गीता सम्पूर्ण वेद, उपनिषदहरूको सार हो। गीता महाज्ञानसागर हो। साक्षात् भगवान् श्रीकृष्ण र अर्जुनको यस्तो संवाद हो, जो सधैं कालजयी छ र विश्वभरिकै अध्यात्मचिन्तकहरूका लागि, पिपासुहरूका लागि प्रेरणादायी नै छ। गीतामा के के छ ? भन्नु भन्दा पनि गीतामा के छैन ? भनी श्रद्धापूर्वक विचार एवं निर्णय गर्नु नै उत्तम हुन्छ। गीता अनेकौं प्रकारका छन्; उद्धव गीता, गुरु गीता, हंस गीता, पाण्डव गीता, अष्टावक्र गीता, गोरख गीता आदि तर यी सबै गीताहरू मध्येमा श्रीमद्भगवद् गीता नै श्रेष्ठतम गीताका रूपमा मानिएको छ- सर्वोपनिषदो गावो दोग्धा गोपालनन्दनः। यस गीताकै साधनाद्वारा, अभ्यासद्वारा कैयौं ऋषिमहर्षिहरूले आफ्नो जीवनलाई धन्य बनाए। कैयौं विद्वानहरूले, जिज्ञासुहरूले यही गीताकै गानमा आफ्नो सर्वस्व समर्पित गरिदिए। न केवल पूर्वका विद्वानहरूले अपितु पश्चिमेली विद्वानहरूले पनि गीताको मुक्त कण्ठले गान गरे –
-गीताको उत्कृष्ट सुन्दरता भनेकै जीवनको ज्ञान र दर्शनको त्यो प्रस्फुटन हो, जुन धर्ममा अभिव्यक्त हुन्छ। (हर्मन हेस्)
-मानवीय चेतनामा गीताको गहिरो प्रभाव भगवद्भक्ति हो, जुन कर्ममा अभिव्यक्त हुन्छ। (डा. अल्वर्ट स्विट्जर)
-गीता पढेर मैले थाहा पाएँ, ईश्वरले कसरी सृष्टि रचे भनेर साथै प्रकृतिले हामीलाई अति प्रशस्त मात्रामा दिएकी छिन् भनेर। (अल्वर्ट आइन्सटिन)
गीताको महिमा असीम, अनन्त, अव्याख्येय भएता पनि यस लेखमा आफ्नै जीवनका केही अनुभूति र बुझाइहरू सहित मात्र नौ ओटा सूत्रलाई व्याख्या गर्ने प्रयास गरेको छु। गीताका ती सूत्र जो हाम्रो दैनन्दिन जीवनसँग, हाम्रो समाज, हाम्रो राष्ट्र र हाम्रो वैश्विक सम्बन्धसँग पनि जोडिएका छन्। ती सूत्र जसले प्रेरित गर्नेछन्, आलोकित र आप्लावित गर्नेछन् साथै जीवनका कठिन क्षणहरूमा स्पष्टरुपेण मार्गदर्शन पनि गर्नेछन्। अतः यस संक्षिप्त सानो लेखमा अर्जुनरुपेण नै केही सिक्ने र बुझ्ने प्रयास सहित केही विचारहरू प्रस्तुत गरिएको छ।
धर्म मम– गीताको उपदेश के हो ? गीताको मूल दर्शन र चिन्तन के हो ? भनेर व्याख्या गर्नुभन्दा पहिले धर्म मम भनेर सार संक्षेपमा बुझ्दा अति राम्रो हुन्छ। गीतामा अठार अध्याय, सात सय श्लोक छन्। प्रत्येक अध्याय आफैमा विभिन्न विशिष्ट नामद्वारा विभूषित छन्। प्रत्येक श्लोक आफैमा महिमामण्डित छन्। प्रत्येक शब्दहरू पनि आफैमा देदीप्यमान छन्। त्यसकारण गीता अत्यन्तै कठिन पनि छ र अत्यन्तै सरल पनि छ। गीता अत्यन्तै प्रिय पनि छ, नवीन पनि छ। गीता अञ्जुलीको पानी जस्तो तृप्तिप्रदायिनी पनि छ र अनन्त सागर जस्तो आश्चर्यकारिणी पनि छ। जति पढे पनि पढिरहुँ जस्तो, जति सुने पनि सुनिरहुँ जस्तो, जति चिन्तन गरे पनि गरिरहुँ जस्तो कुनै ग्रन्थ छ भने त्यो श्रीमद्भगवद्गीता नै हो।
अब मूल प्रसङ्ग, ‘धर्म मम’ भनेको के हो त ? गीताको पहिलो अध्याय, जसलाई अर्जुनविषादयोग भनिएको छ, त्यसको पहिलो शब्द नै ‘धर्म’ हो। अर्थात् धर्मक्षेत्रे, शब्दको पहिलो अंश धर्म हो। यसै गरी गीताको अन्तिम अठ्ठारौं अध्याय जसलाई मोक्षसंन्यासयोग भनिएको छ; त्यसको अन्तिम शब्द ‘मम’ हो। ‘मतिर्मम’ को अन्तिम अंश दुई अक्षरको मम हो। यसरी, पहिलो अध्यायको पहिलो शब्द धर्म र अन्तिम अध्यायको अन्तिम शब्द मम जोड्दा ‘धर्म मम’ हुन गयो। धर्म नै मेरो हो भनी बुझ्न सकियो भने गीता बुझ्न सकियो। गीतापाठ मात्र होइन कि गीतापान गर्न सकियो। गीताध्ययन मात्र होइन कि गीतागायन पनि भयो। गीतामै समर्पण पनि भयो। अन्तिम कुरा त धर्म मम मात्रै रहेछ।
‘धर्म मम’ पनि कहाँ गएर टुङ्गिदो रहेछ भने १८औं अध्यायको ६६औं संख्याको श्लोकमा भनिएको सर्वधर्मान्परित्यज्य मामेकं शरणं व्रज, अर्थात् शास्त्र, सिद्धान्त, सम्प्रदाय, विधि, पद्धति, उपासना आदि, जे-जस्ता भएता पनि, आफ्नो क्षमता, रुचि, प्रवृत्ति, सिद्धि आदि जे-जस्ता भएता पनि अन्तिम कुरा त शरणागति नै रहेछ; सर्वधर्मान्परित्यज्य नै रहेछ; मामेकं शरणं व्रज मात्रै रहेछ। धर्म मम बाहेक, धर्मशरणं बाहेक त अरु केही पनि रहेनछ। बुद्धले धम्मं शरणं गच्छामि भन्नु, शास्त्रहरुले यतो धर्मस्ततो जयः भन्नु आदि अन्ततः एउटै कुरा रहेछन्; अर्थात् मात्र “धर्म मम”।
