सदाचारका विभिन्न प्रकारका आयामहरू हुन्छन्। भोजन प्रसङ्ग, नैतिक जीवनका परिपाटी, जीवनशैलीका प्रसङ्गहरु, मानवीय व्यक्तित्त्वका विभिन्न पाटाहरूसँग सदाचार सम्बन्धित छ। धार्मिक जीवनका हिसाबले सत्यं वद, धर्मं चर भयो वा भएन ? भन्ने हिसाबले पनि सदाचार महत्त्वपूर्ण छ र सदाचार जीवनको दैनन्दिन व्यावहारिक अनुशासनसँग पनि सम्बन्धित छ। तर अहिले सदाचारका विभिन्न पाटाहरूलाई केलाऊँदै अझ बढी ध्यान (फोकस) गरेर मूल विषयमै केन्द्रित हुन खोज्दा आर्थिक सदाचार भनेको नै सम्पूर्ण सदाचारहरूको केन्द्र भाग हो, मूल भाग हो भन्ने कुरा हामीले बुझ्नु पर्ने हुन्छ।
जहाँसम्म आर्थिक सदाचारको अहं प्रश्न छ। नेपालमा छ/छैन ? वा कति छ/छैन ? भन्ने कुरालाई पूर्वापर प्रसङ्ग सहित बुझ्नुपर्ने हुन्छ। त्यस सम्बन्धमा भन्नुपर्दा युग गणनाका हिसाबले अहिले कलियुग चलेको हुनाले नेपालमा मात्र होइन, विश्वमै आर्थिक सदाचार अहिले सबैभन्दा ठूलो संकटको रूपमा देखा परेको छ। विश्वकै अहिलेका प्रमुख दुईवटा समस्या छन् जुन सदाचारसंग जोडिएका छन्। एउटा आर्थिक सदाचार, अर्को नैतिक सदाचार। नैतिक सदाचारमा पनि मूलतः यौनजन्य व्यवहारसँग जोडिएका विषय विश्वकै लागि अहिले चुनौतीका विषय बनेका छन्। वर्तमानका हिसाबले नेपालमा अहिले आर्थिक सदाचारको अवस्था खस्किदो छ भनेर अत्यन्तै पीडाका साथ स्वीकार्नुपर्ने हुन्छ। तर त्यो वर्तमानलाई पनि फेरि हामीले सीमाङ्कन गर्नुपर्ला कि ? समयका हिसाबले ? वा क्षेत्रका हिसाबले ? वा वर्गका हिसाबले ? अब त्यो सीमाङ्कन गरेर हेर्ने हो भने अहिले आर्थिक सदाचार घटेको छ तर सायद यही आर्थिक सदाचारको क्रम २०-३० वर्ष जति पहिले राम्रो थियो कि ? भनेर आशा गर्ने कैयौं हामीसँग प्रमाणहरू छन्। सीमाङ्कनका हिसाबले शहरी जीवनमा आर्थिक सदाचार घट्दो छ भने गाउँ घरतिर, पहाडतिर अझै पनि आर्थिक सदाचारलाई त्यहाँको जीवनशैलीमा, त्यहाँकै ग्रामीण संस्कार अनुसार अभ्यास गरेको अहिले पनि हामी पाउँछौ। अहिले पनि गाउँ घरमा पाहुना आएपछि सबैले सबैलाई सघाउने चलन छ। गाउँघरमा कसैको घरबाट फलफूल अथवा अन्नपात लिने बेलामा अहिले पनि सोधेर लिने चलन बाँकी नै छ। अहिले पनि गाउँघरमा कैयौं ठाउँमा ढोका नलगाउने, ताला नलगाउने घरहरू हाम्रा पहाडका गाउँहरूमा बाँकी नै छन्।
समग्रमा आर्थिक सदाचार छैन भन्ने कुराको घोषणा आफैमा विवादास्पद र आपत्तिजनक हुन सक्छ। तर व्यावहारिक यथार्थलाई, तीतो सत्यलाई स्वीकार्दै जाँदा शहरी जीवनमा आर्थिक सदाचार घट्दो छ। उच्च सम्भ्रान्त वर्ग भनाउँदाहरूका बीचमा आर्थिक सदाचार घट्दो छ। बुद्धिजीवी प्रतिष्ठित उच्च पदस्थ भनाउँदा व्यक्तिहरूका बीचमा पनि आर्थिक सदाचार घट्दो छ। राजनीतिक क्षेत्रमा भने त आर्थिक सदाचार अत्यन्तै दयनीय अवस्थामा पुगेको छ।
आर्थिक सदाचारको अभावले कुन कुन क्षेत्रमा बढी असर पारेको छ ? भन्दा शहरी जीवन, कर्मचारीहरूको जीवन, व्यापारिक जीवन र विभिन्न प्रकारका व्यवसाय चलाउने व्यक्तिहरूको जीवनमा यसले बढी असर पारेको छ। यी क्षेत्रमा अहिले अत्यन्तै डरलाग्दो भयावह समस्या सिर्जित भएको देखिन्छ। हाम्रो गाउँले परम्परा अनुसार माथिल्लो गरोमा जस्तो पानी झारिन्छ, उस्तै पानी अरु सबै गरोमा जाने गर्दछ, भनेको जस्तै माथिल्लो गरो नै यहाँ दूषित भएको हुनाले अरु सबै अंगहरू, अवयवहरू पनि प्रदूषित भएका छन्। ग्रामीण जीवनमा अझै पनि आर्थिक सदाचार देखिन्छ, अझै पनि दूरदराजका गाउँहरूमा त्यहाँको संस्कृति, त्यहाँको संस्कार, त्यहाँको सामाजिक रहनसहन, चालचलन आदिमा अहिले पनि आर्थिक सदाचार देखिन्छ; आर्थिक सद्भाव देखिन्छ; एक अर्काप्रतिको समन्वयात्मक भाव देखिन्छ। त्यसलाई हामीले आशाको बिन्दुका रूपमा मान्नुपर्छ। ती व्यक्ति जसलाई हामीले अशिक्षित भनेका छौँ, नजान्ने भनेका छौं, राज्य सञ्चालनका लागि कतै कुनै प्रत्यक्ष भूमिका नभएको भनी बेवास्ता गरेका छौं। वास्तवमा आज फेरि समय आएको छ हामीले उनीहरूबाट नै सिक्ने र उनलाई नै राज्य सञ्चालनको, निर्माणको मूलधारमा लिएर आउने। हे ग्रामदेवता! तुझ को मेरा कोटीकोटी प्रणाम भनेर कुनै हिन्दी कविले गायन गरेको पनि हामीले सम्झना गर्नुपर्ने हुन्छ। यसैगरी हाम्रा विभिन्न कर्मकाण्डका प्रसंगहरूमा पण्डितज्यूहरूले ग्रामदेवताभ्यो नमो नमः, स्थानदेवताभ्यो नमो नमः भनेर स्थान देवतालाई नमन गरेको जस्तै हामीले पनि स्थान देवताका प्रतिनिधि, ग्राम देवताका प्रतिनिधिस्वरूप रहेका ग्रामीण जनतालाई फेरि अगाडि ल्याएर, देवता मानेर साथै महान् स्वामी विवेकानन्दले मूर्खदेवो भव, दरिद्रदेवो भव भनेको जस्तै उनलाई नै आदर्श मानेर, हाम्रो नेपालका सम्पूर्ण आर्थिक सदाचारका प्रसंगहरूलाई अगाडि बढाउनुपर्ने हुन्छ। यसमा हामी सबैको संकल्प हुनुपर्छ। पहिलो त शिर नै स्वच्छ हुनुपर्यो। जसरी पानीको मुहान नै स्वच्छ हुनुपर्छ त्यसै गरेर सबै नेतृत्व वर्ग नै शुद्ध हुनुपर्छ।
