काठमाडौँ – राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो हार स्वीकार गरेका छन् । मकवानपुर-१ बाट एमालेको चुनाव चिन्ह लिएर चुनाव लडेका थापा कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय डिनासँग हार निश्चित भएपछि सामाजिक सञ्जालबाट हार स्वीकार गरेका हुन् ।
हार स्वीकार गर्दै थापाले यस चुनावले सकारात्मक परिवर्तनको पक्षमा दिएको सन्देशलाई सबैले मनन गर्नुपर्ने बताएका छन् ।
उनले भनेका छन्-
पराजयलाई सहर्ष स्विकार गर्दछु । हामीलाई मतदिनु हुने सबैमा आभार । ‘सूर्य’चिन्ह लिएर चुनाव लड्ने अवसर दिएकोमा नेकपा(एमाले)लाई धन्यवाद । चुनावमा रातदिन नभनी ईमान्दारपुर्वक खट्ने एमालेका सम्पूर्ण कमरेडहरु, राप्रपा नेपालका साथीहरु प्रति आभारी छु ।
देश र जनताको हितमा निरन्तर सक्रिय रहने छु ।
२०७९ सालको चुनावले सकारात्मक परिवर्तनको पक्षमा दिएको सशक्त सन्देशलाई सबैले मनन गर्नु जरुरी छ । प्रजातान्त्रिक अभ्यासमा हारजित स्वभाविक हो । व्यक्ति हारेपनि देश,जनता र लोकतन्त्र बलियो हुँदै जानुपर्छ ।
सनातन धर्म संस्कृति रक्षाको आवाज कमजोर हुँदै जान लागेकोमा भने केही खिन्नता लागेको छ ।