धर्मक्षेत्रे कुरुक्षेत्रे– यहाँ उठाउन खोजिएको मूल प्रसङ्ग पनि गीताको पहिलो अध्यायको पहिलो श्लोकको पहिलो अंशसंग नै जोडिएको छ। सामान्य देखिने शब्दहरूमै अति असामान्य अर्थ लुकेका हुन्छन्, सन्देश छिपेका हुन्छन् भनी सोच्दै जाँदा आश्चर्यचकित भइन्छ। यहाँ ‘धर्मक्षेत्रे कुरुक्षेत्रे’ भनिएको छ। कुरुक्षेत्रे धर्मक्षेत्रे भने पनि त हुन्थ्यो नि ! त्यसमा पनि छन्दभङ्ग हुने त कुनै डर थिएन। फेरि संस्कृतको नियमानुसार शब्द स्थापना अगाडि पछाडि जहाँ भएता पनि अर्थमा त खास केही आपत्ति पनि हुँदैन। तर पहिलो अध्यायको पहिलो श्लोकमै ‘धर्मक्षेत्रे कुरुक्षेत्रे’ भनियो। यसैमा मात्र पनि गम्भीर विश्लेषण र चिन्तन गर्न सक्यौं भने यसैमा सम्पूर्ण सनातन चिन्तनको सार एवं पूर्वीय ज्ञान विज्ञानको सार लुकेको पाइन्छ साथै विश्व मानव जीवनका लागि पनि यही दुई शब्दमा अत्यन्तै स्पष्ट मार्गनिर्देशन पनि गरिएको छ।
हाम्रो जीवनमा कहिले पनि कुरुक्षेत्रे धर्मक्षेत्रे नहोस्। जहिले पनि हाम्रो जीवनमा धर्म नै प्रथम आधार बनोस्, प्रथम जग बनोस्, प्रथम संकल्प र शक्ति बनोस्। पाण्डवहरू र कौरवहरूमा दार्शनिक विश्लेषणका साथ के भिन्नता छ ? भनी सोच्नुपर्दा कौरवहरूको मार्ग कुरुक्षेत्रे धर्मक्षेत्रे हो भने पाण्डवहरूको मार्ग धर्मक्षेत्रे कुरुक्षेत्रे हो। पाण्डवहरूको युद्ध धर्मका लागि हो, न्यायका लागि हो, सत्यका लागि हो भने कौरवहरूको युद्ध कुरुक्षेत्रमा विजय पाउनका लागि हो। पाण्डवहरूले मात्र एक संकल्प लिएका छन् त्यो हो धर्मक्षेत्र र त्यही धर्मक्षेत्रलाई पाण्डवहरूले आत्मक्षेत्रमा पनि प्रयोग गरिरहेका छन् साथै कुरुक्षेत्रमा पनि प्रयोग गरिरहेका छन्। धर्मक्षेत्र विना कुरुक्षेत्रमा गरिएको कुनै पनि यात्रा, प्रयोग वा प्रयास अन्ततः घातक नै हुन्छ। कुरुक्षेत्रमा पाइने विजयले पनि धर्मक्षेत्रलाई अर्थात् शान्तिलाई, प्रेमलाई, दयालाई, करुणालाई, धैर्यलाई, न्यायलाई बलियो बनाउन सक्दैन भने कुरुक्षेत्रको विजयको अर्थ पनि के रह्यो र ?
मलाई लाग्छ; अहिले संसारमा जति पनि विकासवादी योजनाहरू र प्रयासहरू छन्, प्रयोगहरू छन्, अभियानहरू छन् ती सबैमा कुरुक्षेत्रे धर्मक्षेत्रे भन्ने भाव नै बढी अभिव्यक्त भएको देखिन्छ। फलस्वरूप, व्यक्ति दुःखी छ; परिवार-समाज बिथोलिएको छ, राष्ट्र संकटापन्न छ; सारा विश्व नै जहिले पनि युद्धकै आगोमा झुल्सिरहेको छ। चाहे व्यक्ति होस् वा संस्था वा कुनै राष्ट्र, सबैले निशर्त अपनाउनु पर्ने एकमात्र विद्या, चिन्तन, मार्ग, सूत्र भनेको धर्मक्षेत्रे कुरुक्षेत्रे नै हो। पहिले धर्म अनि बल्ल प्रयास, अनि बल्ल प्रयोग, अनि बल्ल अभियान, अनि बल्ल युद्ध। सम्पूर्ण कुरा धर्मद्वारा धर्मपूर्वक धर्मकै लागि मात्रै होस्।
कैर्मया सह योद्धव्यम्– गीताको पहिलो अध्यायको २२औं श्लोकमै दुवै सेनाको बीचमा उभिएर (सेनयोरुभयोर्मध्ये) अर्जुनले अत्यन्तै महत्वपूर्ण पश्न गर्छन्- कैर्मया सह योद्धव्यम् ? म जति जति यस प्रश्न बारे चिन्तन गर्छु, उति उति नै भावुक बन्छु। सामान्यतः हेर्दा यो प्रश्न एक सतही प्रश्न हो तर दार्शनिक दृष्टिका साथ गहन विवेचना गर्ने हो भने कुरुक्षेत्रमा दुवै सेनाको बीचमा उभिएर आखिर यो प्रश्न- कैर्मया सह योद्धव्यम् ? मैले कोसँग युद्ध गर्ने हो ? भनेर अर्जुन किन प्रश्न गरिरहेका छन् ? दृश्य स्पष्ट छ, परिस्थिति पनि स्पष्ट छ, भूमिका, तयारी, योजना, कार्यक्रम आदि सबै स्पष्ट छन्। कसले युद्ध गर्ने हो ? युद्धमा को को आएका छन् ? कौरव पक्षमा को को छन् ? पाण्डवका पक्षमा को को छन् ? युद्धका कारण के के हुन् ? युद्ध किन नभै नहुने अवस्थामा पुग्यो ? आदि। तथापि आज युद्धक्षेत्रकै मध्यभागमा उभिएर अर्जुन प्रश्न गर्दैछन्- मैले वास्तवमा कोसंग युद्ध गर्ने हो ? अति गहन दार्शनिक संदेश र आध्यात्मिक चिन्तन लुकेको छ यस प्रश्नमा। म सोच्दा सोच्दा यति भावविभोर हुन्छु कि जस्को म स्वयं व्याख्या पनि गर्न सक्दिन।
