देशभरका सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने - Chaitanya News
  • 2026-07-16
  • 22:05:40
  • बिहिबार,आषाढ ३२, २०८३
  • देशभरका सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

    देशभरका सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

    काठमाडौँ– सरकारले देशभरका सबै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्डर लागू गर्ने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभर सञ्चालनमा रहेका १३ वटै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्डर लागू गर्ने भएको हो। त्यसका लागि १३ वटै विश्वविद्यालयका उपकुलपतिसहितका पदाधिकारीहरूसँग असोजको पहिलो हप्ता बैठक डाकिएको छ।

    शिक्षामन्त्री विद्या भट्टराईले सबै विश्वविद्यालयमा एउटै खालका शैक्षिक क्यालेन्डर लागू गर्न लागेको बताइन्। असोजको पहिलो साता सबै उपकुलपतिहरूलाई बोलाएर यो विषयमा छलफल गर्न लागिएको उनको भनाइ छ।

    ‘हाम्रा विश्वविद्यालयमा फरक फरक समयमा पठनपाठन हुने, फरक समयमा परीक्षा हुने, नतिजा पनि फरक समयमा हुने गरेका छन्। जसले गर्दा विद्यार्थीहरू मर्कामा परिरहेका छन्। अब १३ वटै विश्वविद्यालयका लागि नेशनल क्यालेन्डर बनाएर अघि बढ्छौँ,’ मन्त्री भट्टराईले भनिन्।

    विश्वविद्यालयका विषयमा नकारात्मक धारणा फैलाउने काम भइरहेको बताउँदै उनले विश्वविद्यालयमा पढ्ने भन्दा गुण्डागर्दीतिर लाग्ने गरेको बताइन्।

    विश्वविद्यालयमा देखिएका तमाम समस्या समाधानका लागि शिक्षा मन्त्रालय र आफू निरन्तर रूपमा लागिरहेको उनको भनाइ छ। विश्वविद्यालयको अवस्था सुधार नहुँदा विद्यार्थीहरू विदेश पलायन हुने समस्या देखिएको बताउँदै त्यसका लागि विद्यमान समस्याको समाधानतिर लागेको बताइन्।