नेपालमा आर्थिक सदाचार नहुनुका जिम्मेवार तत्त्वमा धेरै आयामहरू हुन सक्छन्- पहिलो आयाम पारिवारिक संस्कार, दोस्रो आयाम विद्यालयबाट पाइने शिक्षा, तेस्रो आयाम समाजबाट पाइने प्रभाव, चौथो आयाम मिडिया आदिबाट पाइने सूचना र मनोभाव र पाँचौँ आयाम प्रशासनिक जीवनबाट, उच्च पदस्थ व्यक्तिहरूबाट गरिने व्यवहारबाट सिक्ने-सिकाउने कुराहरू। यी सबै कुरालाई क्रमशः व्याख्या विश्लेषण गर्दै जाँदा पारिवारिक संस्कारमै हामी अहिले चुकिरहेका छौं। परिवारमै पनि हामीले बच्चाबच्चीलाई आफू घरमा भएकै बेला पनि कसैको फोन आयो भने छैन भनेर भनिदेऊ अथवा कोही ढोकामा ढक्ढकाउन आयो भने लौ बुबा हुनुहुन्न वा पूजा गर्दै हुनुहुन्छ, आमा हुनुहुन्न, पूजा गर्दै हुनुहुन्छ भनी सिकाउँछौं जब कि भित्र बुवाआमा सुतिरहेका होलान्। यस्ता खालका व्यवहारहरू बुबाले छोराछोरीसँग गर्ने बेलामा, आमाको विरुद्धमा अथवा आमाले बुबाको विरुद्धमा अथवा मान्यजनका बिरुद्धमा घरमै पनि गरिने व्यवहारमा हामीले सदाचारका कुराहरू चुकाएका हुन्छौं। हामीले गलत तरिकाले कमाएर ल्याएको पैसाको बारेमा बढी चर्चा गरेर घरमा एउटा कुसंस्कारको वातावरण सिर्जित गरिरहेका हुन्छौं। त्यति मात्र होइन, गलत तरिकाले ल्याएको अन्नबाटै विशेष प्रकारका आवश्यकता आकांक्षाहरूको परिपूर्ति गर्ने नाममा उल्टै आफ्नो दम्भको प्रदर्शन गरिने कुराहरूले पनि बच्चाबच्चीहरूलाई जसरी भए पनि पैसा कमाउनु पर्दो रहेछ भन्ने कुसंस्कार मिल्ने गर्दछ। यावत् जीवेत् सुखम् जीवेत्, ऋणं कृत्वा घृतं पिबेत् भन्ने खालको भावना उनमा प्रवाहित भइरहेको हुन्छ। यानिकि पैसा कमाउ, जसरी भएपनि मोज गर, संसारमा गलत भन्ने कुरा त केही पनि रहेनछ। आफू बाठो बन्न सक्नुपर्छ, आफू बाठो बन्न सकियो भने सत्यलाई पनि असत्य गराउन सकिन्छ भन्ने खालको पारिवारिक कुसंस्कारबाट नै हामीले वातावरणलाई प्रदूषित बनाइरहेका हुन्छौं। माता शत्रु पिता वैरी येन बालो न पाठितः ती आमा र ती पिता शत्रु हुन् जसले बच्चाबच्चीलाई पढाउँदैनन् भनेर नीतिशास्त्रमा व्याख्या गरिएको छ। मूलतः आमा बुवाले पढाउने भनेको संस्कार हो। संस्कारमा आमाबुबाले बच्चाबच्चीलाई वञ्चित गराइदिए भने जग बिनाको महल कसरी बन्न सक्छ र ? अहिले शिक्षा मनोविज्ञानका हिसाबले पनि संस्कारभन्दा ठूलो कुरा केही छैन भनेर व्यापक चर्चा भइरहेको छ। अतः आजभोलि पश्चिमी मुलुकमा पनि भ्याल्यु बेस्ड एजुकेशन आदिका कुराहरू, अल्टरनेटिभ एजुकेशन, क्यारेक्टर बेस्ड एजुकेशन, एथिक्स बेस्ड एजुकेशन अनेक प्रकारका नामबाट विश्वव्यापी रुपमा अनेकौं प्रकारका अभियान चलिरहेका छन्। ती सबै अभियानले भन्न खोजेको मूल कुरा के हो त ? नयाँ काँचो माटोलाई जस्तोसुकै आकार वा रूप दिन सकिन्छ- यन्नवे भाजने लग्न: संस्कारो नान्यथा भवेत्। अहिले हामीले बच्चाको मन, मस्तिष्कमै नक्कली कुराहरू कोर्दैछौँ भने त्यसैबाट बच्चाको जीवन बिग्रन्छ। तिनै बच्चा भोलि नागरिक बन्ने हुन्, तिनै बच्चा भोलि राष्ट्रका सञ्चालक बन्ने हुन् र उनले बचपनमा पाएको कुसंस्कार जब उनी उच्च पदमा पुग्छन् तब त्यो बेला त्यो कुसंस्कारले आफ्नो भूमिका आफ्नो मूल स्वरुप देखाउन थाल्छ। जुन मनोविज्ञानका हिसाबले अत्यन्तै घातक छ भन्ने कुरा बुझ्नुपर्ने हुन्छ।
यसैगरी विद्यालयहरू पनि आजभोलि शिक्षामुखी मात्र भए, सीपमुखी मात्र भए, संस्कारमुखी हुन सकेनन्। माटो चिनाउने शिक्षा पनि भएन, मुटु जगाउने शिक्षा पनि भएन, राष्ट्रमूलक शिक्षा पनि भएन, नीतिमूलक, संस्कारमूलक, सदाचारमूलक, परिवारमूलक, चेतनामूलक शिक्षा पनि भएन। शिक्षा दर्शनका हिसाबले भन्ने हो भने अपरा विद्या चाहिँ भयो तर परा विद्या हुन सकेन। विद्या चाहिं भयो तर ज्ञान हुन सकेन, शिक्षा चाहिं धेरथोर केही हदमा भयो तर सदाचारको विकास हुन सकेन। सीपमा पनि केवल बोल्ने लेख्ने, नाच्ने, गाउने, सूचना प्रविधिका कुराहरूमा अलिकिति दक्षता हासिल गर्ने कुराहरू मात्रै भए। बहिर्मुखी सीपको मात्रै विकास भयो तर अन्तर्मुखी सीपको विकास हुन सकेन अर्थात् गल्ती गरेको बेलामा क्षमा (सरी) भन्न सक्ने सीपको विकास भएन। आमाबुबालाई सञ्चो नभएको बेलामा तातो पानी खुवाउन सक्ने सीपको विकास भएन। बस चढ्ने बेलामा अथवा कुनै सार्वजनिक क्षेत्रमा लाइन लागेर मात्र आफ्नो कार्य पूर्ति गर्नुपर्छ भन्ने प्रवृत्तिको विकास भएन। केवल प्रदर्शनमुखी, व्यवसायमुखी, जीविकामुखी सीपको मात्रै विकास हुँदा सदाचार हराएको अवस्था सिर्जित हुनपुग्यो।
समाजमा भइरहेका घटनाहरूले पनि मान्छेलाई सदाचारतर्फ प्रेरित हुनका लागि सहायक भूमिका निर्वाह भइरहेको देखिन्न। किनकि समाजमा जो व्यक्ति भ्रष्ट छ, अनैतिक छ, उही नै बारबार उच्च पदमा पुग्ने, उही नै बराबर समाजमा सम्मानित हुने! समाजले गलत कुरा गर्ने मान्छेलाई गलत हो भनेर बहिष्कार गर्नुको सट्टा अझ बढी नमस्कार गरेको देख्दा समाज पनि ठूलाठालुहरूकै, सुकिला मुकिलाहरूकै दबदबामा जाँदा समाजबाट सत्य कताकता हराएको देखिन्छ। त्यसले पनि बाल मनोविज्ञानमा सारै ठूलो प्रभाव पारिराखेको हुन्छ। यसबाट पनि सावधान हुनुपर्नेछ।
यसैगरी राष्ट्रका उच्च पदस्थ कर्मचारीहरूका कुरा आफैंमा झन् डरलाग्दा छन्। उच्च पदस्थ कर्मचारीहरू र नेताहरूले नीतिगत भ्रष्टाचारलाई स्थापित गरेको हुँदा मै खाउँ ! मै लाउँ ! मात्र होइन कि त्योभन्दा पनि माथि उठेर सिंगो देशलाई समेत खाने जस्तो भस्मासुर प्रवृत्तिको विकास भएको देख्दा अत्यन्तै पीडाको अनुभूति हुन्छ। साथै सञ्चार (मिडिया) माध्यमले पनि हल्लालाई नै बढी प्राथमिकता दिएको देख्दा आफ्नो व्यवसाय चलाउनका लागि सत्य र असत्य कुरालाई पूर्णरुपेण पन्छाएको देखिन्छ। केवल आफ्नो मिडिया हाउस चलाउनका लागि बजारमुखी र व्यवसायमुखी कुराहरूमा प्रकाश पारेको देखिन्छ। मिडिया हाउसले बजारमुखी कुरालाई मात्रै सम्प्रेषित गर्दा पनि बाल मनोविज्ञानमा, युवा मनोविज्ञानमा धेरै ठूलो प्रभाव पारेको देखिन्छ। यी सबै कुराले गर्दा अहिले आर्थिक सदाचार घट्दै गएको देखिन्छ।