सायद अहिले संसारको मूल समस्या यही हो। धेरै मान्छेलाई थाहा नै छैन, युद्ध कोसंग गर्ने हो ? वास्तवमा शत्रु को हो ? शत्रु बाहिर छ वा कता छ ? शत्रुको रूप कस्तो हुन्छ ? शत्रुको शक्ति कस्तो हुन्छ ? शत्रु कसरी सामुन्ने आइपुग्छ ? तात्त्विक दृष्टिले हेर्दा हामीले शत्रु चिनेकै छैनौं, बुझेकै छैनौं। त्यसैले त शत्रु जहिले पनि बाहिर मात्रै खोजिरहेका छौं। भित्र लुकेको शत्रुलाई न चिन्न सक्यौं, न खोतल्न सक्यौं, न हराउन सक्यौं; फलस्वरूप मात्र लडिरहेका छौं। कहिले कोसंग, कहिले कोसंग। शत्रुता भित्रै लुकेको हुनाले गर्दा हामी स्वयं अनेक प्रकारका शत्रु बाहिर बनाइरहेका छौं। शत्रुताको बीज एउटै छ र त्यो आफू भित्रै छ तर शत्रुका रूप भने फरक फरक छन्। कहिले यसलाई शत्रुको रूपमा हेर्छौं भने कहिले उसलाई। कहिले परिवारकै सदस्यलाई शत्रु रूपमा हेर्छौं भने कहिले आफ्नो छिमेकीलाई। कहिले आफ्नै संस्थामा शत्रु पाउँछौं भने कहिले आफ्नो देशमै। भित्र शत्रुता भएपछि त शत्रुका रूप मात्रै फेरिने हुन् तर शत्रुको संख्या त कदापि घट्ने छैन। त्यसकारण अर्जुनको यो प्रश्न कुरुक्षेत्रमा गएर, मध्यभागमा उभिएर, भगवान् श्रीकृष्णलाई हात जोडेर- कैर्मया सह योद्धव्यम् ? भन्नु सामान्य प्रश्न होइन। अर्जुन महाबाहु मात्र होइनन्; महाचिन्तक, महाज्ञानी, महादार्शनिक पनि हुन् भन्ने कुराको बीजरूपेण प्रस्फुटन पहिलो अध्यायकै यही श्लोकमै स्पष्ट भएको छ।
तस्माद्योगी भवार्जुन- छैटौं अध्याय (ध्यानयोग-४६औं श्लोक)को यो श्लोक र खास गरी यो पद्यांश पनि मेरा लागि ज्यादै नै हृदयस्पर्शी छ। तस्माद्योगी भवार्जुन- त्यसकारण हे अर्जुन तिमी योगी बन। पहिलो विचित्रको कुरा त युद्धक्षेत्रमा गएको व्यक्तिलाई भगवान् श्रीकृष्णले तस्मात् योद्धा भवार्जुन भनी आशीर्वाद दिनुपर्ने ! विजेता भव, पराक्रमी भव, शक्तिशाली भव भनेर आदेश उपदेश दिनुपर्ने। तर यहाँ त श्रीकृष्ण भन्दै हुनुहुन्छ- त्यसकारण हे अर्जुन ! तिमी योगी बन, तस्माद्योगी भवार्जुन।
अर्को रमाइलो कुरा चाहिँ गीताका अठार ओटै अध्याय विभिन्न योगका नामले स्थापित छन्। अर्जुनविषादयोग, सांख्ययोग, ज्ञानयोग, कर्मयोग, भक्तियोग, राजयोग, ध्यानयोग आदि। समग्र गीताको अध्ययन गर्दै जाने हो भने राजयोगी, ध्यानयोगी, भक्तियोगी, ज्ञानयोगी, कर्मयोगी आदि सबैका व्याख्या विश्लेषण सहित महिमा गान गरिएका छन् गीतामा। तथापि भगवान् श्रीकृष्ण भन्नुहुन्छ- तस्माद्योगी भवार्जुन। यो आदेश नै आफैमा अत्यन्तै रोचक र रहस्यमयी छ। यो नै श्रीकृष्णको विराट् व्यक्तित्त्वको अत्यन्तै सुन्दर स्वरूप हो। भगवद्गीता सम्पूर्ण उपनिषदहरूको सार हो भन्ने कुराको उत्कृष्ट प्रमाण हो। यहाँ श्रीकृष्णले- ध्यानयोगी बन, ज्ञानयोगी बन, भक्तियोगी बन, कर्मयोगी बन, राजयोगी बन भनेर कतै कुनै सीमाङ्कन र निर्देशन गर्नु भएको छैन। मात्र योगी बन, योगी भव। ज्ञानको उच्चतम अभिव्यक्ति भनेकै यही हो। अध्यात्मको सर्वोच्च सन्देश भनेकै यही हो। सनातन जीवन दर्शनको श्रेष्ठतम पवित्रता भनेकै यही हो। त्यसकारण गीताको छैटौं अध्यायको ४६ संख्याको यो श्लोकको मैले जति वाचन, व्याख्यान गरे तापनि मलाइ जहिले पनि नौलो नै लाग्छ।
