लोकसेवा उपयोगी सामग्री (विषयगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-06-08
  • 01:00:15
  • आइतबार,जेठ २४, २०८३
  • लोकसेवा उपयोगी सामग्री (विषयगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (विषयगत प्रश्नोत्तर)

    हिन्दु धर्म परिचय

    • हिन्दु धर्म विश्वको प्राचीन धर्म हो ।
    • यो विश्वको तेस्रो ठूलो धर्म हो ।
    • हिन्दुहरुको आरध्यदेवको रुपमा पशुपतिनाथलाई बुझिन्छ ।
    • यस धर्मको प्रमुख धार्मिक ग्रन्थ वेद, उपनिषद, पुराण, रामायण, महाभारत आदि हुन् ।
    • यस धर्मका प्रमुख देवताहरु गणेश, सुर्य, देवी, विष्णु, ब्रम्हा, शंकर आदि हुन्।
    • यस धर्मको पुजास्थल मन्दिर हो ।
    • यस धर्मका प्रवर्तकका रुपमा आद्ध संकराचार्यलाई लिईन्छ ।
    • अर्काको उपकार गर्नु धर्म हो र अर्कालाई दु:ख दिनु पाप हो भन्ने यस धर्मको मुख्य सार हो ।
    • यो धर्म विशेषगरी नेपाल, भारत, श्रीलङ्का आदि देशहरुमा मानिन्छ ।

    अष्टशिद्धि

    • अणिमा सिद्धि : आफ्नो शरीरलाई चाहेबमोजिम सुक्ष्म बनाउने
    • महिमा सिद्धि : आफ्नो शरीरलाई चाहेअनुसार विशाल बनाउने
    • गरिमा सिद्धि : आफ्नो शरीरलाई गह्रौ बनाउने
    • लघिमा सिद्धि : आफ्नो शरीरलाई हलुंगो बनाउने
    • प्राप्ति सिद्धि : सबै कुरा प्राप्त गर्न सक्ने
    • प्रकाम्य सिद्धि : आकाश, पातालमा जान सक्ने
    • इसित्व सिद्धि: मृत प्राणीलाई जीवित गर्न सक्ने
    • वासित्व सिद्धि : अरुलाई बशमा राख्न सक्ने

    सोह्र संस्कार

    १.  गर्भाधान संस्कार – हिन्दू संस्कारमा मान्य सोह्र संस्कारहरुमध्ये सबैभन्दा पहिलो संस्कार गर्भाधान संस्कार हो । गृहस्थ जीवनमा प्रवेश पश्चात प्रथम कर्तव्यको रुपमा यो संस्कारलाई मान्यता दिइएको छ । गृहस्थ जीवनको प्रमुख उद्देश्य भनेको उत्तम वंशोत्पत्ती हो । विकृत शारिरिक,मानसिक,संस्कृति र संस्कारका वावजुद श्रेष्ठ सन्तानोत्पत्ती असम्भवप्रायः हुन्छ अतः उत्तम सन्तान्तको चाहना राख्ने मातापिताको गर्भाधानपूर्व आफ्नो तन–मनको पवित्रताको लागी यो संस्कार गर्ने गरीन्छ । वैदिककालमा यो संस्कारलाई अति महत्वका साथ पालन गर्ने गरिन्थ्यो। आजभोली यो संस्कारलाई उतिसारो पछ्याएको देखिन्न ।

    २. पुंसवन संस्कार –हिन्दूशास्त्रको दोस्रो महत्वपूर्ण संस्कारको रुपमा पुंसवन संस्कारलाई लिइएको छ । गर्भमा विकसित अवस्थामा रहेको शिशुको मानसिक विकासको दृष्टिले यो संस्कार उपयोगी संस्कार बुझिएको छ । शास्त्रअनुसार गर्भाधान भएको दोस्रो वा तेस्रो महिनामा यो संस्कार गर्ने गरिन्छ । गर्भमा स्वस्थ एवं उत्तम सन्तानको विकास होस् भन्ने अभिष्टले पुंसवन संस्कार गरीन्छ । गर्भस्थ शिशुसँग सम्बन्धित यो संस्कार शुभ नक्षत्रमा सम्पन्न गरिन्छ ।

    ३. सीमन्तोन्नयत- संस्कार अन्तर्गर्भ संस्कारको तेस्रो महत्वपूर्ण संस्कारको रुपमा सीमन्तोन्नयन अथवा सीमन्त संस्कार गरीन्छ । गर्भमा विकसित शिशुलाई अत्यन्त सौभाग्य सम्पन्न बनाउनु यो संस्कारको अभिप्राय हो । सीमन्तोन्नयन संस्कार गर्भपात रोक्न, गर्भस्थ शिशु एवं आमाको रक्षार्थ पनि महत्वपूर्ण मानिएको छ । गर्भवती आमाको मन प्रशन्न, स्वस्थ शरिर तथा स्वच्छ मानसिकता भएमा गर्भस्थ शिशुपनि सोही अनुसार विकसित हुने वैज्ञानिक मान्यतामा यो संस्कार गर्भवती आमा र शिशु दुवैको लागि लाभदायक मानिएको छ । गर्भधारणको छैठौं अथवा आठौँ महिनामा यो संस्कार गरीन्छ ।