नेपालमा आर्थिक सदाचार प्रभावकारी रूपमा कायम रहन कठोर कानुनको व्यवस्था आवश्यक छ। कठोर कानुन भन्दै जाँदा दण्ड र पुरस्कारको व्यवस्था पनि होस्। दोस्रो कुरा चाहिँ शिक्षा जीवनपरक होस्, जीविकापरक मात्र नहोस्, शिक्षा केवल पैसा, पद, प्रतिष्ठाको लागि नभईकन शिक्षामा मातृभक्ति, पितृभक्ति, गुरुभक्ति, ईश्वरभक्ति, राष्ट्रभक्ति पञ्चाङ्ग भक्ति अनिवार्य होस्। त्यसतर्फ पनि हामीले अत्यन्तै सावधानी अपनाउनु पर्ने हुन्छ। साथै आर्थिक सदाचारको लागि संसारमा प्रयोगमा ल्याइएका राम्रा अभ्यासको उपयोग गरिनु पर्छ। नेपालमा पनि खुला मनले ठूला चिन्तनले हामी रूढीवादी भन्दा पनि व्यवहारवादी बन्न सक्नुपर्छ। समय सापेक्ष तरिकाले युगान्तकारी निर्णय गर्न सक्ने उच्च साहस हामीले गर्न सक्नुपर्छ। नातावाद कृपावादभन्दा माथि उठेर राष्ट्रदेवो भव हामीले भन्न सक्नुपर्छ। हाम्रा पुर्खाहरूले स्वं स्वं चरित्रं शिक्षेरन् पृथिव्यां सर्वमानवाः सारा पृथ्वीका मानवलाई आफ्नो चरित्रको माध्यमद्वारा शिक्षा देऊ भनेर आदेश, उपदेश गरेका थिए, त्यस कुरालाई पुनः हामीले संस्मरणमा र अभ्यासमा ल्याउन सक्नुपर्छ। हाम्रा पूर्खा र ऋषिहरूले आचारः परमो धर्म: भनी घोषणा गरेका थिए। त्यो सदाचारलाई केवल पाप पुण्यको कुनै काल्पनिक प्रसंगभन्दा पनि दैनिक जीवनको यथार्थसँग हामीले जोड्न सक्नुपर्छ। कानुनका दृष्टिले सबै समान छन् तर जातीय, समुदाय, सम्प्रदाय, क्षेत्र, नाता, परिवार आदि छुट्टिनु हुँदैन। कानुनका दृष्टिले दण्डित गर्ने हो वा पुरस्कृत गर्ने हो ? त्यसमा कुनै पनि प्रकारको सम्झौता नगरिकन कठोर निर्णय गर्न सक्ने हिम्मत हामीले गर्न सक्नुपर्छ।
हाम्रा स्मृतिहरूमा हाम्रा शास्त्रहरूमा सदाचारको मार्गलाई भुलेर अनाचारको बाटोमा लागेकाहरुलाई दण्डित गरिएकै छ। सदाचार भुल्ने गुरु द्रोणाचार्य आफ्ना चेलाहरूद्वारा दण्डित भएका छन्। यसैगरी सदाचारलाई साथ नदिने, पाण्डवलाई साथ नदिने भीष्मपितामह समेत आफ्नै नातिहरुद्वारा दण्डित भएका छन्। सदाचारको तराजुमा एकातिर मात्र सत्य हुन्छ, मात्र न्याय हुन्छ, मात्र धर्म हुन्छ। त्यसको विरुद्धमा उभिएको पितामह होस्, चाहे गुरु होस्, चाहे आफ्ना बन्धुबान्धव हुन्, जो हुन्, ती सबै दण्डित हुनुपर्छ भन्ने खालको कठोर निर्णयमा पनि हामी स्पष्ट भएर जानुपर्ने हुन्छ।
नेपालमा प्रजातान्त्रिक एवं दलीय अभ्यासको नाममा विदेशीहरूबाट विभिन्न रूपबाट हस्तक्षेप भइरहेको छ। दलीय अभ्यासलाई दलगत स्वार्थमा परिणत गरेर नेपालका जाति, भाषा, समुदाय, सम्प्रदाय आदिका समृद्धिलाई झन् संकीर्ण रूपमा परिभाषित गरी एकअर्का बीचमा झगडा गराइदिने र अनावश्यक तरिकाले स्वार्थका कुरा, व्यक्तिवादका कुरामा जोड्ने काम भएको छ। एकअर्काप्रति जुन अविश्वासको विकास भइरहेको छ त्यसलाई हामीले निरुत्साहित गर्नुपर्ने बेला आएको छ। यस राष्ट्रमा राष्ट्रप्रेमको, नेपाली माटोको टीका लगाउन सक्ने हिम्मत हामीले गर्नुपर्छ किनकि हाम्रो वेदमा नेपाल देव देवेशि साधकानाम् सुसिद्धिदः भनेर व्याख्या गरिएको छ। पुराणहरूमा कलौ नेपालिका पुरी भनेर व्याख्या गरिएको छ। नेपाल आमाको जय जयकार गर्नुभन्दा वा नेपाल आमालाई नमस्कार, प्रणाम, सम्मान, संरक्षण गर्नुभन्दा अर्को कुनै ठूलो धर्म छैन, पुण्य छैन, नेपाली माटोको टीका भन्दा अर्को कुनै पवित्र टीका छैन। मेची, कोशी, कालीगण्डकीको जलभन्दा अर्को कुनै पवित्र जल छैन भन्ने विश्वास र स्वाभिमानको विकास हामीले गर्न सक्नुपर्छ। हाम्रो नेपालमा कुनै राम्रा कार्य वा अभ्यासहरु हाम्रा पुर्खाहरूले गरेका थिए भने त्यो राम्रो अभ्यासलाई हामीले स्वीकार्न सक्नुपर्छ। किनकि हाम्रो नेपाल भनेको त राजपाट समेत त्यागिदिने बुद्धको पूजा गर्ने देश हो। आज हामीले के कस्तो नीच कर्म गरिरहेका छौं ? यसतर्फ हामी सावधान बन्नुपर्छ । हाम्रो नेपाल भनेको त प्रजाको हितका लागि राजाले समेत हलो जोत्ने राजर्षि जनकको इतिहास हो तर हामी यहाँ आफ्नो कुर्सी बचाउनलाई आज जनतामाथि जोतिरहेका छौं।
पृथ्वीनारायण शाहको घुस लिन्या र दिन्या दुवै देशका शत्रु हुन् भन्ने स्पष्ट उपदेशलाई भुलिकन आज हामी लिने र दिनेहरूलाई नै बाठो, सम्मानित र सफल व्यक्तिका रूपमा चित्रण गरिरहेका छौं। यहाँ सिद्धरत्ननाथ जस्ता महासिद्धहरूले आफ्नो सिंगो राज्यलाई परित्याग गरेर गोरखनाथको आदेश, उपदेश लिएर गोरक्षयोग दर्शनलाई विश्वव्यापी रूपमा प्रचार गरेका कैयौं यस्ता प्रसङ्गहरु छन् । त्यस्ता सिद्धहरुको बुद्धहरूको ऋषिहरूको रिम्पोछेहरुको यो वैदिक सनातन आर्ष भूमिकालाई सुन्दर प्रसंगहरुलाई हामीले हाम्रो शिक्षाको मूल अंग बनाउनु पर्छ। हाम्रो सामाजिक जीवनको राष्ट्रिय जीवनको मूल आदर्श बनाउन सक्नुपर्छ। त्यसप्रति प्रतिबद्ध भएर मात्रै राज्य सञ्चालनको आफ्नो भूमिकामा हामी अगाडि बढ्नु पर्छ।
पूर्वीय/पौरस्त्य कालमा पर्याप्त मात्रामा आर्थिक सदाचार कायम थियो थिएन भन्ने सन्दर्भमा मलाई के लाग्छ भने पहिले पहिलेको हाम्रो समाजमा सदाचारका केही पक्षहरू कतै स्खलित भएका घटना र प्रसंगहरू पनि छन्। तर जहाँसम्म आर्थिक सदाचारको कुरा छ, हाम्रो पूर्वीय वाङ्मयमा धेरै मानेमा त्यसको परिपालन गरीएको पाइन्छ। आर्थिक सदाचार बाहेक अरु प्रसंगमा भने नैतिकतासँग, यौनजन्य सम्बन्धसँग अथवा अन्य कुनै राज्य सञ्चालनका प्रसंगहरूसँग अथवा अरु विभिन्न प्रकारका स्वार्थसँग टकराव भएर युद्धहरू भएका कैयौँ प्रसंग हामी पाउँछौँ। चाहे त्यो रामायणकालमा रावणले सीताको अपहरण गरेको प्रसंग होस्, चाहे त्यो महाभारतकालमा कौरवले पाण्डवमाथि गरेको अन्यायको प्रसंग होस्, चाहे त्यो अन्य कुनै स्मृतिकालमा कुनै ऋषिहरूले अथवा देवताहरूले समेत पनि आफ्नो व्यवहारमा कतै कुनै त्रुटि देखाएको प्रसङ्ग होस्। तर इन्द्र र देवताहरू समेत स्खलित भएका बेलामा दण्डित भएका सदाचारका विभिन्न प्रसंग र ज्वलन्त उदाहरण हामी पाउँछौं। तथापि हाम्रो पूर्वीय समाजमा, हाम्रा पौरस्त्य शासन प्रशासनका प्रसंगहरुमा आर्थिक सदाचारको पक्ष भने तुलनात्मक रूपेण अन्य पक्षहरूको तुलनामा शक्तिशाली थियो। त्यो बेलामा आर्थिक समस्या व्यक्तिको लागि, समाजका लागि, परिवारको लागि ठूलो समस्या थिएन । साथै त्यो पापको कारण थियो अथवा आर्थिक पक्षलाई त्यो बेलाको समाजले धेरै ठूलो महत्त्व नदिने चलन पनि थियो।