आजभोलि नबुझेर हो वा बुझ्न नचाहेर हो, धेरै गुरुहरूले, योगीहरूले, स्वामीहरूले, विद्वानहरूले गीताको एउटा मात्रै विधि र विद्या लिएर अनावश्यक डंका पिटिरहेका छन्। कोही भक्तियोगको नाममा, कोही ज्ञानयोगको नाममा, यसै गरी कोही ध्यानयोग र राजयोगको नाममा मार्केटिङ्ग गर्दै दुनियाँभरि नाचिरहेका छन्। जब सारा उपनिषदहरूको सार गीता हो भने गीताको सम्पूर्ण शिक्षालाई, सन्देशलाई स्वीकार गर्नमा किन कञ्जुस्याँइ गरियो ? किन मात्र एक पद्धति र चिन्तन लिएर मार्केटिङ्ग गर्ने, नेटवर्किङ् गर्ने दुष्प्रयास गरियो ? किन स-साना प्याकेज बनाएर गीताको महिमालाई समेत निस्तेज पार्दै भक्तहरूको, साधक-साधिकाहरुको भीड लगाएर आफूलाई ठूलो गुरु बनाउने प्रयास गरियो ? किन मात्र एक खोला वा नदीमा खुम्चिएर सागरलाई अपमानित गर्ने प्रयास गरियो ? भगवान् श्रीकृष्णले त मात्र योगी भव भन्नुभएको छ। ज्ञानयोगी भव, कर्मयोगी भव, भक्तियोगी भव, राजयोगी भव आदि केही पनि भन्नुभएको छैन भने हामी किन सनातन परम्पराको यति विशाल स्वरूपलाई खुम्च्याएर, टुक्रयाएर कसैलाई राजयोगको नाममा, कसैलाई ध्यानयोगको नाममा, कसैलाई यो पद्धतिको नाममा वा त्यो सम्प्रदायको नाममा बाँड्ने काम गरिरहेका छौं ? यो वैचारिक स्खलन हो वा वैचारिक दुष्टता ? यो बौद्धिक संकुचन हो वा बौद्धिक दिवालियापन ? समग्र सनातन चिन्तनलाई स्वीकार्न नसक्ने हो भने गीता पढ्नुको पनि अर्थ के रह्यो र ? म सनातनी हुँ, हिन्दु हुँ वा गुरु हुँ भन्नुको पनि के अर्थ भयो र ?
अभ्यासेन तु कौन्तेय- गीताको छैटौं अध्यायको ३५औं श्लोक- ‘अभ्यासेन तु कौन्तेय वैराग्येण च गृह्यते’, पनि अत्यन्तै अर्थपूर्ण र अध्यात्मपूर्ण छ। पहिलो कुरा त अभ्यासेन भन्ने जुन शब्द प्रयोग गरियो त्यो आफैंमा एक प्रकारको वैज्ञानिक चिन्तन पनि हो अर्थात, साइन्स अफ क्वान्टम भाईब्रेसन का अनुसार कुनै कुरालाई बारबार चिन्तन गरियो, बारबार उच्चारण गरियो वा अभ्यास गरियो भने त्यो कुरा नै हाम्रो जीवनको शक्ति बन्न पुग्छ। ब्रह्माण्डीय उर्जामा पनि त्यही कुरा ठोकिएर फेरि हामीमा त्यही कुरा समाहित हुन पुग्छ। न्युरोप्लास्टिसिटी को वैज्ञानिक सूत्र अनुसार पनि हामी जस्तो-जस्तो चिन्तन गर्छौं र अभ्यास पनि गर्छौं, हाम्रो व्यक्तित्व, क्षमता र सिद्धि पनि त्यही अनुसार नै हुन्छ अर्थात् अभ्यासद्वारा असंभव केही पनि छैन। हामी हाम्रो समग्र माइण्ड क्यापासिटी लाई नै चेन्ज गर्न सक्छौं।
गीताको यस श्लोकको पूर्व प्रसङ्ग अनुसार भगवान् श्रीकृष्णलाई अर्जुन भन्छन्- मनको नियन्त्रण त असंभव छ; असंशयं महाबाहो मनो दुर्निग्रहं चलम् जसरी वायुलाई नियन्त्रण गर्न सकिन्न त्यसरी नै मनलाई पनि नियन्त्रण गर्न सकिन्न तर भगवान् श्रीकृष्ण उत्तर दिनुहुन्छ- अभ्यासद्वारा र वैराग्यद्वारा मनलाई नियन्त्रण गर्न सकिन्छ। यो कठिन अवश्य छ तर असंभव भने छैन।
यसमा मलाई अत्यन्तै मनपर्ने पक्ष चाहिं के हो भने यहाँ मात्र अभ्यासेन भनियो, अभ्यास गर भनियो, अभ्यासद्वारा सबै कुरा संभव छ मात्रै भनियो, अभ्यासलाई नै मूल शक्ति र मूल आधार मानियो तर यहाँ कतै कुनै सिद्धान्त, सम्प्रदाय वा आग्रहलाई थपिएन। अभ्यास गरे असंभव केही पनि छैन। यस्तो मात्रै अभ्यास गर्नुपर्छ भनेर भगवान् श्रीकृष्णले दावी किन गर्ने ? गीता दर्शनले किन गर्ने ? समग्र सनातन चिन्तनले किन गर्ने ? अभ्यास त ध्यान पनि हुन सक्छ। भजन, कीर्तन पनि हुन सक्छ। जप,तप पनि हुन सक्छ। प्रार्थना, पूजा पनि हुन सक्छ। ज्ञान, स्वाध्याय, पाठ, पारायण पनि हुन सक्छ। कर्मकाण्ड आदि विभिन्न पद्धति पनि हुन सक्छन्। अनि यसमा यही मात्रै अभ्यास हो भनेर गर्ने, गराइने जुन प्रचलन अहिले समाजमा देखा परेको छ, के त्यो शास्त्रसम्मत भयो त ? सनातन धर्म-दर्शनसम्मत भयो त ? गीतासम्मत भयो त ? मानव मात्रलाई प्रेरित गर्न सक्ने गीताको यही उच्चतम प्रजातान्त्रिक उदार जुन शब्द अभ्यासेन हो; त्यो नै सनातन धर्मको मूल स्वरुप हो। आ-आफ्नो स्वभाव, रुचि र क्षमता अनुसार साधकले अभ्यास गर्ने हो। आवश्यकता अनुसार गुरुहरूले त्यसमा मार्गनिर्देशन गरिदिने हो तर यो अभ्यास मात्र ठीक छ; अरू अभ्यास अर्थहीन छन् भन्नु मूर्खता मात्र नभइकन दुष्टता पनि हो। त्यसकारण अध्यात्मको साधनामा लाग्न चाहने साधक, साधिकाहरूले उदारभावले अभ्यासेन तु कौन्तेय वैराग्येण च गृह्यतेलाई बुझौं। अतः आफ्नो स्वभाव, रुचि, क्षमता र श्रद्धा अनुसार अभ्यास गरौं। अध्यात्मको आनन्द प्राप्त गरौं।
