नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा आयात हुने वस्तुहरूको गुणस्तर मापन अनिवार्य लागू गर्न सरकारसँग आग्रह गरेका छन्।
आज (आइतबार) काठमाडौँमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा आयात हुने वस्तुहरूको गुणस्तर मापन अनिवार्य लागू गर्न सरकारसँग आग्रह गरेका हुन्। उनले नेपालमा हाल करिव एक हजार १५० वटा वटा वस्तु तथा सेवाहरूमा नेपाल गुणस्तर निर्धारण गरिए पनि सामान्यतया नेपालमा ५ हजार भन्दा बढी वस्तुहरू आयात हुने गरेको बताए।
उनले अधिकांश आयातित वस्तुहरू कस्तो गुणस्तरका छन् भन्ने नै यकिन नरहेको बताए। उनले यसले उपभोक्ता अधिकार हनन हुनुका साथै स्वदेशमा उत्पादन हुने वस्तुहरूको बजारलाई समेत नकारात्मक असर गरिरहेको उल्लेख गरे।
उनले आयातित वस्तुमा निगरानी नहुने गरेको पनि बताए। उनले स्वदेशी उद्योगहरूको संरक्षण र आम मानिससँग प्रत्यक्ष सरोकार राख्ने यस्ता वस्तुहरू गुणस्तरीय हुन आवश्यक भएको बताए। उनले भारतसँग धेरै व्यापार हुने भएकाले भारत गुणस्तर र नेपाल गुणस्तर ऐन एक अर्कालाई मान्य हुने गरी समझदारीका लागि पहल गर्न अनुरोध गरे।
उनले भने, ‘नेपालमा हाल करिव ११५० वटा वस्तु तथा सेवाहरूमा नेपाल गुणस्तर निर्धारण गरिएको छ। तर सामान्यतया नेपालमा ५ हजार भन्दा बढी वस्तुहरू आयात हुने गरेको देखिन्छ। अधिकांश आयातित वस्तुहरू कस्तो गुणस्तरका छन् भन्ने नै यकिन छैन। त्यसले उपभोक्ता अधिकार हनन त गरेको छ नै स्वदेशमा उत्पादन हुने वस्तुहरूको बजारलाई समेत नकारात्मक असर गरिरहेको छ। स्वदेशी सबै उत्पादन तथा उत्पादकहरूमा गुणस्तरीय मापदण्ड लागू हुन्छ, सबै उत्पादकहरूले गुणस्तरीय मापदण्ड अनिवार्य पूरा गर्नुपर्छ। स्वदेशी उत्पादन तथा उत्पादकहरूले गुणस्तरीय मापदण्ड पूरा गरेनगरेको निगरानी गर्न धेरै निकायहरू पनि छन्। तर आयातित वस्तुमा निगरानी गरिएको पाइँदैन। स्वदेशी उद्योगहरूको संरक्षण र आम मानिससँग प्रत्यक्ष सरोकार राख्ने यस्ता वस्तुहरू गुणस्तरीय हुन अत्यन्त आवश्यक छ। त्यसैले नेपालमा आयात हुने वस्तुहरूको गुणस्तर मापन अनिवार्य लागू गर्न पनि अनुरोध गर्दछु। भारतसँग धेरै व्यापार हुने भएकाले भारत गुणस्तर र नेपाल गुणस्तर ऐन एक अर्कालाई मान्य हुने गरी समझदारीका लागि पहल गर्न अनुरोध गर्दछु।