पैसाको आधारबाट मात्रै मान्छेको मूल्याङ्कन हुने जुन आधुनिक परिपाटी आएको छ, सोसल प्रेस्टिजको जुन एउटा कुप्रचलन अहिले आएको छ त्यो बेला त्यति थिएन कि ? किनकि त्यहाँ जोगीहरूले सम्मान पाएकै थिए, भिक्षुहरूले स्वामीहरूले सम्मान पाएकै थिए। जोगीकै आशीर्वादबाट राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले राज्यको एकीकरण गरेका हुन्। जोगीहरूले नै फेरी लगाएर राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई एकीकरणको प्रसङ्गमा सहयोग गरेका हुन्। भिक्षु, साधु, स्वामी, संन्यासीहरूले पनि विभिन्न ठाउँमा परिभ्रमण गरेर विभिन्न प्रकारले जनताहरूलाई ज्ञान, ध्यान आदिका प्रसङ्गहरू, शिक्षादीक्षा आदेश उपदेशहरू गर्दै आएका कुराहरू प्रशस्त मात्रामा देखिन्छन्।
सायद लाग्छ, हिजोको जीवनमा मानिसहरू आर्थिक प्रसंगमा ज्यादै लालायित थिएनन् कि ? अहंकारका कारणले, स्वार्थका कारणले वा अन्य अन्य वासनाका कारणले एक अर्कासँग टकराव हुने, व्यक्ति व्यक्तिका बीचमा अथवा समूहका बीचमा वा जातिका बीचमा वा राज्यका बीचमा त्यस्ता प्रसंग धेरै देखिए तापनि आर्थिक प्रसंग भने सायद तुलनात्मक रूपमा राम्रै थियो। त्यसमा पनि नेपालमा चाहीँ अझ राम्रोसँग अभ्यास भएको थियो होला भनेर हामीले अनुमान गर्न सक्छौं। बिसे नगर्चीले दिएको १ रुपैयाँबाट नै पृथ्वीनारायण शाहले राज्य सञ्चालनका लागि सैनिक सशक्तिकरणका लागि ठूलो बल पाएको, वनारसमा गएर युद्ध सामग्री आदि इत्यादि किनेर अंग्रेजहरूसँग लडेका कुरा पनि हाम्रोसामु एउटा ठूलो दृष्टान्तको रूपमा रहेको छ। नीतिकारहरूले योsर्थे शुचिः स: हि शुचिः भनेर जुन आर्थिक पवित्रता नै सबैभन्दा ठूलो पवित्रता हो भन्ने कुरालाई स्वीकार गरेर जीवन निर्वाह गरेका पनि कैयौँ सुन्दर प्रसंगहरू छन्। हाम्रा चाडवाड दशैं, तिहार लगायत हाम्रा एकादशी, पूर्णिमा आदि अनेकौं प्रकारका तिथिहरूमा पनि दान धर्म छ। बाल्यकालदेखि नै अभ्यास गर्दै आएको हुँदा मान्छेमा सेवा वृतिको बढी विकास भएको हो कि ? पैसा प्रतिको लोभ अलि कम भएको हो कि ? भन्ने खालका कुरालाई मान्न सकिन्छ।
पूर्वीय अथवा पौरस्त्य कालमा अन्य जेसुकै भए नि आर्थिक सदाचारको मूल आधार मजबूत थियो, शक्तिशाली थियो भन्न सकिने अवस्था छ। पूर्वीय पौरस्त्य कालमा व्यवहारात्मक र आचरणगत रुपमा आर्थिक सदाचार पाउन सकिन्छ। राजर्षि जनकको रामायणकालको प्रसङ्गमा जग्गा बेचिसकेपछि र जग्गा किन्ने मान्छेले हलो जोत्ने बेलामा त्यहाँ जग्गाको मुनि कतै सुनको खजाना वा कुनै घडा पाएपछि पुरानो जग्गाधनीलाई- यो सुनको घडा त तिम्रो हो ? मैले त जग्गा मात्र किनेको हुँ, सुन किनेको होइन- भनेर ऊ पुरानो जग्गाधनीलाई सुनको घडा फिर्ता गर्न जान्छ। अनि त्यो जग्गाधनीले पनि- होइन, मैले तिमीलाई जग्गा बेचें, जग्गा बेचेपछि जग्गाभित्र के के छ, जग्गामाथि के के छ, जग्गामा के फुल्छ, के फल्छ, भित्रबाट के उम्रन्छ, बाहिरबाट के फल्छ ? त्यो सबैमा तिम्रो अधिकार छ। अब त मैले जग्गा बेचिसकें, म यसको भागिदार होइन। यसरी राजाकहाँ केस पुगेको कैयौं पौराणिक कथाहरू हामीले सम्झनु पर्ने हुन्छ।
यसैगरी हाम्रो बुबाहरूको पालामा समेत खलियानमा रातिको बेलामा धान ल्याइसकेपछि रातभरि पालो दिने, पाले बसेर सेवा गर्नुपर्ने व्यवस्था थियो। तर बुबाको भनाई अनुसार सुरक्षा दिने बेलामा धानको भारी सबै खलियानमा ल्याइसकेपछि रातभरि बसेर पालो दिन्थ्यौँ, सुरक्षा गर्थ्यौं, तर त्यो सुरक्षा दिनुको कारण चाहिँ हाम्रो धान हाम्रो खलियानबाट कसैले चोरिदेला भन्ने डर होइन कि हाम्रो धानमा, हाम्रो खलियानमा कसैले आफ्नो खलियानबाट धान मिसाइदेला र उसको पाप हामीले खानुपर्ला भन्ने थियो। त्यसरी मान्छे सावधान हुने चलन थियो, हामीले पनि त्यसरी अभ्यास गरेका हौं भनेर हाम्रो बुबाले सुनाएको मलाई अझै पनि याद आउँछ। गीतामा भुञ्जते ते त्वघं पापा ये पचन्त्यात्मकारणात् आफ्ना लागि मात्र आफै पकाएर जसले भोजन गर्छ उसले भोजन ग्रहण गरेको होइन अपितु पाप ग्रहण गरेको हो भनेर व्याख्या गरिएको छ। पौरस्त्य जीवन दर्शन अनुसार जुन गृहस्थले देवयज्ञ, ऋषियज्ञ, पितृयज्ञ, भूतयज्ञ र अतिथियज्ञ पाँचवटा यज्ञ दैनिक गर्दछ, उसको जीवनमा कतै पनि कुनै पनि ठाउँमा भ्रष्टाचार होला वा आर्थिक सदाचारमा कमी होला भनेर कदापि सोच्न सकिंदैन।
