काठमाडौँ– नागरिकले सहज रूपमा सेवा पाउन नसकिरहेको गुनासो जताततै व्याप्त रहँदा यता कर्मचारी भने सेयर कारोबारमा अलमलिने गरेको गुनासोसँगै कार्यालय समयमा कर्मचारीलाई सेयर कारोबारमा रोक लगाइने भएको छ। सिंहदरवारभित्र कर्मचारीलाई सेयर कारोबारमा निरुत्साहन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले रोक लगाउने तयारी थालेको हो।
मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारभित्रका कर्मचारी कार्यालय समयमा सेयर कारोबारमा व्यस्त भएकोले सेवामा अवरोध भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीसँगै कर्मचारीहरूलाई कार्यालय समयमा सेयर कारोबार गर्न रोक लगाउन परिपत्र जारी भएको एक सचिवले जानकारी दिए ।
उजुरीपछि अख्तियारको टिमले सिंहदरवारमा गरेको छड्के अनुसन्धानका क्रममा विभिन्न मन्त्रालयका कर्मचारीहरू सेयर कारोबार गरिरहेको भेटिएपछि सिंहदरवारभित्रै कारोबार हुँदा सेवामा असर पारेको निष्कर्षसँगै प्रधानमन्त्री कार्यालयलाई पत्र लेखी पठाइएको अख्तियार स्रोतले जानकारी दियो।
सिंहदरवार मात्रै नभई उपत्यकालगायत देशका अन्य भागका कार्यालयहरुमासमेत कयौँ सरकारी कर्मचारीहरू कार्यालय समयमा नै सेयर कारोबार हुने गरेको देखिएको छ। कर्मचारी सेयर कारोबारमा व्यस्त हुँदा सार्वजनिक सेवामा असर पर्ने त छँदै छ सरकारी स्रोत साधन समेत व्यक्तिगत प्रयोजनमा दुरुपयोग हुने गरेकोले यसलाई तत्काल रोक्न जरुरी रहेका अधिकारीहरूले बताएका छन्।