    ४. जातकर्म संस्कार- जातकर्म संस्कार शिशुको नालच्छेदनपूर्व गर्ने विधान रहेको छ । यो संस्कार गर्दा यो दैवि जगत्को प्रत्यक्ष सम्पर्कमा आउने नवजात शिशुलाई अन्त्यन्त बल, बुद्धि, सौभाग्य र दीर्घायु प्राप्त होस् भनी वैदिक मन्त्रोच्चारणका घिऊ र महको समिश्रण चटाइन्छ । यो संस्कार अति विशेष मन्त्र र विधिका साथ गर्ने चलन रहेको छ । नवजात शिशुका पिताले विषेश मन्त्र सहित शिशु बुद्धिमान, बलवान, स्वस्थ, दीर्घजीवनका लागि प्रार्थना गर्छन तत्पश्चात आमाले स्तनपान गराउँछीन ।

    ५. नामांकरण (न्वारान)- सामान्यरुपमा न्वारान भनिने यो चलन शिशु जन्मेको ११ औं दिनमा गर्ने गरीन्छ । परापूर्वकालदेखि शिशु जन्मेको १० औं दिनसम्मलाई सुतक मानिन्छ तसर्थ ११ औं दिनमा यो संस्कार गर्ने चलन छ । कर्मकाण्ड र महर्षीहरु यो संस्कार शुभ नक्षत्र वा शुभ दिनमा गर्नु उचित मान्छन् । नामको हाम्रो जीवनमा धेरै महत्व हुन्छ । नामबाट नै व्यक्तित्वको विकास र प्रभाव हुने भएकोले नामको महत्व रहेको छ । ज्योतिष शास्त्रले नाम कै आधारमा भविष्यको रुपरेखा तयार गर्दछ । हिन्दू शास्त्रमा शिशुको जन्म तिथि, घडि, पला, नक्षत्र, समय र स्थान आदीलाई आधार मानेर नामांकरण गर्ने चलन रहेको छ ।

    ६. निष्क्रमण संस्कार- नवजात शिशुको यस दैविजगतमा आगमन पश्चात यसप्रति प्रगाढता बढाउनु तथा परम्ब्रम्हाको नजरमा चिरपरिचित भई दीर्घकालसम्म धर्म र मर्यादामा रही यस लोकको भोग गराउनु यो संस्कारको प्रमुख उद्देश्य हो । निष्क्रमणको अर्थ हुन्छ बाहिर निस्कनु । यो संस्कारमा नवजात शिशुलाई चन्द्रमा र सूर्यको दर्शन गराइन्छ । शिशुलाई भगवान भाष्करको तेज र चन्द्रमाको शीतलताको अवगत गराई शिशुलाई भाष्कर झैं तेजश्वी र चन्द्रम झैं विनम्र बनाउने परिकल्पना गर्दै त्यस दिन देवी देवताहरुको दर्शन गराई दीर्घ एवं यशश्वी जीवनकोलागि आशिर्वाद ग्रहण गराइन्छ । वैज्ञानिक हिसावले पनि नवजात शिशुको शरिर तीन महिनासम्म बाहिरी वातावरण, घाम, हावा आदिसँग अनुकुल हुँदैन यसर्थ तीन महिनासम्म सावधानीपूर्वक घर भित्रै राखिन्छ । यसपछि शिशुलाई विस्तारै विस्तारै बाहिरी वातावरणको सम्पर्कमा ल्याउनु उचित हुन्छ । विशेषतः यो संस्कार शिशुलाई यो जगत, आफ्नो समाज, वातावरण र हरेक सामाजिक परिस्थितिसँग अवगत गराउनका लागि गरिन्छ ।