रामायणको प्रसंगलाई आधार मान्ने हो भने रावणले गलत गरेको बेलामा विभीषणले रावणलाई परित्याग गरेकै हुन्। मन्दोदरीले पनि रावणलाई- तिमीले गलत गर्दैछौं हे नाथ- भनेर बारम्बार सम्झाएका प्रसङ्ग पनि छन्। यहाँसम्म कि रावणका पुत्र मेघनाथ लगायत रावणका भाइ कुम्भकर्ण आदि सबैले हजुरबाट जे निर्णय हुँदैछ, जे व्यवहार हुँदैछ, गलत हो भनेर बारम्बार भनेका छन्। अन्त्यमा सबैले- बरु लंका जलेपनि जलोस् तर लंकाको स्वाभिमानका लागि हामी लड्छौं, दाइको आज्ञापालन गर्छौं भनेर नुनको सोझो गर्नका लागि दाइको आज्ञापालन गर्नका लागि बरु हामी पापको भागी पनि बन्न तयार छौं- दाइलाई भने। यसले के देखाउन खोजेको छ भने वास्तवमा महाजनो येन गतः स पन्थाः महाजन जुन बाटो गए त्यही बाटोमा हामी जाने हो। किनकि श्रुति स्मृति पनि धेरै छन्, ऋषिहरू पनि धेरै छन्, शास्त्रहरू पनि धेरै छन्, त्यहाँ प्रतिपादन गरिएका दर्शनहरू सिद्धान्तहरू आदि पनि धेरै छन्। अब ती मध्ये कुन चाहिँको अनुसरण गर्ने भनेर छुट्याउन ज्यादै नै गाह्रो हुन्छ। त्यसकारण अन्त्यमा ऋषिहरूले सल्लाह दिए- महाजनो येन गतः स पन्थाः आफूभन्दा श्रेष्ठ व्यक्ति जुन बाटो गए हामी पनि त्यही बाटो जाने हो। अब यहाँनेर महाजन हामीले पाउन सकेनौं भने समाजै नष्ट भएर जान्छ। रावण राजा बन्न सक्यो तर वास्तवमा महाजन बन्न सकेन। अग्रज बन्न त बन्यो तर सिंगो लंका ध्वस्त भएर गयो। अब हामीले महाजन खोज्नुपर्ने हुन्छ। त्यो महाजन भनेको नेपालको सन्दर्भमा स्वर्गद्वारी महाप्रभु, बालागुरु षडानन्द, महाकवि लक्ष्मीप्रसाद देवकोटा आदि; घर पुग्ने बेलासम्म तलब पनि छैन ! कोट पनि छैन ! वर्षभरि जागिर खादा पनि वर्षभरि कविता कोरे तापनि, शिक्षामन्त्री जस्तो उच्च पद हासिल गरे तापनि, मर्ने बेलासम्म दालभात, डुकुकै गीत, कविता लेख्नुपर्ने।
अब हामीले नै महाजन खोजी गर्नुपर्छ ? सिद्ध रत्ननाथ, कविशिरोमणि लेखनाथ पौडेल, खप्तड बाबा, शिवपुरी बाबा जस्ता महाजनको हामीले अनुसरण गर्नुपर्ने हो कि ? अंग्रेजहरूले पठाएको शान्ति, सम्झौता र घुसलगायत अन्य प्रकारका प्रलोभनका चिट्ठीहरूलाई लत्याएर च्यातेर थुथु गरेर- म बाघको डमरु हुँ, मलाई सिनो खाने कुकुर नसम्झ ! अमरसिंह थापा जस्तो महाजनलाई हामीले सम्झनु पर्ने हो कि ? नेपाली कलाको विकास गरेर सारा विश्वभरि नेपाली मान स्वाभिमानलाई कायम राख्ने अरनिको जस्तो महाजनलाई हामीले सम्झनु पर्ने हो कि ? युद्धकालमा अङ्ग्रेजले अनेकौं प्रकारका प्रलोभन, अनेकौं प्रकारका धम्की दिने बेलामा पनि आफ्नो देशको लागि तोपका सामु छाती थापिदिने ७० वर्षका बूढा पनि बाघ जस्तो कुर्लने भक्ति थापालाई सम्झनुपर्ने हो कि ? राणाहरूले अनेक प्रकारले सम्झाउँदा पनि, फकाउँदा, थर्काउँदा पनि पटक्कै विचलित नहुने सहिद शुक्रराज शास्त्री, जसले स्वर्गको दरबार भन्ने किताब समेत लेखे नेपालको बारेमा, त्यस्तालाई सम्झनु पर्ने हो कि ? जेलमा बसेर पनि आफ्नो अडान आफ्नो सिद्धान्त नछाड्ने बरु जेलमै बस्छु आत्मचिन्तन गर्दै अध्यात्म र निष्ठाका साथ जीवन बिताउँछु भनेर रामायण समेत रचना गर्न भ्याउने आदिकवि भानुभक्त आचार्य जस्ता महाजनलाई सम्झनुपर्ने हो कि ? नेपाली माटोले यस सानो भूभागमा पनि अनेकौ प्रकारका यस्ता महाजन पाएको छ ती महान कुराहरू, महान् आदर्शहरू, महान चरित्रहरूलाई हामीले सम्झन सक्यौँ भने फेरि हाम्रो समाजको समुन्नति तर्फ अगाडि बढ्न सक्छौं।
नेपालमा पर्याप्त मात्रामा नीति ऐन नियम छन् तर पत्रपत्रिकामा विभिन्न सञ्चार माध्यमहरूमा र सामाजिक सञ्जालहरूमा त्यस्को प्रभावकारी रुपमा कार्यान्वयन नभएको हो कि भन्ने यदाकदा सुन्ने, देख्ने, लेखेको पढ्न पाइन्छ। नेपालमा आर्थिक सदाचार कायम राख्ने पर्याप्त र प्रभावकारी नीति ऐन नियम छन्। तर कानुनभन्दा ठूलो कुरा चेतना हुँदो रहेछ। अहिले नेपालमा विभिन्न कारणले गर्दा चेतनाको स्तर खस्कँदो छ। संस्कारको कमीले, सामाजिक प्रभावले, सायद हाम्रो मेकाले शिक्षा नीति भएका कारणले तथा हाम्रो भूराजनीतिक वातावरणले पनि हामीलाई सदाचारको मार्गमा टिक्नलाई बल पुगेन। विदेशी हस्तक्षेपले गर्दा होस् वा विदेशीको जस्तै लालसापूर्ण वासनापूर्ण जीवन बिताउनका लागि प्रेरित भएको कारणले होस् अहिले हाम्रो चेतनाको स्तर गिर्दो छ। कानुनमा पनि अब सामान्य कानुनले पुग्दैन, हामीलाई कठोर ऐन, कानुन, नीति, नियमको आवश्यकता परेको छ। साथै त्यसलाई परिपालन गरिदिने, सुसञ्चालन गरिदिने र सुव्यवस्थापन गरिदिने नेतृत्व वर्ग, शासक वर्ग चाहिएको छ।
नेपालमा नीतिगत भ्रष्टाचार लगायतका डरलाग्दा समस्याहरू देखिएका छन्। अहिले जो रक्षक हो उही नै भक्षक भएको छ। भक्षकहरूले राज्य गर्ने बेलामा, दुर्योधनहरूले हुँकार गर्ने बेलामा, शकुनीहरूले पासा चलाउने बेलामा, भीष्म र द्रोणाचार्यहरूले मौन साध्ने बेलामा कसरी समाजमा स्वस्थ वातावरणको, सदाचारको हामीले आशा गर्ने ? दुर्योधनले जानाम्यधर्मम् न च मे निवृत्तिः जस्तै अहिलेको अवस्था छ। त्यसकारण अहिले नीति, नियम, ऐन कागजी रूपमा मात्र पाउछौं। किनकि हाम्रा नेताहरूमै प्रतिबद्धताको अभाव भयो । हाम्रो भूराजनीति पनि अप्ठेरो सावित भयो। प्रत्यक्ष विदेशी हस्तक्षेप पनि भ्रष्टाचारको मलजलका लागि बढी सहायक सिद्ध भयो। त्यसले गर्दा यहाँ केवल जनताका लागि नियमहरू बनेका छन्, केवल राज्यलाई लुट्नका लागि नीति, नियमहरू बनेका छन्, केवल घुम्ने मेचमाथिको अन्धो मान्छेलाई, लङ्गडो मान्छेलाई, अपाङ्ग मान्छेलाई, दुष्ट मान्छेलाई, फेरि बारम्बार मन्त्री बनाउनका लागि नीति नियम बनेका छन्।
