आज विश्व एड्स दिवस, नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै - Chaitanya News
  • 2026-04-27
  • 16:22:52
  • सोमबार,बैशाख १४, २०८३
  • आज विश्व एड्स दिवस, नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

    आज विश्व एड्स दिवस, नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

    काठमाण्डौ– आज ३५औँ विश्व एड्स दिवस, नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। यस वर्ष दिवसको नारा ‘एड्स अन्त्यका लागि, समानताको सुनिश्चितता’ भन्ने तय गरिएको छ। सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ मा यो दिवस मने गरिन्छ।

    एचआईभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाका लागी विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जगाउन विश्व एड्स दिवस मनाउने गरिन्छ। सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने तथा असुरक्षित शारीरिक सम्पर्कका कारण एचआईभी एड्सको जोखिम हुने राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ। केन्द्रको तथ्याङ्क अनुसार नेपालमा एचआईभी एड्स सङ्क्रमणदर घट्दै गएको पाइएको छ।

    दुई दशकमा नयाँ एचआईभी सङ्क्रमणदर झण्डै ८४ प्रतिशतले घटेको छ। त्यस्तै एड्सका कारण हुने मृत्यु ७१ प्रतिशतले घटेको छ। असुरक्षित यौनसम्पर्कलाई एचआईभी एड्सको मुख्य कारण मानिन्छ। त्यस्तै सङ्क्रमितको रगत तथा सुईको साझा प्रयोग गर्नु पनि अर्को कारण मानिएको छ।

    दिगो विकास लक्ष्य अन्तर्गत नेपालले सन् २०३० सम्म एड्स महामारी अन्त्य गर्ने लक्ष्य राखेर एचआईभी रोकथाम, उपचार र हेरचाह कार्यक्रम सञ्चालन गर्दै आएको छ।

    नियमित रुपमा एन्टीरेट्रो भाइरल औषधि खाने गरेमा एचआईभी सङ्क्रमित व्यक्तिले स्वस्थ्य जीवनयापन गर्न सक्छन्। सरकारले एचआईभी सङ्क्रमितलाई तोकिएका स्वास्थ्य संस्थाबाट निःशुल्क एन्टीरेट्रोभाइरल उपचार सेवा दिँदै आएको छ।