हतासोले ठोकिन्छ अनि दायाँबायाँ हातैले बिट मारिन्छ। बिट मार्नका लागि पनि कला चाहिन्छ। यसरी नै गुन्द्री बुनिन्छ। लामो परालको गुन्द्री बुन्न सजिलो हुने र गुन्द्री राम्रो हुने धामीले बताीन्। निरन्तर दुईजना भएर बुनेमा एकदिनमै एउटा गुन्द्री बुन्न सकिने भए पनि दिनभरि नै टुक्रुक्क परेर बस्नुपर्ने भएकाले केही सकस हुने गरेको धामीकाकोे अनुभव छ।

    पुराना पुस्ताका अनुसार विगतमा घरमा आएका पाहुनालाई नयाँ गुन्द्री निकालेर बस्न आग्रह गर्दा प्रतिष्ठाको विषय हुन्थ्यो। इज्जत हुन्थ्यो। तर, अहिले परालको गुन्द्रीको सट्टामा प्लास्टिकजन्य गुन्द्रीको प्रयोग बढ्न थालेको छ। घरमा आएकालाई अचेल बस्नलाई आधुनिक कुर्सी, बेन्च दिइन्छ। यसले समाजको मौलिक परम्परालाई नै भुलाइदिएको छ। गाउँघरमै प्लास्टिकजन्य गुन्द्रीको प्रयोगले परनिर्भर बनाउनुका साथै पुर्ख्यौली सीप हस्तान्तरण गर्ने संस्कृतिमा पनि कमी आएको स्थानीयहरु बताउँछन्।

    ‘छोटो परालबाट थर्कटी तथा चकटी बुन्न सकिन्छ। स्थानीय स्रोत र साधनको प्रयोग गरी गुन्द्री बुन्ने गरिन्छ। विशेषगरी धानको पराल, जुटको धागो, बाबियोको खर प्रयोग गरी गुन्द्री बुन्न सकिन्छ। हाते तान बनाएर जुट वा बाबियोको खरको डोरीमा बुनिएको पराललाई काठको हतासोले ठोकेर गुन्द्री बनाउने गरेको पाइन्छ।