नेपालको विद्यमान सार्वजनिक प्रशासनमा आर्थिक सदाचार कायम गर्ने तर्फ जाने हो भने हामीले सकारात्मक भएर सोच्नुपर्छ। आर्थिक सदाचारको बारेमा हामी सकारात्मक हुन सकेनौं भने कसरी प्रगतिमा बढ्न सक्छौं ? तर आर्थिक सदाचार राष्ट्रिय सन्देश बन्न सकेको छैन। विभिन्न मन्त्रालयहरूमा चाहे त्यो नासु सरहको कर्मचारी होला वा सचिव स्तरको कर्मचारी होला, उनले आफ्नो कानुनी मापदण्डभित्र रहेर सदाचारका लागि गरेका राम्रा अभ्यास र अडानका प्रसङ्गहरू आज हाम्रो राष्ट्रिय मार्गदर्शक सूत्रका रुपमा, सिद्धान्तका रुपमा हामीले त्यसलाई व्याख्या गर्न सकिरहेका छैनौँ। यहाँ मिडियाको केही कमजोरी छ, सचेत नागरिक भूमिकाको कमी छ। राज्य व्यवस्थापन सञ्चालन नीति नै राम्रा कुरालाई उजागर हुन नदिने, नराम्रा कुराहरूको मात्रै हालीमुहाली रहने अवस्थाले गर्दा यस्तो भएको हो। राज्य सञ्चालनका, प्रशासन सञ्चालनका यस्ता कैयौं प्रसंगमा अझै पनि कयौं कुराहरूलाई सुधार गर्न सक्छौं। तर सदाचार आदिको प्रसङ्गमा सुधार गर्ने बेलामा ठूला कुराभन्दा पनि स-साना कुरालाई अझ बढी महत्त्व दिनुपर्ने हुन्छ।
आजभोलि पश्चिमी मुलुकमा समेत पनि स्मल इज ब्युटिफूल भन्ने कन्सेप्टलाई अगाडि बढाउँदै ल्याइएको छ। कतै रिसेप्सनिस्ट , पाले, पिउन, ड्राइभर आदि भन्ने पद होलान्। यस्ता खालका पदहरूलाई हटाएर केही व्यवस्थापन गर्दा राज्यको दुरुपयोग बच्ने पो हो कि ? जसलाई गाडी चढ्न मन लाग्छ आफै किन नचलाउने ? जसलाई दिउँसो अफिसमा बस्दा चिया खान मन लाग्छ, तातोपानी खान मन लाग्छ, उसले आफ्नो लागि चियाको व्यवस्था आफ्नो कोठामा आफै किन नगर्ने ? यति मात्र पनि गर्न सकियो भने हाम्रो प्रशासनिक खर्चमा सजिलैसँग केही खर्च घटाउन सक्छौं। विदेशतिर गाडी चढ्न चाहने हाकिमले गाडी आफैँ चलाउँछन्। चिया खाने हाकिमले चियाको व्यवस्था आफै गर्छन् र कुनै पनि ढोकामा पाले, रिसेप्सनिस्ट पिएको व्यवस्था हुँदैन। अहिलेको मिडिया आइटी डिजिटल टेक्नोलोजीको जमानामा आकाशै छुने गरी छलाङ मारिरहेको बेलामा पनि हामीलाई पिए चाहिन्छ; अझ दुई तीन जना पिए चाहिने; जसको सम्पूर्ण खर्च राज्यले बोक्नुपर्ने। यस्ता कैयौं कुराहरू छन्। कर्मचारीले विदेशीहरूसँग तुलना गर्ने हो भने १० बजेको अफिस छ भने बिहान ८ बजे पुग्ने गरेको यस्ता कैयौं देशहरू छन्; आफूले पाएको जिम्मेवारी ५ बजे सकिएन भने बेलायत र जापानमा ७ बजेसम्म पनि सजिलोसँग बस्ने गरेका उदाहरण छन्।
देश आर्थिक रुपमा जर्जर भइरहेको बेलामा के हामी मात्र १ घण्टा अतिरिक्त दिन सक्दैनौं ? यदि कर्मचारीहरूले १ घण्टा मात्र पनि अतिरिक्त श्रम दिए देशको कहालीलाग्दो आर्थिक अवस्थाबाट देशलाई बचाउन सकिन्छ। राष्ट्रदेवो भव भनेको के हो त ? वयं राष्ट्रे जागृयामः भनेको के हो त ? देशलाई दिनुपर्छ, देशको सेवा गर्नु पर्छ। नेपाल आमाको जय भनेको के हो त ? नेपाल भनेको त ईश्वरले बनायाको ४ किल्ला रहेछ भन्ने दिव्य उपदेशलाई बुझ्यौ त ? मेरा साना दुःखले आर्ज्याको मुलुक होइन, सबैलाई चेतना भया, के हामीलाई साँच्चिकै चेतना भएको हो त ? राज्य सञ्चालनका लागि माथिल्लो स्तरबाट नीतिनियम मात्रै बनाएर समस्याको समाधान हुने हो ? वा प्रत्येक व्यक्तिले आफ्नो स्तरबाट देशका लागि म दैनिक १/२ घण्टा अतिरिक्त काम गर्न तयार छु भनेर आफ्नो समयलाई अत्यन्तै इमान्दारितापूर्वक समर्पण गर्ने हो ? वेदमा त्यागेनैके अमृतत्वमानशुः अर्थात् त्यागद्वारा अमृत तत्त्व प्राप्त भई अमरता प्राप्त गर्न सकिन्छ भन्ने कुरा स्पष्ट भनेको छ। हामीले देशका लागि त्याग गर्न सकेनौं। अवकाशपछि पनि एकातिर सरकारको भत्ता खाने अर्कोतिर फेरि परामर्श सेवामा जाने। सरकारबाट भत्ता पाइरहेको मान्छेले अर्को ठाउँमा कन्सल्टेन्सी पनि गर्न पाउँछ कि पाउँदैन ? वैदेशिक रोजगार वा कुनै आयोग आदिको उच्च पदमा पाइने रोजगार सुविधाका बेलामा भत्ताको निरन्तरता गर्न पाइन्छ र ?
६० वर्ष सरकारको नियमानुसार अवकाशको समय तोकियो। हाम्रो पूर्वीय जीवन व्यवस्था ५० वर्ष पछि वानप्रस्थ आश्रम सुरु हुन्छ। तर नेपालको प्रशासनिक संरचना व्यवस्था अनुसार ६० वर्षपछि आश्रमको व्यवस्था गरियो। ६० वर्षपछि पनि जिन्दगीभरि भत्ता पनि खाने अनि विभिन्न प्रकारको परामर्श सेवा चलाएर पैसा पनि खाने; देश विदेशमा राजदूत आदि जस्ता अन्य कुनै उच्च पदमा बसेर मोज पनि गर्ने। यहाँ कहाँनेर इमानदारिता भयो त ? नमरुन्जेल पद र पैसा खोज्नेवालाहरू पनि अपराधी हुन् कि होइनन् ? चाहे राजनीतिक क्षेत्रका हुन् वा प्रशासनिक क्षेत्रका हुन्, चाहे धार्मिक शैक्षिक क्षेत्रका। मेरो त जोगीका नाताले स्पष्ट घोषणा छ – नमरुन्जेल जसले पद खोजिराख्छ, पैसा खोजिराख्छ, प्रतिष्ठा खोजिराख्छ, त्यो व्यक्ति पनि आफैंमा अपराधी हो, राष्ट्रघाती हो।
नेपालको सार्वजनिक प्रशासनमा राष्ट्रिय सदाचार नीति आवश्यक छ छैन ? भन्ने सन्दर्भमा सदाचार नीति राष्ट्रियस्तरमा ल्याउनै पर्छ। त्यसमा कतै कुनै हामीले विवाद गर्नु हुँदैन। आर्थिक सदाचारका लागि आर्थिक इमान्दारिता र पारदर्शिता अत्यावश्यक छ। जबसम्म प्रशासनिक क्षेत्रको नेतृत्व वर्गले, राजनीतिक क्षेत्रको नेतृत्व वर्गले, सामाजिक क्षेत्रको नेतृत्व वर्गले राष्ट्रिय सादाचार नीतिको परिपालनाका लागि आफूलाई समर्पित गर्न सक्दैन, ऊ नेतृत्व वर्गमा किन आउने ? अन्य व्यवसाय गरे हुन्छ नि। व्यापार गरे हुन्छ नि। पैसा नै जसको जीवनमा प्रमुख छ, पैसालाई नै जसले जीवनमा आफ्ना सबैभन्दा मूलस्रोत र मूलआधार मान्छ, उसले गर्ने ठाउँ त थुप्रै छन् नि। त्यो व्यक्ति राजनीतिक क्षेत्र सामाजिक क्षेत्र वा प्रशासन क्षेत्रको नेतृत्वमा किन आउने ? नेतृत्वमा आएर पनि गलत गर्ने व्यक्तिहरु अपराधी हुन्। त्यस्तालाई कठोरभन्दा कठोर कानुनद्वारा दण्डित गर्नैपर्छ। त्यसमा कतै कसैले कसैप्रति पनि दया र संवेदनशीलता देखाउनु हुँदैन।