आत्मयोगात्- गीताको एघारौं अध्यायमा कतै लुकेर बसेको शब्दलाई मैले यहाँ उजागर गर्ने प्रयास गरिरहेको छु। योग के हो र कुन ठूलो हो? भनेर विभिन्न विद्वान् र गुरुहरूका बीचमा संवाद, वादविवाद र तर्क-वितर्क चलिरहेका बेलामा ‘आत्मयोगात्’ भन्ने शब्द पनि मार्गदर्शक जीवन सूत्र बन्नसक्छ। मूल प्रसङ्ग चाहिं के छ भने, एघारौं अध्यायको विश्वरूप दर्शनयोगमा भगवान् श्रीकृष्णले अर्जुनलाई विश्वरुपको दर्शन दिनुभयो र भन्नुभयो- रुपं परं दर्शितमात्मयोगात्। (११औं अध्याय, ४७औं श्लोक) अर्जुनले जति गर्दा पनि नबुझे पछि, भगवान्ले विश्वरुपको दर्शन दिनुभयो। अर्जुन स्पष्ट भए, कृत-कृत्य भए, धन्य-धन्य भए। त्यो जुन विराट् विश्वरुपको दर्शन भगवान् श्रीकृष्णले अर्जुनलाई दिनुभयो, त्यो आत्मयोगद्वारा नै दिनुभयो। यहाँ रहस्यमय सूत्र के लुकेको छ भने, सबै योगहरूमा श्रेष्ठ त अन्ततः आत्मयोग नै रहेछ। ज्ञानयोग, भक्तियोग, कर्मयोग, ध्यानयोग, राजयोग आदि आ-आफ्नो ठाऊँमा आफै महिमामण्डित भएता पनि अन्त्यमा त आत्मयोग नै श्रेष्ठ रहेछ; किनकि त्यही आत्मयोगद्वारा विश्वरुप दर्शन पाए पछि अर्जुनका सम्पूर्ण शङ्का, उपशङ्का, दुविधा, चिन्ता, आवेग, संवेग आदि सबै हराएर गए। यही आत्मयोगमै सम्पूर्ण योगहरू समाविष्ट रहेछन्। ‘गागरमा सागर’ भने जस्तै आत्मयोगमै भक्तियोग, कर्मयोग, ज्ञानयोग, राजयोग आदि सबै समाविष्ट रहेछन्। तर यस आत्मयोगका बारेमा योगीहरूले, गुरुहरूले, विद्वानहरूले जति चर्चा र चिन्तन गर्नुपर्ने हो, संवाद र व्याख्यान गर्नुपर्ने हो त्यो नगरेको पनि देखियो। यसले के पनि सिद्ध गर्दछ भने मानिसहरू आ-आफ्नो डम्फु बजाउनमा नै बढी अभ्यस्त छन्। कसैलाई ध्यानयोगको, कसैलाई भक्तियोगको डम्फु बजाउनु छ। यो पद्धतिको वा त्यो पद्धतिको , यो विधिको वा त्यो विधिको डम्फु बजाउँदै मार्केटिङ्ग गर्नुपर्ने छ। फलस्वरुप शास्त्रमा लुकेका गहन सूत्रात्मक सन्देशहरू सुधीहरूले सुन्न, सिक्न र बुझ्न पाउँदैनन्। अनि समाज जहिले पनि बिरालो छोप्ने परम्परामै खुम्चिंदै, खुम्चिंदै नष्ट भएर जान्छ; लकीरका फकीर बनेर सुक्दै जान्छ। अतः आत्मयोगकै साधना श्रेष्ठ साधना हो, पवित्रतम, उच्चतम साधना हो भन्ने कुरा बुझौं र बुझाऔं। यही आत्मयोगद्वारा नै आत्मानन्द प्राप्त हुन्छ र जीवनको समग्र रुपान्तरण हुन्छ भन्ने कुरामा स्पष्ट बनौं।
यथेच्छसि तथा कुरु– गीताको १८औं अध्यायको ६३औं संङ्ख्याको यो श्लोक पनि ज्यादै नै प्रभावकारी र प्रेरणादायी छ। अठार अध्याय सम्म सिकाउँदै सिकाउँदै, बुझाउँदै बुझाउँदै, अनेकौं प्रश्नका गम्भीर उत्तरहरू दिंदै, बारबार प्रश्न र बारबार उत्तर दिंदै, अन्त्यमा आएर भगवान् श्रीकृष्ण अर्जुनलाई अठारौं अध्यायमा भन्नुहुन्छ- विमृश्यैतदशेषेण यथेच्छसि तथा कुरु। मैले तिमीलाई धेरै कुरा बताएँ तर यी सबै कुराको श्रद्धापूर्वक गम्भीर विमर्श गरेर अन्त्यमा तिमीलाई जे उचित लाग्छ, त्यही गर।
भगवान् श्रीकृष्णलाई जगद्गुरु (कृष्णं वन्दे जगद्गुरुम्) भनिएको छ। यथेच्छसि तथा कुरु (जे उचित ठान्छौ त्यही गर) भन्ने भगवान् श्रीकृष्णको अन्तिम आदेश उपदेश सुन्दा साँच्चिकै जगद्गुरुको चरित्र भनेको त यस्तै हुँदो रहेछ भनेर झन् झन् छर्लङ्ग भएर आउँछ। गुरु त्यो होइन जसले मैले बुझेको मान, मैले गरेको जस्तो गर, मेरो मात्रै अनुसरण गर, मैले दिएकै प्याकेजलाई प्राक्टिस गर र ग्लोबलाइज् गर। मेरो फोटो, लकेट र माला, ब्यानर र सिद्धान्तलाई मात्रै विश्वमा प्रचार गर। वास्तवमा यी सबै गुरुका लक्षण होइनन्। यी सबै कुरा त एक प्रकारले व्यापारिक वृत्ति हुन्। सद्गुरु त त्यही मात्रै हो जसले सगौरव, श्रद्धापूर्वक, विश्वासपूर्वक आफ्नो शिष्यको शिरमा हात राखेर, आफैले दिएको आदेश, उपदेश माथि पूर्ण विश्वास राखेर प्रेमपूर्वक भन्न सक्छ- यथेच्छसि तथा कुरु। जे उचित छ त्यही गर। यो भनाइ, यो आज्ञा, यो आदेश, यो उपदेशमा साहस छ, विश्वास छ, श्रद्धा छ र वैचारिक स्वतन्त्रताको, वैयक्तिक स्वतन्त्रताको सूत्र पनि स्पष्टतः प्रतिविम्बित भएको छ।
