काठमाडौँ– शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मन्त्रालय मातहतका निकायहरूले गरेको नियमित कामलाई नै समेटेर १०० दिनको उपलब्धी सार्वजनिक गरेकी छन्।
बिहीबार आफ्नो सय दिने उपलब्धी सार्वजनिक गर्दै मन्त्री भट्टराईले त्रिभुवन विश्वविद्यालयले परीक्षामा अंग्रेजी र नेपाली गरी २ भाषामा प्रश्न सोध्ने निर्णयलाई पनि उपलब्धिमा सुनाइन्। त्रिभुवन विश्वविद्यालयले १६ चैत २०८० मा सूचना निकालेर वार्षिक परीक्षाका प्रश्न पत्र नेपाली र अंग्रेजी दुवै भाषामा सोध्ने निर्णय गरेको थियो। विश्वविद्यालयका विद्यार्थीले लामो समयदेखि उक्त माग राख्दै आएका थिए।
तर मन्त्री भट्टराईका १०० दिने उपलब्धिमा यसलाई पनि समेटिएको छ। त्यस्तै, कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीले चिकित्सा शिक्षा आयोगले लिने प्रवेश परीक्षामा फर्म बुझाएर पनि परीक्षा दिन नपाएका विद्यार्थीको रकम फिर्ता गरेको पनि आफ्नो उपलब्धी मन्त्रालयले मानेको छ।
आयोगले यो वर्षदेखि कक्षा १२ को नतिजा नआउँदै प्रवेश परीक्षाका लागि फर्म भर्ने सुविधा दिएको छ। सोहीअनुसार नतिजा नआउँदै आयोगले लिने प्रवेश परीक्षाका लागि फर्म भरे पनि नन ग्रेड आएका कारण अयोग्य भएका विद्यार्थीको परीक्षा दस्तुर फिर्ता गरिएको थियो।
मन्त्री भट्टराईले आयोग र त्रिभुवन विश्वविद्यालयले गरेको काम भए पनि उक्त निर्णयका लागि मन्त्रालयको प्रत्यक्ष भूमिका खेलेकाले उपलब्धिमा राखेको पत्रकार सम्मेलनमै प्रष्टीकरण दिइन्। ‘मैले यसलाई किन उपलब्धिमा राखेँ भने यो आम रूपमा यो विषय उठेको थियो । यो दुइटा विषय जुन चिकित्सा शिक्षा आयोग र त्रिभुवन विश्वविद्यालयको जुन निर्णय छ, मन्त्रालयको प्रत्यक्ष भूमिका जोडिएका कारण हाम्रो उपलब्धी भित्र यसलाई राखेका छौँ’, उनले भनिन्।
त्यस्तै, मन्त्रालयले कार्यकालको १०० दिने समयावधिमै अनलाइनमार्फत समकक्षता प्रमाणपत्र लिने समय घटाएको पनि बताएको छ। पाठ्यक्रम विकास केन्द्रबाट प्रदान गरिने समकक्षताको प्रमाणपत्र अनलाइन आवेदन पेस गरेपश्चात लाग्ने १५ दिनको घटाएर ५ मा राखिएको छ। ‘यो व्यवस्था यही समयावधिभित्र गरिएको छ’, उनले भनिन्।
असोज दोस्रो साता आएको बाढी पहिरोकाबाट क्षति पुगेका स्कुलको भौतिक पुनर्निर्माण तथा नियमित स्कुल सञ्चालनका लागि पनि काम गरिरहेको मन्त्री भट्टराईले बताइन्। उनले यसका लागि प्रदेश र स्थानीय तहसँग निरन्तर छलफलमै रहेको सुनाइन्।
मन्त्री भट्टराईले ललितपुरको कोन्ज्योस्योम गाउँपालिका र गोदावरी नगरपालिकाका स्कुलमा बाढी पहिरोले क्षति पुर्याएकाले तिहार लगत्तै नियमित कक्षा सञ्चालन हुने गरी आफूहरूले तयारी गरिरहेको बताइन्।
स्थलगत अनुगमनका क्रममा बाढी पहिरोबाट क्षति पुगेका स्कुलमा तिहार अघि नै कक्षा सञ्चालन हुने अवस्था नरहेकाले तिहार लगत्तै कक्षा चलाउने गरी प्रयत्न गरिरहेको मन्त्री भट्टराईको भनाइ थियो। ‘त्यहाँ केही रकम पठाइसकेको छ। उहाँहरूले काम गरिसक्नुभएको छ। अब तिहारपछि राम्रोसँग सुरु गर्ने गरी सरकारले योजना गरेको छ’, उनले भनिन्, ‘त्यसभन्दा अगाडि पनि हामी फेरि छलफल गर्छौँ।’
त्यस्तै, एसइई उत्तीर्ण गरेका २ हजार ५ सय विद्यार्थीलाई तालिम दिने गरी सूचना आह्वान गरेको पनि मन्त्रालयले आफ्नो उपलब्धिमा राखेको छ । विद्यालय शिक्षा ऐन पारित भएमा शिक्षाका धेरै समस्या हल हुने उनको विश्वास छ। मन्त्री भट्टराईले सरकार गरेका कामलाई अगाडिकै कामका निरन्तरताका रूपमा मात्रै हेर्न नहुने बताइन्।
‘अगाडिका कुरा भनेको जे नियम, कानुन, ऐन बनिसकेका छन्, त्यो कुरालाई स्वतः निरन्तरता दिनैपर्छ। एजेन्डाहरू फरक हुनसक्छ, तर नीति, नियम र कानुनको फलो गर्ने दायित्व अविच्छिन्न अधिकारका रूपमा रहन्छ,’ उनले भनिन्, ‘त्यसलाई हरेकले पालना गर्नुपर्छ भनेर अगाडि कामलाई पनि आजको हाम्रो उपलब्धीका रूपमा अवलम्बन गरेर अगाडि बढेका छौँ।’