नेपालको सार्वजनिक पदका लागि पदाधिकारीहरूमा उच्च नैतिक चरित्र अत्यावश्यक छ। उच्च नैतिक चरित्र नहुँदा नै यहाँ रावण प्रवृत्ति बढेको छ, भष्मासुर प्रवृत्ति बढेको छ। स्वार्थी प्रवृत्ति, व्यक्तिवादी प्रवृत्ति, नातावाद, कृपावाद आदि बढेको छ। विदेशीहरुप्रतिको लम्पसारवाद र समर्पण भाव बढेको छ। राष्ट्रिय कर्तव्य र दायित्वबाट पलायन बढेको छ। व्यक्तिगत रुपमा निराशा र खिन्नता बढ्दो छ र प्रसन्नता र आशा गिर्दो छ। उच्च पदस्थ व्यक्तिहरूमा नै देशलाई बचाउन/बदल्न सकिन्छ भन्ने संकल्पको अभाव देखिन्छ।
गाउँमा गाउँलेहरू भने अद्यापि अलिकति कुलो मात्र पाए त यहाँ राम्रो खेती गर्ने थिएँ, गाउँलाई हराभरा बनाउने थिएँ भनेर आशामा बसेका देखिन्छन्। यहाँ एउटा बाटो मात्र पनि आइदिएको भए हाम्रो आफ्नो तरकारी बजारसम्म पुर्याउने थिएँ; छोराछोरीलाई पढाउने थिएँ, कस्तो आनन्दको सुखी जीवन बिताउने थिएँ भनेर अझै पनि आशामा, उत्साहमा बाँचिरहेका देखिन्छन्। आज पनि गाउँघरका मानिसहरू हामीले उमारेको तरकारी, फलफूल कतैबाट कुनै स्तरबाट व्यवस्थापन भए र बजारसम्म मात्र पुर्याउन पाए, हामीले पसिना बगाएर भएपनि जीवन निर्वाह गर्ने थियौँ। यहाँ टमाटर, अदुवा, इलायची, जडीबुटी, फलफूल हुन्छ कि ? अथवा अन्य कुनै उपार्जनका उत्पादनका कुरा हुन्छन् कि ? भनेर आशामै रातदिन नङ्ग्रा खियाइरहेका छन्। तर ठूला ठूला पदमा बसेकाहरू नै महँगा महँगा, कुर्सी, कम्प्युटर, मोटर र महँगा महँगा विदेश यात्रा गरेर पनि देश बदल्न सकिन्न, रूपान्तरण गर्न सकिँदैन भनेर अत्यन्तै डरलाग्दो निराशामा पुगेका छन्। किनभने उनको आफ्नो चरित्र बिग्रिएको छ। जसको नैतिक चरित्र गिरेको हुन्छ उसको संकल्प गिर्छ। जसले आफ्नो जीवनमा अन्धकार देख्छ। उसले सामूहिक सामाजिक जीवनमा पनि अन्धकार मात्रै देख्छ। यहाँ यस्तै मान्छेको बढोत्तरी हुँदै जाँदा देश कता जाने हो ? भन्ने चिन्ताको विषय छ। धरणीधर कोइरालाले धेरै पहिले लेखेको कविता-
नेपाल तिम्रो मुहुडा हँसिलो, देखेर मर्छु कि यसै म मर्छु।
चिन्ता यही चित्त सताउँदो छ, आशा निराशातिर धाउँदो छ।
भन्ने चिन्ता व्यक्त गरेको जस्तै अहिले पनि त्यही चिन्ताको अवस्था छ। हामीलाई गणेशमानले के दिएर गए ? कृष्णप्रसाद भट्टराई जस्ता व्यक्तिले के दिएर गए ? कति सरल जीवन बिताए ? भन्ने कुरा उनकै पार्टीका मान्छेलाई पनि थाहा छैन अहिले। उनकै परिवारका सदस्यहरु बेखबर छन् भने अरुले त्यसमा कसरी आशा गर्ने ?
नैतिक शिक्षाले सदाचार बढाउनमा सहायक भूमिका निर्वाह गर्छ। नैतिक शिक्षामा के पढाउने ? कसरी पढाउने ? आदि यसका अंग उपांगहरू छन्। नैतिक शिक्षा भनेको केवल प्रश्नोत्तर मात्रै बन्ने हो कि ? परीक्षा पास गर्ने एउटा विधि मात्रै बन्ने हो कि ? कक्षाको स्तरोन्नतिको आधार मात्रै बन्ने हो कि ? भन्ने कुराहरू पनि उत्तिकै चिन्तनीय छन्। सदाचारको कुरा गर्ने शिक्षक आफै सदाचारी छैन भने नैतिक शिक्षाका विषयवस्तुलाई धर्मसँग, आमाबुबासँग, दाइभाइ दिदीबहिनीसँग व्यवहार गर्ने बेलामा प्रयोग गर्न सकिन्न। तथापि नैतिक शिक्षा यस राष्ट्रको मेरुदण्ड हो। किनकि नेपालले दुनियाँलाई दिन सक्ने शिक्षा नैतिकताको शिक्षा हो। अहिले पनि हाम्रो स्वाभिमान, हाम्रो गौरव, हाम्रो प्रतिष्ठा, विश्वसामु कुर्लन सक्ने आधार सबै नैतिक शिक्षामा छ ? अहिले पनि विश्वमा अनेकौं प्रकारका तनावहरू समस्याहरु बढिरहेको बेलामा तिम्रो कल्याणको
सूत्र, तिम्रो समुन्नतिको आधार हामीसँग छ भनेर दावी गर्न सक्छौं।
वेद, त्रिपिटक, आगम शास्त्र, मुन्धुम आदि हामीसँग छन्। अहिले विश्वमा जुन किसिमले डिप्रेसनको समस्या, आत्महत्याको समस्या, हिंसा हत्याको समस्या, यौनहिंसाको समस्या, पारिवारिक विखण्डनको समस्या, मानसिक विकृति आदिको समस्या लगायत एक्लोपन निराशा र खिन्नता जुन किसिमले विश्वमा बढिरहेकोछ, हामीसँग त्यसको उत्तर छ। नैतिक शिक्षाबाटै हामीले रामको चित्र मात्र होइन, रामको चरित्र सिकाउन सक्यौँ भने; बुद्धको चित्र मात्र होइन, बुद्धको चरित्र सिकाउन सक्यौँ भने; त्यागमा नै जीवन छ, सेवामै जीवन छ, अहिंसामै जीवन छ र यही नै धर्म हो भनेर परोपकारः पुण्याय, अहिंसा परमो धर्मः, सेवा हि परमो धर्मः, ज्ञानात् शान्तिरनन्तरम् सिकाउन सक्यौँ र त्यसका बीजहरू बाल्यमस्तिष्कमा रोप्न सक्यौं भने उही बच्चा भोलि गएर ठूलो हुँदै जाँदा ठीक समयमा ठीक निर्णय गर्न सफल हुनेछ। नैतिक शिक्षाले साँच्चिकै सदाचार बढाउनमा प्रत्यक्ष भूमिका निर्वाह गर्छ वा गर्दैन ? भन्ने कुराको निश्चित मापदण्ड बन्ला वा नबन्ला ? तर यो कुरा निश्चित छ, बाल्यकालमा नै नैतिक शिक्षा नपाएका बच्चाहरू अहिले प्रशासनिक क्षेत्रमा जाँदा, सामाजिक क्षेत्रमा जाँदा झन् बढी बिचलित भएको हामी सबैले देखेकै छौँ। अहिले जुन किसिमले समाजमा यौन दुर्घटनाहरू, विदेश पलायन, डिजिटल क्राइम, डिभोर्स केसहरू, फ्रस्टेसनका सिरिजहरू बढिरहेका छन् त्यो सबै बाल्यकालमा नैतिक शिक्षाको, संस्कृत शिक्षाको, पूर्वीय शिक्षाको अभावले हो भन्ने कुरा त हामी स्पष्ट देखिरहेकै छौं।
