गणतन्त्रको शाब्दिक अर्थ
विश्व प्रसिद्ध अङ्ग्रेजी विश्वविद्यालय क्यामब्रिजको परिभाषा अनुसार गणतन्त्रात्मक शासन पद्धति भनेको यस्तो राज्य व्यवस्था हो जहाँ राजा वा रानी नभईकन जनताद्वारा चुनिएका प्रतिनिधिहरूले शासन गर्ने गर्दछन् ।
नेपालमा गणतन्त्र
जनआन्दोलन २०६२ / ०६३ को जगमा गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष ज्येष्ठ १५ गते देशभर विभिन्न कार्यक्रम गरी मनाइन्छ । १० वर्षे सशस्त्र जनयुद्ध र १९ दिने जनआन्दोलनको बलमा स्थापित जहानियाँ राजतन्त्र अन्त्य भएर मुलुक गणतन्त्रमय बनेको थियो । ऐतिहासिक दिनको सम्मान स्वरूप हरेक वर्षको ज्येष्ठ १५ गते नेपालले आफ्नो गणतन्त्र दिवस मनाउँदछ ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले पटक-पटक शासनसत्ता हातमा लिएपछि तत्कालीन सात दल र माओवादीले १२ बुँदे सम्झौता गरेसँगै आन्दोलन चर्किएको थियो । त्यसैको बलमा तत्कालीन राजा संसद पुनर्स्थापनाका लागि बाध्य भएका थिए ।
वि.सं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य ग¥यो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि धेरै काम गरेको थियो ।
वि.सं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ साल असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । संविधानबमोजिम तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भयो ।
जसअनुसार सङ्घीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् । यो परिवर्तनको प्रवेशद्वार भएकाले वैशाख ११ गतेलाई लोकतन्त्र दिवसका रुपमा मनाउने गरिएको छ ।
(स्रोतः विभिन्न पत्रपत्रिका)