विराटनगर– नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभाका नवनिर्वाचित सांसद डा. शेखर कोइरालाले वर्तमान गठबन्धनले नै सरकार बनाउने बताएका छन।
विराटनगरस्थित कोइराला निवासमा बिहीबार बिहान पत्रकार सम्मेलन आयोजना गरी नेता कोइरालाले गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीसहित केही दललाई मिलाएर नयाँ सरकार बन्ने जानकारी दिएका हुन।
‘नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धनका सबै साझेदार दलहरू सँगसँगै रहेर नयाँ सरकार गठन हुन्छ,’ नेता कोइरालाले भने ‘चुनावको अन्तिम परिणाम आइसकेपछि कसरी सरकार बनाउने भन्ने विषयमा छलफल हुन्छ।’
निर्वाचनबाट केही नयाँ पार्टीहरू अस्तित्वमा आएको भए पनि उनीहरूको वैचारिक रुझान प्रस्ट नभइसकेकाले उनीहरूलाई गठबन्धनमा आबद्ध गर्ने विषयमा केही समय पर्खनुपर्ने नेता कोइरालाले बताए।
‘नयाँ दलभित्र कसैले सेन्ट्रल टु राइट र केहीले सेन्ट्रल टु लेफ्ट भनेको विषय सार्वजनिक भएको छ,’ उनले भने ‘यो विषय प्रस्ट भएपछि कसरी जाने भन्ने कुरा होला।’ उनले सात वटा राष्ट्रिय पार्टी भएको र थप एउटा पार्टी राष्ट्रिय पार्टी बन्ने सम्भावनाको निकट रहेकाले अन्तिम परिणाम आएपछि सरकार गठनको विषयले मूर्तरूप लिने बताए।
नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने बताउनुभएका कोइरालाले भावी प्रधानमन्त्रीको बारेमा भने मुख खोल्नुभएन। ‘प्रधानमन्त्री हुने कुरा कसैले चाहना गरेर मात्र हुँदैन, त्यसका लागि पहिले दलको नेता बन्नुपर्छ, नेता बन्नका लागि नम्बरको गेम हुन्छ,’ जसले नम्बर पुर्याउँछ उही दलको नेता हुने र प्रधानमन्त्री हुन्छ भन्ने कुरा सबैले बुझ्नु पर्छ’ नेता कोइरालाले भने ‘अहिलेसम्मको परिणामलाई हेर्दा नम्बर सभापतिकै पक्षमा देखिन्छ, यी सबै कुरालाई हेरेर हामी एउटा निर्णयमा पुग्छौँ।’
प्रधानमन्त्री जो बने पनि सुशासन र भ्रष्टाचारका विरुद्धमा केन्द्रित भएर काम गर्नुपर्ने उनले बताए। ‘सुशासन बिना देशलाई अगाडि बढाउन सकिँदैन। अब भ्रष्टाचारको विरुद्धमा हामी अघि बढ्नुको विकल्प छैन,’ आफ्नै पार्टीका नेताहरूले गर्ने भ्रष्टाचारका विरुद्धमा पनि अब सदनमा कुरा उठाएर सुशासनको पक्षमा हामी सशक्त भूमिका खेल्छौँ।’
आगामी सरकारमा सहभागिताको विषयमा पनि डा. कोइराला मौन रहे। ‘अहिलेको सन्दर्भमा मन्त्रिमण्डलमा सहभागी हुने कुरा अलि भेग भयो,’ उनले भने ‘अब हामी काठमाडौँ पुगेर पार्टी सभापतिसँग कुरा गर्छौँ, सरकार कसरी बनाउने आदि विषयमा छलफल गरेर एउटा निर्णयमा पुग्छौँ।’
सम्पन्न आम निर्वाचनबाट नेपाली कांग्रेसले अपेक्षा गरेअनुसारै परिणाम प्राप्त गरेको नेता कोइरालाले बताए। ‘मैले गठबन्धन गर्दै गर्दा नै कांग्रेसले ९० सिट वरिपरि मात्र नतिजा ल्याउँछ भनेको थिएँ, प्रत्यक्षमा ५५ देखि ६० र समानुपातिकमा ३२ देखि ३५ कै अपेक्षा थियो त्यसै अनुसार परिणाम प्राप्त हुने देखिएको छ,’ नेता कोइरालाले भन्नुभयो ‘तर, नेपाली कांग्रेसका नेता कार्यकताले अझ इमानदारिताका साथ मिहिनेत गरेको भए यो भन्दा राम्रो परिणाम आउँथ्यो।’
गठबन्धन दलभित्र सहयोग असहयोगको विषयमा आपसमा आरोप प्रत्यारोप चलिरहेको सन्दर्भमा उहाँले समीक्षा गरेर अगाडि बढ्नु पर्ने बताए। ‘कतै हाम्रा साथीहरू हार्नुभएको छ कतै गठबन्धनका अरू साथीहरू हारेका छन।
झलनाथजीले कांग्रेसलाई दोष दिएका छन, कतिपय ठाउँमा हाम्रा साथीहरूले दोष लगाएका छन। यसको समीक्षा गरेर अगाडि बढ्नु पर्छ। अरू विकल्प छैन,’ उनले भने।