पूर्वीय सनातन गुरुकुल परम्पराको विशेषता पनि यही हो। हाम्रो पूर्वीय शिक्षण पद्धतिको पेडागोजीको बेष्ट मोडेल पनि यही हो- यथेच्छसि तथा कुरु, जे उचित छ त्यही गर। जुन गुरुलाई आफू माथि, आफ्नो चिन्तन माथि, आफ्नो उपदेश माथि विश्वास छ; उसले आफ्नो शिष्यलाई, साधकलाई, भक्तलाई ‘यथेच्छसि तथा कुरु’ भनेर स्वतन्त्र विचरणका लागि आदेश दिनसक्छ। तर जुन गुरुलाई आफू माथि नै विश्वास छैन। आफ्नै विद्या र उपदेश माथि पनि पूर्ण विश्वास छैन। आफ्ना भक्तहरूको, शिष्यहरूको संख्या घट्ला भन्ने डर पनि छ। कतै व्यवसाय खस्किएला कि ? भन्ने चिन्ता पनि छ। उसले कदापि यथेच्छसि तथा कुरु भन्न सक्दैन। त्यसकारण मलाई भन्न मन लाग्छ- गीता महत्तम ग्रन्थ हो, ज्ञानको महासागर हो, गुरु शिष्य परम्पराको अद्भुत-अनुपम दृष्टान्त हो। जहाँ गुरुले बारबार सोधिएका प्रश्नलाई पनि प्रेमपूर्वक स्वीकार गर्दै आशीर्वादपूर्वक उत्तर दिंदै जान्छन् तर अन्त्यमा फेरि यथेच्छसि तथा कुरु भनेर आफ्नो शिष्यको टाउकोमा हात राखिदिन्छन्। सनातन जीवन दर्शनको यो भन्दा अद्भुत आनन्दमय दृष्टान्त अन्यत्र कहाँ पाउन सकिएला र ?
हृष्यामि च मुहुर्मुहुः – यो पनि गीताको १८औं अध्यायको ७६ औं संख्याको श्लोक हो। ज्यादै नै रमणीय दृश्य यस श्लोकका माध्यमबाट चित्रित गर्न सकिन्छ। ऋषि संजय भन्छन्- भगवान् श्रीकृष्णको र अर्जुनको यस्तो अद्भुत संवाद देखेर, सुनेर म बारबार पुलकित हुन्छु- हृष्यामि च मुहुर्मुहुः। वेदव्यासका कृपाले ऋषि संजयलाई दूरदर्शन र दूरश्रवणको आशीर्वाद प्राप्त थियो। फलस्वरुप, हस्तिनापुरकै दरवारमा बसेर कुरुक्षेत्रमा भइरहेका सम्पूर्ण दृष्यहरूलाई र संवादहरूलाई हेर्न सक्थे र सुन्न सक्थे र महाराजा धृतराष्ट्रलाई जस्तो छ उस्तै सुनाउन पनि सक्थे।
एकातिर हृष्यामि च मुहुर्मुहुः भन्ने शब्दले त्यसबेलाको वैदिक टेक्नोलोजी (साइन्स एण्ड टेक्नोलोजी) कति उच्च स्तरमा पुग्न सकेको रहेछ भन्ने कुराको हामीलाई स्पष्ट जानकारी मिल्दछ भने अर्को तिर राम्रोसंग सुनेर, राम्रोसंग हेरेर पनि हृष्यामि हुने वा नहुने त्यो आ-आफ्नै व्यक्तित्वमा र प्रवृत्तिमा भरपर्दो रहेछ। गीताको जुन ज्ञान हो र कुरुक्षेत्रको मूलतः जुन संवाद हो त्यसलाई जे जस्तो थियो ठीक त्यस्तै तरिकाले तीन जनाले मात्र सुन्न पाए। अर्जुनले साक्षात् भगवान्को मुखबाट कुरुक्षेत्रमै दुबै सेनाको मध्य भागमा मध्यस्थ भएर, तटस्थ भएर सुन्न सके। यसैगरी हस्तिनापुरमा बसेर दरबारमै संजयले सबै सुन्न सके र हेर्न पनि सके र यसैगरी संजयले सबै कुरा धृतराष्ट्रलाई सुनाए पनि। जे जस्तो संवाद जुन स्तरमा, जुन भावमा, जुन प्रवाहमा, जुन गति यतिमा भएको थियो ठीक त्यस्तै धृतराष्ट्रले सुन्ने मौका पाए।
‘हृष्यामि च मुहुर्मुहुः’ भन्ने प्रसङ्गले मानव मनोविज्ञानका दुई ओटा कुरालाई उजिल्याउँछ। एउटा कुरा त सुन्नु भन्दा हेर्न सक्नु ठूलो कुरा रहेछ। श्रवण भन्दा साक्षात्कार हुनु, दर्शन हुनु त्यो झन् ठूलो कुरा रहेछ। मात्र श्रवणले पनि कहिलेकाहीं विश्वासको आधार बलियो बन्नसक्दो रहेनछ। मात्र श्रवण गरेर पनि जीवन रुपान्तरण गर्न सकिंदो रहेनछ। त्यही भएर दर्शनै गर्नुपर्ने हाम्रा शास्त्रीय महिमा रहेछन्। गुरुको दर्शन, मन्दिरको दर्शन, तीर्थको दर्शन, देवी देवताहरूको मूर्तिको दर्शन, माता, पिता आदि अग्रज, मान्यजनको दर्शन आदिको महिमा पनि सायद यसैमा स्पष्टतः लुकेको छ। मानवीय मनोविज्ञान अनुसार श्रवणका साथै दर्शन पनि छ, साक्षात्कार हुने अवस्था पनि छ भने बल्ल रुपान्तरण हुन्छ है भन्ने बुझ्नुपर्ने देखिन्छ।