    ७. अन्नप्राशन- जव शिशु विकसित हुँदै जान्छ स्तनपानबाट प्राप्तहुने पौष्टिकता र आहार मात्र शिशुको शारिरिक र मानसिक विकासमा प्रशस्त हुँदैन । उक्तकुरालाई ध्यानदिँदै अन्नप्राशन संस्कार गरीन्छ । जन्मने वित्तिकै शिशुको शरिरमा वाहिरी खाद्यान्न पचाउनसक्ने क्षमता हुँदैन । अन्नप्राशनको स्पष्ट अर्थ यो हो की शिशु अब पेय पदार्थ विषेशगरी आमाको दूधमा निर्भर नभई अन्न (जसलाई शास्त्रमा प्राण भनिएको छ ) ग्रहण गरी शारीरिक र मानसिक रुपमा आफूलाई बलबान र प्रवुद्ध बनाउन योग्य हो । तन र मनलाई सुदृढ बनाउनलाई अन्नको सर्वाधिक योगदान छ । शुद्ध, सात्विक एवं पौष्टिक आहारले तन, मन स्वस्थ रहन्छ । स्वस्थ तनमा नै स्वस्थ मनको निवास हुन्छ । शुद्ध र सात्विक आहारले नै अन्तःकरण शुद्ध हुन्छ तथा मन, बुद्धि, आत्मा सबैलाई पोषण मिल्छ । यसैकारण अन्नप्राशन संस्कारको हाम्रो जीवनमा विषेश महत्व छ । हिन्दूधर्मका अनुयायीहरुले अन्नप्राशन जन्मको छैठौं महिनालाई उपयुक्त बताउँछन् । छैठौं महिनामा शुभ नक्षत्र एवं शुभ दिन हेराएर यो संस्कार गरीन्छ । उक्त दिन खीर र मीठा मीठा मिष्ठान्न शिशुको अन्नग्रहणका लागि शुभ मानिन्छ । अमृतः क्षीरभोजनम् –हिन्दूशास्त्रमा खीरलाई अमृत समान उत्तम मानिन्छ । हाम्रो समाजमा अन्नप्राशनका दिन आफ्ना छिमेकी, नातेदार, आफन्तजनलाई बोलाई प्रसाद खुवाउने र शिशुलाई विभिन्न उपहार दिने समेत चलन छ ।

    ८. चूडाकर्म (छेवार)- चूडाकर्म संस्कारलाई मुण्डन वा छेवार पनि भनिन्छ । शिशु नौ महिनासम्म गर्भमा रहँदाताका उत्पन्न केशमा अनेकौं किसिमका दूषित किटाणुहरु रहेका हुन्छन र जन्मको समयमा उत्पन्न अपवित्र केशलाई हटाई शिशुको प्रखर बनाउनु यो संस्कारको अभिप्राय रहेको छ । बालकको तीन या पाँचौ वर्षमा यो संस्कार गरिने विधान रहेको छ । यो संस्कारपछि बालको बौद्धिक विकास र शुभचिन्ताको परिकल्पना गरिन्छ । गर्भमा रहँदाका केशमा रहेको दोषलाई सफाया गर्नु यो संस्कारको उद्देश्य हो । ज्योतीष शास्त्रका अनुसार यो संस्कार शुभमुहूर्तमा बैदिक मंन्त्रोच्चारणका साथ सम्पन्न गरीन्छ ।

    ९. विद्यारम्भ संस्कार- हिन्दू संस्कारका क्रममा विद्यारम्भ संस्कारको विषयमा धर्माचार्यहरुको केही मतभिन्नता रहेको पाइन्छ । केही धर्माचार्यहरु विद्यारम्भ अन्नप्राशन पछि हुनुपर्छ भन्ने मान्यता राख्छन त केही चूडाकर्म संस्कारपछि विद्यारम्भ हुनुपर्दछ भन्ने मान्यतामा छन् । वास्तवमा अन्नप्राशनको उमेरमा शिशुमा बोल्न वा केही सिक्नसक्ने गरी शारीरिक वा मानसिक विकासभएको हुँदैन अतः यो संस्कार चूडाकर्मपछि गरे नै उपयुक्त हुने मान्यताले अग्रता पाएको देखिन्छ । नामबाट नै प्रष्ट छ की विद्यारम्भ भन्नाले विद्या आरम्भ गर्नु । विद्यारम्भ संस्कारको अभिप्राय बालकमा प्रारम्भिकस्तको शिक्षासँग परिचित गराउनु हो । प्राचिन समयमा जब गुरुकुलको परम्परा थियो उक्त समयमा गुरुकुलमा भर्नागर्नुृपूर्व घरमै मातापिता तथा गुरुजनबाट अक्षरबोध तथ मौखिकरुपमा श्लोक, पौराणिक कथा आदिको अभ्यास गराइन्थ्यो जसबाट बालकलाई गुरुकुलमा सिक्न कठिनाइ हुँदैन थियो । हिन्दू शास्त्र विद्यालाई प्राथमिता दिने शास्त्र हो । सा विद्या या विमुक्तये– अर्थात् विद्या नै त्यही चिज हो जसले मुक्ति दिलाउँछ । विद्या अथवा ज्ञान नै मनुष्यको आत्मिक उन्नतीको साधन हो । शुभ मुहूर्तमा नै विद्यारम्भ संस्कार गरिनु पर्दछ । हाम्रो समाजमा आजभोली सरस्वती पूजाका दिनबाट बालबालिकालाई विद्यारम्भ गराउने चलन रहेको देखिन्छ भने कहीँ कहीँ मुहूर्त निकालेर विद्यारम्भ गराएको समेत पाइन्छ ।

