लेखापरीक्षणलाई गुणस्तरीय बनाउन सुधारका प्रयास सुरु : महालेखापरीक्षक राया - Chaitanya News
  • 2026-06-29
  • 18:15:06
  • सोमबार,आषाढ १५, २०८३
  • लेखापरीक्षणलाई गुणस्तरीय बनाउन सुधारका प्रयास सुरु : महालेखापरीक्षक राया

    लेखापरीक्षणलाई गुणस्तरीय बनाउन सुधारका प्रयास सुरु : महालेखापरीक्षक राया

    काठमाडौँ– महालेखापरीक्षक तोयम रायाले वित्तीय अनुशासन कायम गर्दै लेखापरीक्षण कार्यलाई थप गुणस्तरीय, पारदर्शी र जवाफदेही बनाउन विभिन्न सुधारका प्रयासहरू सुरु गरिएको बताएका छन्।

    महालेखा परीक्षकको कार्यालयको ६८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सार्वजनिक क्षेत्रको लेखापरीक्षणलाई अझ प्रभावकारी बनाउन आवश्यक सबै उपाय क्रमशः लागू गरिने बताए।

    उनका अनुसार लेखापरीक्षण प्रक्रियालाई थप पारदर्शी बनाउन स्थलगत लेखापरीक्षणका क्रममा सरोकारवालासँग भर्चुअल माध्यमबाट चार पटक अन्तरक्रिया गरिएको छ। आगामी वर्षहरूमा पनि उक्त अभ्यासलाई निरन्तरता दिइने उनले जानकारी दिए।

    महालेखापरीक्षक रायाले कर्मचारीको व्यावसायिक क्षमता अभिवृद्धिका लागि निरन्तर शिक्षा तथा विषयगत तालिम सञ्चालन गरिएको र अन्तर्राष्ट्रिय संस्थासँग समेत सहकार्य भइरहेको बताए। नेपाल लेखापरीक्षण व्यवस्थापन प्रणालीमार्फत संघ, प्रदेश तथा स्थानीय तहका निकायहरूको रायसहितको प्रतिवेदन सार्वजनिक गरिएको पनि उनले उल्लेख गरे।

    कार्यक्रममा प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिका सभापति भरतबहादुर खड्काले बेरुजु फर्स्यौटका लागि संसदीय समितिको तर्फबाट आवश्यक सहयोग र सहजीकरण गरिने बताए। समितिले कार्यतालिका बनाएर यस विषयमा नियमित छलफल गर्ने उनको भनाइ थियो।

    महालेखापरीक्षकको कार्यालयको ६३औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा ९४ खर्ब ८४ अर्ब ५० करोड रुपैयाँ बराबरको लेखापरीक्षण गरिएको छ। प्रतिवेदनमा नीतिगत तथा प्रणालीगत सुधार आवश्यक पर्ने ८८ अर्ब ९ करोड रुपैयाँ बराबरको बेरुजु औँल्याइएको छ भने अद्यावधिक बेरुजु ७ खर्ब ५५ अर्ब १७ करोड २२ लाख रुपैयाँ पुगेको उल्लेख गरिएको छ।