कोरोना संक्रमणलाई शून्यमा झार्न चीनका विभिन्न सहरमा ‘कडा शून्य–कोभिड नीति’ लागू - Chaitanya News
  • 2026-04-22
  • 23:41:01
  • बुधबार,बैशाख ०९, २०८३
  • कोरोना संक्रमणलाई शून्यमा झार्न चीनका विभिन्न सहरमा ‘कडा शून्य–कोभिड नीति’ लागू

    कोरोना संक्रमणलाई शून्यमा झार्न चीनका विभिन्न सहरमा ‘कडा शून्य–कोभिड नीति’ लागू

    उरुम्ची (बीबीसी)– कोरोना संक्रमणलाई शून्यमा झार्न चीनका विभिन्न सहरमा ‘कडा शून्य–कोभिड नीति’ लागू गरिएको छ। सिनजियाङ प्रान्तको राजधानी उरुम्चीमा पनि घर तथा आवासीय भवनबाहिर निस्कन कडाइ छ।

    यसै समय बिहीबार राति उरुम्चीस्थित एक आवासीय भवनमा आगलागी भयो। १० जनाको ज्यान गयोे। भवनबाट बाहिर निस्कन र आगो निभाउने प्रयासमा पनि कोभिड प्रतिबन्धहरूले अवरोध गर्दा उक्त घटनामा मृत्यु हुनेको संख्या बढेको भन्दै कोभिड प्रतिबन्धविरुद्ध नयाँ विरोध प्रदर्शन सुरु भएको छ। उरुम्चीका नागरिक सरकारी अधिकारीसँग भिडेको भिडियो सामाजिक सञ्जालमा आउन थालेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ‘कोभिड तालाबन्दी अन्त्य होस्’ भन्दै नागरिकले आन्दोलन गर्न थालेका छन्।

    उरुम्चीका अधिकारीहरूले कोभिड नियन्त्रणका लागि लागू गरिएका प्रतिबन्धहरू हटाउने बताए पनि आन्दोलन कम भएको छैन। बिहीबारको आगलागीमा भाग्नबाट रोकेको कुरालाई अधिकारीहरूले अस्वीकार गरेकाले आन्दोलन नरोकिएको बीबीसीले उल्लेख गरेको छ। यहाँ अगस्टको सुरुदेखि नै प्रतिबन्धहरू लगाइएको थियो।

    घटनापछि एक जना स्थानीय बासिन्दाले बीबीसीलाई आगलागीमा परेका कम्पाउन्डमा बस्ने मानिसहरूलाई घरबाहिर निस्कन रोकिएको बताएका छन्। अधिकारीहरूले शुक्रबार घुमाउरो भाषाले यो विषयमा प्रतिक्रिया दिँदै माफी भने मागेका थिए। उनीहरूले आफ्नो कर्तव्य त्याग्ने जो कोहीलाई सजाय दिने बाचा गरेका छन्।

    बीबीसीले शुक्रबार राति अनुगमन गरेको लाइभ स्ट्रिमहरूमा पनि प्रदर्शनकारीहरू सहरको सरकारी भवनको सिँढीमा भेला भएर आन्दोलन गरिरहेको देखिएको थियो।