    १०. कर्णवेध संस्कार – हिन्दूहरुका संस्कारहरु कुनै न
    कुनै कोणबाट वैज्ञानिक तवरबाट मुल्यांङ्कन वा प्रमाणित गरी प्रारम्भ भएको पाइन्छ । कर्णवेध संस्कारको आधार पनि विल्कुलै वैज्ञानिक नै रहेको छ । बालबालिकालाई शारिरिक व्यधिबाट रक्षा गर्नु यो संस्कारको मूल उद्देश्य हो । प्रकृति प्रदत्त हाम्रो शरिरका सबै अंगहरु उत्तिकै महत्वपूर्ण रहेका छन् । कान हाम्रो श्रवणद्वार हो । सम्पूर्ण श्रुतिहरु कानबाट नै हाम्रो मस्तिष्कमा पुग्दछन् । कर्णवेधन गर्नाले व्यधिहरुबाट सुरक्षित हुनुका साथै श्रवण शक्ति पनि बढ्छ यसका साथै कानमा आभूषण हाम्रो सौन्दर्यबोधको परिचायक पनि हो । यज्ञोपवीत संस्कारपूर्व यो संस्कार गरिने विधान छ । ज्योतिष शास्त्रका अनुसार शुक्ल पक्षको शुभ मुहुर्तमा यो संस्कार सम्पन्न गर्दा श्रेयष्कर हुन्छ ।

    ११. यज्ञोपवीत (उपनयन वा ब्रतबन्ध) संस्कार-यो संस्कार बौद्धिक विकासको लागि सर्वाधिक महत्वपूर्ण संस्कार हो । यो संस्कारमा धार्मिक र अध्यात्मिक उन्नतिको पूर्ण समावेश छ । यो संस्कारबाट हाम्रा ऋषिमुनीहरुले वेदमाता गायत्रीको आत्मासात् गर्ने प्रावधान दिएकाछन् । आधुनिक युगमा समेत गायत्रीमंत्रको विषेश शोध भइसकेको छ र उक्त सोधबाट गायत्री मंत्र सर्वाधिक शक्तिशाली मंत्र प्रमाणित भएको छ । यज्ञोपवीतम् परम् पवित्रम् – यज्ञोपवीत जसलाई हामी जनइ भन्छौ्रँ अत्यन्तै पवित्र छ । प्रजापतिले स्वाभाविकरुपमा यसको निर्माण गर्नुभएको हो । जनई हेर्दा सामान्य लागे पनि आयुबद्र्धक, बल र तेज प्रदान गर्ने सामथ्र्य राख्दछ । यो संस्कारलाई धर्मशास्त्रमा विषेशरुपले उल्लेख गरिएकोछ । जनइ धारणको वैज्ञानिक महत्व पनि रहेको छ । प्राचीनकालमा जब गुरुकुलको परम्परा थियो त्यससमयमा प्रायः आठ वर्षको उमेरमा यो संस्कार सम्पन्न गरिन्थ्यो । यो संस्कारपछि बालकलाई विषेश अध्ययनको लागि गुरुकुल पठाइन्थयो । यज्ञोपवीतबाट नै बालकलाई ब्रम्हचर्यको दीक्षा दिइन्थ्यो र जसको पालना गृहस्थाश्रम आउनुपूर्वसम्म गर्नु पर्दथ्यो । यो संस्कारको उद्देश्य संयमितता अपनाई आत्मिक विकासमा लागिरहन प्रेरित गर्नु हो ।

    १२. वेदारम्भ संस्कार –यो संस्कार प्राचीन समयमा महत्वपूर्ण भए पनि समयको बद्लावसँगै लगभग विलुप्त भईसकेको छ । यो संस्कार ज्ञानआर्जनसँग सम्बन्धित छ । वेदको अर्थ हो ज्ञान र वेदारम्भको माध्यमबाट बालकलाई आफूभित्र ज्ञान र समाविष्ट गर्न शुरु गराउनु नै यो संस्कारको अभिप्राय हो । शास्त्रमा ज्ञानभन्दा ठूलो अर्को कुनै प्रकाश छैन भनिएको छ । यो स्पष्ट छ की प्राचीनकालमा यो संस्कार मानिसको जीवनमा विशेष महत्व राख्दथ्यो । यज्ञोपवीतपछि बालकलाई वेदहरुको अध्ययन एवं विशिष्ट ज्ञानहरुसँग परिचित गराउन योग्य आचार्यहरुको अभिभावकत्वमा गुरुकुल पठाइन्थ्यो । वेदारम्भ गर्नुभन्दा पहिा आचार्य आफ्ना शिष्यहरुको ब्रम्हचर्य व्रतको पालन एवं संयमित जीवन बाँच्ने प्रतिज्ञा गराई उक्तकुराको परीक्षा लिएपछि मात्र वेद अध्यापन गराउने गर्दथे । अंयमित जीवन, अनुशासनहीनहरुलाई वेद अध्ययनको आधिकारीकता दिईँदैन थियो । चारै वेदहरुलाई ज्ञानको अक्षुण्ण भण्डार मानिन्छ । आजभोली समेत वेदलाई ज्ञान र तथ्यको महान ग्रन्थका रुपमा पश्चिमीहरुले समेत अध्ययन गर्दछन् ।

