घोराही– दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा माओवादी केन्द्रकी नेतृ रेखा शर्माले आम मतदाताका गुनासा सम्बोधन हुने गरी काम गर्ने बताएकी छन् । निर्वाचनमा विजयी भएपछि बिहीबार बिहान पत्रकारहरुलाई प्रतिक्रिया दिंदै उनले इमान र निष्ठाका साथ काम गर्ने बताएकी हुन्।
उनले भनिन्, ‘आम जनसमुदायका र मतदाताका जुन गुनासा हामीप्रति छन्, ती गुनासा सम्बोधन गर्ने गरी इमानका साथ काम गर्छु। निष्ठाका साथ काम गर्छु। त्यसरी काम गर्दा पूरा गर्न सकिन्छ भन्ने लाग्छ। पूरा नहुने कुराहरु इमानका साथ भन्छु जनताका बीचमा।’
उनले आफ्नो जितलाई प्रतिगमनविरुद्धको एजेण्डा दंगाली जनताबाट अनुमोदन भएको रुपमा टिप्पणी समेत गरिन्। यसबाट अत्यन्त खुसी लागेको उनले बताइन्। शर्माले भनिन्, ‘निर्वाचनको सुरुदेखि नै प्रतिगमनको विरुद्ध, लोकतन्त्र–गणतन्त्रको रक्षाका लागि भनेर र समग्र दाङको समृद्धिको लागि भनेर जुन एजेण्डा प्रस्तुत गरेका थियौं, त्यसलाई जनताले अनुमोदन गरेका छन्। अत्यन्त खुसी छु।’