अर्को अनौठो मानवीय स्वभावको वृत्तिको व्याख्या पनि गीताको १८औं अध्यायको ७६औं संख्याको यस श्लोकले स्पष्ट पारिदिएको छ। अर्जुनले सुने, प्रत्यक्ष देखे र प्रत्यक्ष अनुभूति पनि गरे, बीच कुरुक्षेत्रको मध्य भागमा। त्यस्कारण अर्जुन न केवल आप्लावित भए; किन्तु आलोकित पनि भए; अर्जुन न केवल हर्षित भए; किन्तु रुपान्तरित पनि भए। उता तिर संजय भने हर्षित भए, प्रसन्न भए। हृष्यामि सम्मको अवस्थामा पुगे। करिष्ये सम्मको अवस्थामा भने पुग्न सकेनन्। तर कस्तो विचित्र ! धृतराष्ट्र भने यो सम्पूर्ण संवाद सुनेर पनि न करिष्ये मा पुग्न सके, न हृष्यामि मा पुग्न सके।
संसारको इतिहासमा यो सायद अत्यन्तै दुःखद मानवीय चित्र हो। जहाँ सम्पूर्ण ज्ञान पाएर पनि, सम्पूर्ण शास्त्र सुनेर पनि कतै कुनै रुपान्तरणको लेश मात्र पनि देखिएको छैन। यो भन्दा दुर्भाग्य मानिसको जीवनमा के पो हुनसक्छ र ? धृतराष्ट्रको पतन, कौरवको पतन अरू कसैले गराएको होइन; त्यो आफै भएको हो भन्ने कुराको प्रमाण यही चित्रबाट स्पष्ट हुन्छ। जहाँ मोह बढ्छ, मोहले सीमा नाघ्छ त्यहाँ गीताज्ञान त के सामान्य ज्ञान पनि जाग्न सक्दैन। जब मानिसको आफ्नै वृति वा स्वभाव कलुषित हुन्छ उसलाई साक्षात् कृष्णले नै गीता सुनाए तापनि केही परिवर्तन हुन सक्दैन। त्यही भएर एउटा निष्कर्षमा बुझ्नु पर्ने कुरा के हो भने अन्तमा जीवनको रुपान्तरण, जीवनको कल्याण न कुनै शास्त्रद्वारा हुन्छ, न कुनै उपदेशद्वारा, न कुनै ज्ञानद्वारा, न कुनै आशीर्वादद्वारा, न कुनै विधि वा पद्धतिद्वारा वा उपासनाद्वारा। आफ्नो स्वविवेक, स्वबोध, स्वसंकल्प, स्वसाधना र स्वनिर्णयद्वारा मात्रै हुन्छ। अरू सबै शास्त्रादि, उपदेशादि, साधना आदि सबै अन्ततः विधि मात्रै हुन्।
करिष्ये वचनं तव – गीताको १८औं अध्यायको ७३औं संख्याको यो श्लोक पनि अत्यन्तै गूढ छ, अर्थपूर्ण छ। गीताको सम्पूर्ण आदेश, उपदेशको अन्तिम निष्कर्ष भनेको यही तीन शब्द हो करिष्ये वचनं तव। यो अति महत्वपूर्ण छ; यसलाई समग्रमा सही मानेमा बुझ्न सकिएन भने महाबाहु, महापराक्रमी, महाज्ञानी, महायोगी, महाभक्त, महाध्यानी, महापरंतप, अर्जुनको चरित्र पनि बुझ्न सकिन्न। मैले गीताको सम्पूर्ण सार यही तीन शब्दमा लुकेको पाएको छु। ज्ञान, कर्म, भक्ति लगाएत श्रीकृष्णका सम्पूर्ण उपदेशहरूलाई अर्जुनले श्रवण गरेर, निष्कर्षमा पुगेर उद्घोष गरेका छन्, यी तीन शब्दमा करिष्ये वचनं तव; हजुरले भनेको गर्दछु। यहाँ तेस्रो शब्दमा शरणागति छ- तव अर्थात् हजुरको। यहाँ मैले भन्ने छैन, मम भन्ने छैन। कतै कुनै अहंकार छैन। कतै कुनै व्यक्तिवाद छैन। कतै कुनै ‘म’ भन्ने लवलेश पनि छैन। समग्रमा शरणागति मात्रै छ। यही तव शब्दले शरणागति बुझाउँछ, अखण्ड भक्ति बुझाउँछ, समग्रमा गीताको भक्तियोगको सार बुझाउँछ। यसै गरी करिष्ये वचनं तव को दोस्रो शब्द वचनं ले गुरुको विचार, गुरुको ज्ञान, गुरुको उपदेश भन्ने बुझाउँछ। यानिकि अर्जुन जुन कुरा गर्न जाँदैछन् त्यो आफ्नो ज्ञानको अभिमान वा घमण्डले होइन किन्तु गुरुले दिएको ज्ञान, गुरुको वाणी, गुरुको उपदेशले हो। यो भन्दा महान कुरा अरू के पो हुन्छ र ? त्यसकारण वचनं भन्ने शब्दले ज्ञानयोगलाई बुझाउँछ। गीताका अधिकांश अध्यायहरूमा जहाँ जहाँ ज्ञान शब्द प्रयोग गरिएको छ – नहि ज्ञानेन सदृशं पवित्रमिह विद्यते, ज्ञानवान्मां प्रपद्यते, ज्ञानयोगव्यवस्थितिः, ज्ञानात् शान्तिरनन्तरम् आदि- ती सबै करिष्ये वचनं तवको यही वचनंमा समाहित भएका छन्।
पहिलो शब्द करिष्ये का बारेमा त धेरै व्याख्या पनि गर्नु परेन। गर्दछु भन्ने घोषणा नै कर्मयोगको स्पष्ट दृष्टान्त हो। गर्छु भन्ने निर्णय र समर्पण जुन हो त्यो नै कर्मयोगको विशिष्टतम दृष्टान्त हो। कर्मसंग जोडिएका गीताका अनेकौं अध्यायमा जे जति प्रसङ्गहरू छन्, श्लोक वा श्लोकांशहरू छन्- कर्मण्येवाधिकारस्ते, कर्मणैव हि संसिद्धि, अनाश्रितः कर्मफलम्, असक्तो ह्याचरन् कर्म आदि- ती सबै यही करिष्ये भन्ने वचनमा आएर पूर्ण हुन्छन्। यसरी हेर्दा अर्जुन कर्मयोगी हुन् भन्ने स्पष्ट हुन्छ।