    १३. केशान्त संस्कार –आजभोली हिन्दू संस्कारका धेरै क्रम–उपक्रमहरु व्यस्तता र आधुनिकीकरणका वावजुद विलुप्तहुँदै गइरहेका छन् । केशान्त संस्कार गुरुकुलमा वेद अध्ययन पूरा गरेपछि आचार्यको समक्ष यो संस्कार गरिन्थ्यो । वस्तुतः यो संस्कार गुरुकुलबाट विदा लिने तथा गृहस्थाश्रममा प्रवेश गर्ने उपक्रम हो । वेद, पुराण एवं कर्मकाण्डमा पारंगत भएपछि ब्रम्हचारी शिष्यलाई समावर्तन संस्कारभन्दा पहिला केश मुण्डन गरी नुहाइ स्नातकको उपाधि दिइन्थ्यो । केशान्त संस्कार शुभमुहूर्तमा गरिन्छ ।

    १४. समावर्तन –यो संस्कार परापूर्वकालदेखि चलिआएको संस्कार हो । यो संस्कारलाई आजभोली आधुनिकीकरण गरिएको छ । गुरुकुलबाट शिक्षा लिईसकेपछि विदाई लिनुपूर्व शिष्यको समावर्तन संस्कार हुने गर्दथ्यो । यो संस्कारभन्दा ठीक अगाडि ब्रम्हचारी शिष्यको केशान्त संस्कार हुन्थ्यो । समावर्तन संस्कारमा शिष्यलाई समावर्तनका लागि सुगन्धित पदार्थ एवं औषधियुक्त वेदीका उत्तरभागमा आठवटा घडाका जलले स्नान गर्ने विधि छ । यो स्नान विषेश मन्त्रोच्चारणका साथ गर्ने गरीन्छ । यसपछि यज्ञोपवीतका समयमा धारण गरिएका मेखला र दण्डलाई छोड्ने चलन छ । यस संस्कारपछि गुरु वा आचार्यहरुले शिष्यलाई विद्या स्नातकको उपाधि दिने गर्दथे । यो उपाधि पाएपछि शिष्य सगौरव गृहस्थाश्रममा प्रवेश गर्न आधिकारीक हुन्छन । संस्कारका समयमा सुन्दर वस्त्र एवं आभूषण धारण गरी आचार्य एवं गुरुजनबाट आशिर्वाद ग्रहण गरी आफ्नो घरतर्फ लाग्दथे । यो संस्कार आजभोली टाढा–टाढा वा आफ्नो इलाकाका स्कूल, कलेज अध्ययन गर्नजाने विद्यार्थीहरुले आफ्नो अध्ययनको चरण पूरा भएपछि विभिन्न कार्यक्रमहरु गरी आधुनिक रुपमा सम्पन्न गर्दछन् ।

    १५.विवाह संस्कार –यो संस्कार परापूर्वकालदेखि नै स्त्री र पुरुष दुवैको लागि सर्वाधिक महत्वपूर्ण संस्कारको रुपमा रहिआएको छ । हिन्दू शास्त्रमा पुरुष यज्ञोपवीत संस्कारदेखी समावर्तन संस्कारसम्म ब्रम्हचर्य व्रतको पालनगर्ने हाम्रो शास्त्रमा विधान छ । प्राचीनसमयको वेदाध्ययन वा आजभोलीको स्नातकपछि जब युवकमा सामाजिक परम्परा निर्वाह गर्ने क्षमता र परिपक्वता आउँछ तव गृहस्थ धर्ममा समाजिक रुपमा प्रवेश गराइन्छ । लगभग पच्चीस वर्षसम्म ब्रम्हचर्यको व्रत पालना गरेपछि युवक परिणय सूत्र (विवाह बन्धन) मा बाँधिन्छ । शास्त्रमा आठ प्रकारका विवाहरुको उ्रल्लेख भएको पाइन्छ जसलाई यो ब्लगको यस अघिको प्रविष्टमा संक्षेप परिचय सहित उल्लेख गरिसकिएको छ । वैदिककालमा आठै प्रकारका विवाहका प्रथाहरु प्रचलित थिए । समय अनुसार विवाहका स्वरुपहरु बद्लिँदै गए । वैदिककालपूर्व जतिवेला हाम्रो समाज संगठित थिएन त्यो समयमा उच्छृंखल यौनाचारहरु हुने गर्दथे । ऋषिमुनीहरुले यो उच्छृंखलतालाई समाप्त गर्नकालागि विवाह संस्कारको स्थापना गरी समाजलाई संगठित, मर्यादित एवं नियमबद्ध गर्ने प्रयाहरु भएका थिए । आज उनिहरुको प्रयासकै परिणाम हाम्रो समाज सभ्य र सुसंस्कृत छ । पश्चिमी दर्शन भन्दा पवित्र र मर्यादित तवरमा विवाहका सामाजिक मान्यताहरु रहिरहेका छन् ।