पूर्वीय शिक्षाले अधर्मको नास होस्, धर्मको जय होस् भनेकै छ। प्राणीहरूमा सद्भाव होस्, विश्वको कल्याण होस् भनेकै छ। सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः भनेकै छ। सारा विश्वसँग एकाकार भएर वसुधैव कुटुम्बकम् भनेर सिकाएकै छ । आफ्नो आमाबुबालाई बायोलोजिकल रिलेसनसिपका आधारबाट मात्र होइन देवरूपेण पूजा गर्न मातृदेवो भव पितृदेवो भव भनेकै छ। आफ्ना गुरुहरुलाई, आचार्यहरूलाई प्रणाम गर्न, देवदेवीहरुको पूजा गर्न सिकाएकै छ। उनको आदेश उपदेशलाई जीवनभरि परिपालना गर्न आचार्यदेवो भव सिकाएकै छ। गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः भन्ने सिकाएकै छ। आखिर मान्छेलाई जीवनका लागि चाहिने मूल कुरा यिनै त हुन्। अहिले हाम्रो नेपालको वर्तमान अवस्था के देखियो भने हामीले जुन मूल कुरा सिकाउनु पर्ने हो त्यो सिकाउनु पर्ने कुरामा हाम्रो लापरवाही बढ्यो। जुन शिक्षा विद्यालय स्तरबाट पारिवारिक स्तरबाट, सामाजिक स्तरबाट, मिडिया स्तरबाट, प्रशासनिक स्तरबाट दिनुपर्ने हो त्यो दिनुपर्ने कुरामा हामी भ्रमित भयौं। व्यापारिक क्षेत्रमा पनि हामीले रातदिन नराम्रो कुरा मात्रै हेर्नुपर्दा, नराम्रो कुरा मात्रै सुन्नुपर्दा, नराम्रो कुराको मात्रै साक्षी बन्नुपर्दा व्यक्ति अत्यन्तै आक्रान्त भएको छ। पश्येमः शरदः शतम् प्रववामः शरदः शतम् श्रृणुयामः शरदः शतम् अर्थात् सय वर्ष बाँचौं तर राम्रो हेर्दै, राम्रो बोल्दै, राम्रो सुन्दै, भन्ने हाम्रो वैदिक जुन आदेश थियो, उपदेश थियो तदनुसार के राम्रो बोल्न सुन्न गर्न पायौँ त ? भन्ने प्रश्न झन् झन् टड्कारो हुँदै आएको छ।
पौरस्त्य मान्यताका आधारमा सदाचारको अवस्था उन्नत थियो भन्ने कुरामा हामीसँग धेरै उदाहरण छन् । तर अब हामीले कुन बेलाको कुन प्रसंग लिने ? भन्ने कुरा आउँछ; सत्ययुग, त्रेतायुग, द्वापरयुग वा कलियुग ? सदाचारको अवस्था कतै कुनै ठाउँमा खस्किएको बेलामा त्यसलाई ठीक भनिएको छैन। द्वापर युगमा दुर्योधनलाई ठीक भनिएको छैन नि ? धृतराष्ट्रले जे गरे, गान्धारीले जे गरिन् आँखामा पट्टी बाँधेर, त्यसलाई ठीक भनिएको छैन। द्वापर युगमा र कलियुगको प्रारम्भमा पनि जुन कुरा गलत हो त्यसलाई गलत भनिएको छ। समाजको स्वभाव वा कालधारा हुन्छ। त्यसमा घटीबढी हुने गर्छ। तर घटीबढी हुने बेलामा जुन गलत हो त्यो गलतलाई त गलत भन्न सक्नुपर्यो नि। अहिले नेपालको वर्तमान कलि कालमा गलतलाई गलत पनि भन्न नमिल्ने तरिकाले व्याख्या गरिएको छ। मान्छे मारेर पनि मन्त्री बन्न पाइन्छ भन्ने जनयुद्धको व्याख्या गरिएको छ। आफ्नै पार्टीलाई, आफ्नै साथीलाई धोका दिएर भए पनि आफ्नो गुटलाई बचाउनु पर्छ भन्ने कुरालाई अहिले कुशलता, क्षमता र युद्धमा जे पनि जायज छ भनेर स्थापित गर्न खोजिएको छ। चुनावको बेलामा गरिने भाषण त चुनावका लागि मात्र हुन्। के हाम्रो पेट छैन र ? के हामीले परिवार नपाल्ने त ? भनेर भत्ता खानु पनि नैतिकतासँग जोडिएको छ ! के हामीले जोगी बन्न राजनीति गरेका हौँ ? भनेर व्याख्या गर्ने एउटा अत्यन्तै उदण्ड, उन्मत्त, भष्मासुर प्रवृत्ति देखापरेको छ। शासन सत्ता जोगीहरूले चलाउने, भिक्षुहरूले चलाउने अथवा जो व्यक्ति आर्थिक रूपमा कुनै दायित्वमा फसेका छैनन् त्यस्ता व्यक्तिले चलाउने व्यवस्था गर्नु पर्छ। भत्ता पनि खाने, कमिसन पनि खाने, तलब पनि खाने, भ्रस्टाचार पनि गर्ने ! प्रवृति समाप्त गरिनु पर्छ।
नेपालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सर्तकता केन्द्र जस्ता संस्थाहरु स्थापना गरिएका छन्। हामीलाई सदाचार वृद्धिका लागि यस्ता संस्था चाहिन्छन्। हामीलाई प्रशासनिक स्तरबाट मात्र होइन, हामीलाई विद्यालय स्तरमा विश्वविद्यालय स्तरमा पठनपाठन आदि इत्यादिको व्यवस्था पनि गर्नुपर्छ। मिडिया आदिका कार्यक्रमहरुमा पनि यसलाई विशेष रूपमा स्थान दिएर सुसञ्चालन गर्न सक्नुपर्छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग आदिका साथसाथै हामीले अझ बढी फोकस गरेर सदाचारलाई प्रवर्धन गर्ने खालका आयोगहरुको विकास गर्न सक्नुपर्छ। नेपालको तीनवटा समस्या अहिलेसम्म हामीले देखिरहेका छौं। पहिलो समस्या भनेको भ्रष्टाचार हो। दोस्रो समस्या भनेको पनि भ्रष्टाचार हो। तेस्रो समस्या भनेको पनि भ्रष्टाचार हो। नेपालमा अनेकौं वादहरु आए; यहाँसम्म कि जजसले जुनजुन वादको ल्याए उनले पनि त्यस वादको व्याख्या गर्न सकिरहेका छैनन्। समाजवाद, प्रजातन्त्रवाद, साम्यवाद, मार्क्सवाद लेनिनवाद, माओवाद, गणतन्त्रवाद, लोकतन्त्रवाद, प्रगतिवाद आदि इत्यादि। तर सबै वादहरू यहाँ बर्बाद भएका छन्। मात्रै एउटै वादले आसन जमाएको छ- भ्रष्टाचारवाद। नेपालमा अहिलेसम्म नेता कुनै सिद्धान्तको प्रतिपादक बन्न सकेन। मात्र भ्रष्टाचारवादको अर्को थप अभियन्ता बन्न पुग्यो। लाचार बन्न पुग्यो अथवा लाचारीले हेर्ने, लाचारीले सुन्ने, लाचारीले बुझ्ने केवल एक मुकदर्शक पात्र मात्रै बन्न पुग्यो।
अब हामीले यस्ता कुरामा अत्यन्तै साहसका साथ कार्यं वा साधयेयं, देहं वा पातयेयं भन्ने नीतिका साथ अगाडि बढ्न सक्नुपर्छ। देश भन्दा ठूलो कुरा केही छैन। राष्ट्र धर्मभन्दा ठूलो कुरा केही छैन। राष्ट्रलाई शिरमा र हृदयमा राखेर हिँड्न सक्ने साहस गर्नुपर्छ। राष्ट्रको पूजामा, राष्ट्रदेवको पूजामा आघात पुर्याउने जेजति पनि राक्षसहरू छन् तिनको दमन गर्न सक्नु पर्छ। विश्वामित्रले राम र लक्ष्मणलाई धर्मरक्षाका लागि जंगलमा लिएर गएको जस्तै हामीलाई पनि यज्ञरक्षा, धर्मरक्षा, राष्ट्ररक्षाका लागि रामहरु, लक्ष्मणहरु चाहिएको छ। फेरि पृथ्वीनारायण शाहलाई जन्माइदिने गोरखनाथहरू चाहिएको छ। नेपाल नै देवभूमि हो, तपोभूमि हो, सिद्धभूमि हो, बुद्धभूमि हो, आर्षभूमि हो भनेर अहोरात्र आराधना गर्ने, आहुति दिने सच्चा गोर्खाली चाहिएको छ।
ॐ तत्सत् !!! जय शिवगोरख !!!
-डा. चिन्तामणिनाथ योगी
Email- mail2cmyogi@yahoo.com