अब यहाँ नेर मैले अत्यन्तै नम्रतापूर्वक उठाउन खोजिरहेको कुरा के छ भने गीता पढेर पनि कोही भक्तियोगी मात्रै बन्ने, कोही ज्ञानयोगी मात्रै बन्ने, कोही कर्मयोगी मात्रै बन्ने; के त्यसरी एकाङ्गी पनि बन्न सकिन्छ र ? एकमार्गी पनि बन्न सकिन्छ र ? भगवान् श्रीकृष्णको वचनानुसार, आदेश-उपदेशानुसार जब अर्जुनले करिष्ये वचनं तव भन्छन्; ज्ञान, कर्म र भक्ति सबैलाई स्वीकार गर्छन् भने हामीले मात्रै अधुरो-अपुरो, भएर निर्णय किन गर्ने ? हामीले मात्रै आफ्नो आवश्यकतानुसारको, स्वभाव र प्रवृत्ति अनुसारको, सीमित क्षमता र बुद्धि अनुसारको गीताको अर्थ लगाएर आफै संकुचनमा किन जाने ? र समाजलाई पनि संकुचनमा किन लैजाने ? करिष्ये वचनं तव भन्ने घोषणाले नै गीता भनेको ज्ञान, कर्म, भक्ति लगाएत ध्यानयोग, राजयोग आदिको ज्ञान-महासागर हो एवं योग-महाकाश हो भन्ने सिद्ध गरिदिएको छ।
जति पढे पनि, सुने पनि, लेखे पनि, बोले पनि अतृप्त हुनुको आनन्द जुन गीतामा पाइन्छ, त्यो अतृप्तिको अद्भुत आनन्द अन्यत्र पाउन ज्यादै नै गाह्रो हुन्छ। मैले आफूले झण्डै सात वर्षको उमेरदेखि दिल्ली मोतीनाथ संस्कृत महाविद्यालय, दिल्लीबाट नै गीतापाठ गर्दै आएको छु। तत्पश्चात् काठमण्डुमा मातृभूमि सेवक संघको संयोजनमा गरेको करिब आठ वर्षको सत्संग प्रवचन तथा हिन्दु विद्यापीठ- नेपालमा बच्चाहरूसँग निरन्तर गरेको गीतापाठ र सत्संग लगाएत विभिन्न चरणमा, विभिन्न क्षेत्रमा, विभिन्न स्थलमा गरेका गीता सम्बन्धी प्रवचन र सत्संगको अनुभवबाट पाएको एउटै कुरा हो- गीता एक महान् कालातीत जीवन दर्शन हो, ज्ञानविज्ञानको एक अद्भुत, सूत्रात्मक, सरलतम ग्रन्थ हो। हरेक पाठक र पिपासुका लागि गीता अमृत नै हो। तर गीता पढेर पचाउन सकिएन भने, पालन गर्न सकिएन भने तथा गीता सुगीता कर्तव्या को रुपमा परिणत हुन सकेन भने गीतापाठले मात्र के पो हुन्छ र ? जगद्गुरु शंकराचार्यले गेयं गीतानामसहस्रं भनेको, नाथ परम्परामा ‘जोगी ताको जानिए जो गीताको जान’ भनेको प्रसङ्गहरूले पनि गीताको महत्तम स्वरुपलाई छर्लङ्ग्याउँछ। परमाणु बमको परिक्षण भइरहेका बेलामा पनि सर जुलियस रोबर्ट ओपेनहैमर का आँखाबाट अश्रुधारा सहित प्रस्फुटित गीताले (दिवि सूर्यसहस्रस्य भवेद्युगपदुत्थिता- ११औं अध्याय, १२औं श्लोक) पनि तथा अनेकौं वैज्ञानिक, पश्चिमेली दार्शनिकहरूले व्यक्त गरेका उद्गारहरूले पनि गीता वास्तवमै एक अमृत हो, अद्भुत आनन्दको महाज्ञान सागर हो भन्ने सिद्ध गरिदिएको छ।
यहाँ मैले माथि मात्र नौ ओटा सूत्रहरूलाई आधार बनाएर चिन्तनको सानो नयाँ प्रस्तुति दिने प्रयास गरेको मात्र हुँ; अन्यथा गीताका बारेमा व्याख्यान गर्नका लगि पनि, श्रवण गर्नका लागि पनि, आत्मसात् गर्नका लागि पनि अर्जुन नै बन्नु पर्छ। त्यसैले त गीताको अठारौं अध्यायमा भनिएको छ-
इदं ते नातपस्काय नाभक्ताय कदाचन।
न चाशुश्रूषवे वाच्यं न च मां योऽभ्यसूयति।। – (१८औं अध्याय, ६७औं श्लोक)
गीताज्ञानको अधिकारी बन्नु भनेको जीवनमा तपस्या होस्, जीवनमा भक्ति होस् र जीवनमा शुश्रूषा, श्रवणेच्छा होस् र जीवनमा कतै पनि, स्वप्नमा समेत पनि कुनै निन्दा भाव वा नकारात्मक भाव नहोस्। अनि बल्ल गीता बुझ्न सकिन्छ; सो बुझाइ अनुसार जीवनलाई रुपान्तरित गर्न सकिन्छ र सो रुपान्तरण अनुसार सधैं अर्जुन जस्तै महाबाहु, महापरिक्रमी, महाज्ञानी, महायोगी बनेर आनन्द प्राप्त गर्न सकिन्छ। जीवनलाई साक्षात् सच्चिदानन्दरुपको उच्चतम अनुभूतिमा पुर्याउन सकिन्छ।
ॐ तत् सत् !!! जय श्रीकृष्ण !!! जय शिवगोरख !!!
गुरु डा. चिन्तामणिनाथ योगी
Email- mail2cmyogi@yahoo.com