    १६. अन्त्येष्टि संस्कार –मृत्यु पश्चातहुने संस्कारलाई अत्येष्टि अथवा अग्नि परिग्रह संस्कार भनिन्छ । आत्मामा अग्निको आधान गर्नु नै अग्नी परिग्रह हो । मृत शरिरलाई विधिवत् क्रिया गरिसकेपछि मात्र जीवको अतृप्त वासना शान्त हुने कुरा धर्मशास्त्रको मान्यता रहेको छ । हिन्दू शास्त्रमा धेरै सहज ढंगले इहलोक र परलोकको परिकल्पना गरिएको छ । जब जीव शरीर धारण गरी इहलोक निवासी हुन्छौँ त्यतिवेला हामी विभिन्न कर्मका बन्धनमा हुन्छौँ । शरीरबाट प्राण छुटेपछि यो लोक छोडी त्यसपछिका विभिन्न परिकल्पनामा विभिन्न लोकका साथै मोक्ष प्राप्त गर्ने कुरा गरीन्छ । मानिसले आफ्नो कर्म अनुसारको फल भोग्नुपर्छ । यहि परिकल्पनाको आडमा मृत शरीरको विधिवत अग्निका साथ क्रिया हुन्छ । विभिन्न धर्ममा आ–आफनै तवरवाट मृत शरीरको अन्त्येष्टि गर्ने चलन छ । मृत शरीरलाई जमिनमा गाड्ने, नदी खोलामा बगाउने, टुक्रा–टुक्रा गरी चिल वा गिद्धलाई खुवाउने जस्ता चलनहरु चलिआएका छन् तर पर्यावरणीय दृष्टिले अग्निका साथ गरीने क्रिया राम्रो मानिएको छ ।पर्यावरणीय दृष्टिले मनुष्यको अन्त्येष्टि पनि अहिलेको विश्वमा विकराल समस्याको रुपमा देखा परेको छ । विभिन्न धर्मावलम्बीहरुले मृत शरीरलाई जमीनमा गाड्ने र त्यसमाथि क्रंक्रिटका स–साना आधारहरु निर्माण गर्नाले भोलिको दिनमा समस्याको रुपलिने निश्चित प्रायः छ । हालै चिनमा त्यस्ता किसिमका निर्माण नगर्न र सकेसम्म वैकल्पिक तवरबाट मृतशरीरलाई शमन गर्ने विकल्पका रुपमा अग्निशमनलाई लिएको छ ।

     

    बौद्ध धर्म परिचय

    • यो विश्वको चौथो ठूलो धर्म हो ।
    • यस धर्मका प्रवर्तक भगवान गौतम बुद्ध हुन् ।
    • उनको जन्म नेपालको लुम्बिनीमा भएको थियो ।
    • यस धर्मको प्रमुख धार्मिक ग्रन्थ त्रिपिटक हो ।
    • यस धर्मको पुजास्थललाई गुब्बा वा स्तुप भनिन्छ ।
    • यस धर्मलाई बैज्ञानिक धर्मको रुपमा लिईन्छ ।
    • यो धर्म विशेष गरी नेपाल, म्यानमार, थाईल्याण्ड आदि देशमा मनाईन्छ ।
    • यो धर्मले शान्ति र अहिंसामा जोड दिन्छ ।

    इसाई धर्म परिचय

    • यो विश्वको सबैभन्दा ठूलो धर्म हो ।
    • यस धर्मका प्रवर्तक जिसस क्राईस्ट हुन् ।
    • यस धर्मको प्रमुख धार्मिक ग्रन्थ बाईबल हो ।
    • यस धर्मको पुजास्थल चर्च हो ।
    • यो धर्ममा रोमन क्याथोलिक, प्रोटेस्टेन्ट र प्युरिटन गरी तीन सम्प्रदाय छन् ।
    • यस धर्मले लोभ गर्ने नहुने , दिनहिन तथा दु:खीको सेवा गर्नुपर्ने कुरामा जोड दिन्छ ।
    • यो युरोप तथा अमेरिकाका विभिन्न देशहरुमा मनाईन्छ ।

    इस्लाम धर्म

    • यो विश्वको दोस्रो ठूलो धर्म हो ।
    • इस्लाम धर्मका प्रवर्तक पैगम्बर मौहम्बद हुन् ।
    • यस धर्मको धर्मालम्बीहरुलाई मुस्लिम वा मुसलमान भनिन्छ ।
    • यो धर्मको पुजास्थल मस्तिज हो ।
    • यसको प्रमुख धार्मिक ग्रन्थ कुरान हो ।
    • ईश्वरलाई अल्लाह मान्ने इस्लामीहरु ईश्वर एक मात्र हुन्छ भन्ने मान्यता राख्छन् ।
    • साउदी अरबको मक्का मदिनामा पैगम्बर मोहम्मदको जन्म भएकाले सो स्थानलाई इस्लामीहरु पवित्र तिर्थस्थलको रुपमा लिई जीवनमा एक पटक उक्त स्थानमा पुग्नुपर्ने मान्यता राख्दछन् ।
    • यस धर्मको प्रमुख चाड ईद हो र प्रमुख व्रत रोजा हो ।
    • सक्नेले नसक्नेलाई अनिवार्य दान दिने, जाति उपजातिमा विभेद नहुने यस धर्मका राम्रा पक्षहरु हुन् भने नारीको दयनीय अवस्था र धार्मिक कट्टरता यस धर्मका कमजोर पक्ष हुन्।

