दसैँका लागि १८०० खसीबोका र च्याङ्ग्रा राजधानीमा ल्याउने सरकाको तयारी, सहुलियत मूल्यमा बिक्री हुने - Chaitanya News
  • 2026-06-28
  • 22:21:52
  • आइतबार,आषाढ १४, २०८३
  • दसैँका लागि १८०० खसीबोका र च्याङ्ग्रा राजधानीमा ल्याउने सरकाको तयारी, सहुलियत मूल्यमा बिक्री हुने

    दसैँका लागि १८०० खसीबोका र च्याङ्ग्रा राजधानीमा ल्याउने सरकाको तयारी, सहुलियत मूल्यमा बिक्री हुने

    काठमाडौँ– सरकाले दसैँका लागि १ हजार ८०० वटा खसीबोका र च्याङ्ग्रा राजधानीमा ल्याउने तयारी गरेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो दसैँका लागि १ हजार ५०० वटा खसीबोका र ३०० वटा च्याङ्ग्रा ल्याउने भएको हो।

    उक्त खसीबोका तथा च्याङ्ग्रा घटस्थापनाको अघिल्लो दिनसम्म ल्याइसक्ने र सोही दिनदेखि बिक्री थाल्ने गरी तयारी गरिरहेको कम्पनीकी सूचना अधिकारी सर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन्।

    अहिले नै कति मूल्यमा बिक्री गर्ने भन्नेबारे निर्णय नभएको र खुला बजारको तुलनामा सहुलियत मूल्यमा बिक्री गरिने उनको भनाइ छ।

    गत वर्ष कम्पनीले जिउँदो खसीको मूल्य प्रतिकिलो ६७० र च्याङ्ग्राको मूल्य प्रतिकिलो १२५० रुपैयाँ तोकेको थियो। उक्त मूल्यमा बिक्री नभएपछि पछि भाउसमेत घटाइएको थियो। जसअनुसार खसीको २० रुपैयाँ सहुलियत दिँदै ६५० र च्याङ्ग्राको २५ रुपैयाँ सहुलियत दिएर १२२५ रुपैयाँ कायम भएको थियो। यसैगरी गतवर्ष बोकाको भाउ पनि खसीकै बराबर थियो। यो वर्षपनि मूल्य निर्धारण गर्दा खसी र बोका दुबैको भाउ उस्तैउस्तै पर्न सक्ने बताइएको छ।

    कम्पनीले यसवर्ष खसीबोका र च्याङ्ग्रा खरिदका लागि ४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। यो वर्ष भने गत वर्षको तुलनामा बजेट घटाइएको छ। अघिल्लो वर्ष खरिद गरिएका सबै च्याङ्ग्रा बिक्री नहुँदा ठुलो घाटा बेहोर्नु परेकाले यो वर्ष च्याङ्ग्राको परिमाण घटाइएको सुवेदीको भनाइ छ।

    कम्पनीले गत वर्ष २ हजार वटा खसीबोका र ५४२ वटा च्याङ्ग्रा ल्याएको थियो। जसका लागि ८ करोड रुपैयाँ बराबर बजेट छुट्याइएको थियो।

    गत वर्ष ल्याइएका कुल च्याङ्ग्राामध्ये ४९५ वटा बिक्री भएका थिए भने ४७ च्याङ्ग्रा बाँकी थिए। तीमध्ये कुकुरको टोकाइबाट २५ च्याङ्ग्रा मरेका थिए भने बचेका २२ वटा च्याङ्ग्रा १ हजार १५ रुपैयाँ प्रतिकिलोका दरमा दसैँपछि बिक्री गरिएको थियो।

    च्याङ्ग्रा मुस्ताङबाट तथा खसीबोका हेटौँडा, दाङलगायतका ठाउँबाट ल्याइने बताइएको छ।