उर्लाबारी– सात वर्षयता ठुला राजनीतिक दलको चुनावी एजेन्डा बन्ने गरेको मोरङको मरिया बक्राहा खोलाको पुल यस पटक पनि चुनावी एजेन्डा बन्यो। संविधान सभा चुनावको बेला देखि सधैँ यो पुल चुनावी एजेन्डा बनिरहेको छ। तर,२०७२ सालमा निर्माण सुरु भएको पुल सात वर्ष बितिसक्दा पनि बन्न सकेको छैन।
मोरङको सुनवर्षी १ का केचना र जोगीधाप जोड्ने यो पुल बन्न नसक्दा त्यस क्षेत्रका किसानले सबैभन्दा धेरै सास्ती ब्योहार्नु परेको छ। खोला बारीपारी जग्गा हुने किसानले खेत सम्म ट्याक्टर लान ल्याउन ८ किलोमिटर बाटो घुम्नुपर्छ। स्थानीय टीकाराम बस्नेतले भने, ४० मिटर लम्बाई र ११ मिटर चौडाइको पुल बन्ने भएपछि यस क्षेत्रका बासिन्दा खुसी भएका थियौँ। तर,७ वर्ष भयो। हाम्रो खुसी हराएको। उनले पुल नबन्दा ठुलो सास्ती ब्योहोर्नु परिरहेको बताए।
सुनवर्सी १ का भक्तबहादुर बस्नेतले भने, हरेक चुनावमा नेताहरू पुल बन्ने प्रतिबद्धता व्यक्त गर्छन्। यस वर्ष पनि पुल बनाइहाल्ने भने तर पुलका कामदारहरू दुईचार दिन काम गर्छन् र सम्पर्क विहीन हुन्छन्। तीन करोड ८५ लाख रुपियाँमा निलगिरी कन्स्ट्रक्सने निर्माण गर्ने भनिएको पुल ठेकदारको लापरबाहीले नबनेको स्थानीयको भनाई छ। टीकाराम बस्नेतले भने, ठेकदारले ५० प्रतिशत बढी रकम लिएपछि पुल अलपत्र बनाएर सम्पर्कमा आएका छैनन्। सम्बन्धित निकायले निर्माण कम्पनीलाई कारबाही गर्न नसक्नुले ठेकेदार र सडक कार्यालयको मिलेमतो भएको स्थानीयको आरोप छ।
पुल समयमा नबन्दा पुलको दक्षिण तर्फको घरजग्गा उच्च जोखिममा परेको छ। रामचन्द्र बस्नेतको घर गत असारमा आएको बाढीले बगाउन लागेको छ। यता मोरङ २ (२)का प्रदेश सभा सदस्य लीला वल्लभ अधिकारीले आफूले पटक पटक संसद्मा यो पुलका विषयमा कुरा उठाएको बताए। दोस्रो पटक निर्वाचित सांसद अधिकारीले ठेकदार कम्पनीको लापरबाहीले पुल नबनेको बताउँदै अब सरकार विहीनताको अन्त्य गर्ने बताए। उनले भने विभागीय प्रमुख र ठेकदारलाई राखेर चाँडो भन्दा चाँडो काम सुरु गर्न दबाब दिनेछु। ठुला दलका नेताको आशीर्वाद पाएका ठेकदारहरूले देशैभर धेरै पुल अलपत्र पारेको अधिकारीको भनाई छ।