    शिख धर्म परिचय

    • शिख समुदायले मान्ने धर्म शिख धर्म हो ।
    • गुरु नानकलाई शिख धर्मको प्रवर्तक मानिन्छ ।
    • गुरु ग्रन्थ साहेब यस धर्मको प्रमुख धार्मिक ग्रन्थ हो ।
    • गुरुद्वारा यस धर्मको धार्मिक स्थल हो ।
    • अहिंसा, सत्कार्य, परोपकार जस्ता कुराहरुमा यस धर्मले जोड दिन्छ ।
    • यो विशेषगरी भारतमा प्रचलित धर्म हो ।

    जैन धर्म परिचय

    • यस धर्मका संस्थापक महावीर जैन हुन् ।
    • विष्णुका २४ अवतार मध्ये ८ ‍औ अवतार तिर्थकर भगवान अर्थात महावीर जैनलाई लिईन्छ ।
    • जैन धर्मको धार्मिक ग्रन्थ वचनामृत हो ।
    • यस धर्मको पूजास्थल जैनमन्दिर हो ।
    • यो धर्म विशेषगरी भारतमा मानिन्छ ।
    • पवित्रता, सच्चरित्रता र अहिंसालाई यो धर्मले जोड दिन्छ ।

     

     

      बौद्ध धर्मका प्रमुख महाबिहारहरु

    स्वयम्भू महाबिहार

    नेपाल

    बिक्रमशिला महाबिहार

    भारत

    तक्षशिला महाबिहार

    पाकिस्तान

    ताम्रशिला महाबिहार

    श्रीलंका

    स्वर्णशिला महाबिहार

    थाईल्याण्ड

    त्रिपिटक महाबिहार

    तिब्बत

     

     

     
    लुम्बिनी(नेपाल) बुद्धको जन्मस्थल
    बोधगया (भारत) बुद्धत्व प्राप्त गरेको स्थान
    सारनाथ (भारत) बुद्धले प्रथम उपदेश दिएको स्थान
    कुशीनगर (भारत) बुद्धले महापरिनिर्वाण गरेको स्थान

     

    बुद्ध धर्म सम्बन्धी पाँच रङहरु

    निलो

    बुद्धको शरीर

    पहेँलो

    बुद्धको अस्थि धातु

    रातो

    बुद्धको रगत

    कलेजी

    बुद्धको अन्तस्करण

    सेतो

    बुद्धको दाँत

     

    बौद्ध धर्मका पञ्चशिल

    सत्य सधै साँचो बोल्नु
    अहिंसा कहिल्यै हिंसा नगर्नु
    अस्तेय कहिल्यै चोरी नगर्नु
    परस्त्रीगमन निषेध अन्य नारीप्रति यौन दुराचार नगर्नु
    मद्यनिषेध मद्यपान नगर्नु

     

    बौद्ध धर्म विशेष

    छन्दक सिद्धार्थ गौतमका सारथी
    कन्थक बुद्धको घोडाको नाम
    पुष्करिणी बुद्ध जन्मेपछि पहिलो पटक नुहाएको पोखरी
    चिवर बुद्धले लगाउने गेरु वस्त्र
    बुद्धलाई सन्यासीको भविष्यबाणी गर्ने कौडिल्य
    गन्ध कुटी बुद्धको कुटीको नाम
    बुद्धको दाँत रहेको स्थान श्रीलंका

     

    वि.सं २०७८ सालको जनगणना अनुसार नेपालमा मानिने मुख्य धर्म र जनसंख्या देहायबमोजिम रहेका छन् ।

    • हिन्दु – ८१.२%
    • बौद्ध – ८.२१%
    • मुस्लिम – ५.०९%
    • किराँत – ३.१७%
    • क्रिश्चियन – १.७६%
    • प्रकृति धर्म – ३५%
    • वोन धर्म – ६७,२२३ जना
    • जैन धर्म -२३९८ जना
    • बहाई धर्म – ५३७ जना
    • शिख धर्म -१४९६ जना

     

    नेपालका प्रमुख १० जातीहरु (बि.सं २०७८ को जनगणना अनुसार )

    • क्षेत्री – १६.४५%
    • ब्रम्हाण पहाड – ११.२९%
    • मगर – ६.९%
    • थारु – ६.२%
    • तामाङ्ग – ५.६२%
    • विश्वकर्मा- ५.०४%
    • मुसलमान – ४.८६%
    • नेवार – ४.६%
    • यादव-४.२१%
    • राई -२.२%

     

     

    नेपालका प्रमुख १० भाषाहरु ( बि.सं २०७८ को राष्ट्रिय जनगणना अनुसार ) (मातृभाषा अनुसार )

    • नेपाली : ४४.८६%
    • मैथिली : ११.०५%
    • भोजपुरी : ६.२४%
    • थारु : ५.८८%
    • तामाङ्ग : ४.८८%
    • बज्जिका : ३.८९%
    • अवधी : २.९६%
    • नेवारी :२.९६%
    • मगर ढुट : २.७८%
    • डोटेली : १.७%

     

    नमुना प्रश्न :बौद्ध धर्मको चार आर्यसत्य र अष्टाङ्गिक मार्गबारे उल्लेख गर्नुहोस् ।(२+३)

    बौद्ध धर्मका चार आर्यसत्य देहायबमोजिमका रहेका छन् ।

    • जीवन दु:खमय छ ।
    • दु:खको कारण छ ।
    • दु:खको प्रमुख कारण अज्ञानता हो ।
    • अष्टाङ्गिक मार्ग दु:ख निवारणको उपाय हो ।

    अष्टाङ्गिक मार्गमा देहायबमोजिमका कार्यहरु पर्दछन् ।

    • सम्यक दृष्टि
    • सम्यक सङ्कल्प
    • सम्यक बचन
    • सम्यक कर्म
    • सम्यक व्यायाम
    • सम्यक स्मृति
    • सम्यक जीविका
    • सम्यक समाधी

    अत: बौद्ध धर्ममा विभिन्न ४ आर्यसत्य र विभिन्न ८ अष्टारङ्गिक मार्गबारे उल्लेख भएको छ ।

     

    सांस्कृतिक सम्पदा परिचय

    मानिसले परम्परादेखि अपनाउँदै आएको धर्म, चाडपर्व, भेषभुषा, भाषा, साहित्व एवं कलालाई सांस्कृतिक सम्पदा भनिन्छ ।

    • सांस्कृतिक सम्पदालाई भौतिक र अभौतिक गरि दुई भागमा विभाजन गर्न सकिन्छ ।
    • देख्न वा छुन सकिने मठ, मन्दिर, पाटी लगायतका सम्पदाहरु भौतिक सांस्कृतिक सम्पदा हुन्।
    • देख्न वा छुन नसकिने धर्म, चाडबाड आदि अभौतिक सांस्कृतिक सम्पदा हुन् ।

    सांस्कृतिक सम्पदाका विशेषताहरु

    सांस्कृतिक सम्पदाका विशेषताहरु देहायबमोजिम रहेका छन् ।

    • सांस्कृतिक सम्पदालाई मानव सभ्यताका ऐनाका रुपमा लिईन्छ ।
    • यो पूर्वजबाट नयाँ पिढीमा हस्तान्तरण हुन्छ ।
    • यिनीहरु साझा सम्पत्ति हुन् ।
    • यिनीहरु मानव समुदायका संग्रहहरु हुन् ।
    • यिनीहरुले मानवीय पहिचान निर्धारण गर्दछन् ।
    • मानिस जिउने कलाको रुपमा सास्कृतिक सम्पदालाई लिईन्छ ।

     

    साँस्कृतिक सम्पदाको महत्व

    साँस्कृतिक सम्पदाको महत्वलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।

    • मुलकको सभ्यतालाई झल्काउन
    • मुलुकको पहिचान निर्धारण गर्न
    • पर्यटन व्यवसायलाई प्रवर्धन गर्न
    • राष्ट्रिय एकता कायम गर्न
    • नागरिकलाई अनुशासित र मर्यादित बनाउन
    • मानिसलाई सुखी र खुसी बनाउन
    • सामाजिक सहिष्णुता अभिबृद्धि गर्न
    • सामाजिक अपराध नियन्त्रण गर्न

     

     

    पञ्चैबाजा परिचय

    पञ्चैवाजा नेपालको मौलिक लोकबाजा हो ।

    • यो विवाह, मेला एवं उत्सबमा बजाईन्छ ।
    • यो पाँचवटा बाजाहरुको समूह हो । जसअन्तर्गत देहायबमोजिमका बाजाहरु पर्दछन् ।
    • दमाहा : अर्धगोलाकार, तामा र छालाबाट तयार गरिएको, मोटो र छोटो लठ्ठीले हिर्काएर बजाईने बाजा दमाहा हो ।
    • ट्याम्को: तवला जस्तै आकारको तामा र छालाबाट तयार गरिएको बाजा ट्याम्को हो ।
    • नरसिङ्गा : लामो र गुमाउरो मुखले फुकेर बजाईने बाजा नरसिङ्गा हो ।
    • सहनाई : मुखले फुकेर औंलाको सहायताले बजाईने बाजा सहनाई हो ।
    • झ्याली: काँसको धातुबाट बनेको दुईवटा एक- आपसमा ठोकेर बजाईने बाजा झ्याली हो ।

    नमुना प्रश्न : नेवार जातीको बारेमा उल्लेख गर्नुहोस्।(५)

    • नेवार जातीको मूल थलो काठ्माण्डौ उपत्यका हो ।
    • यो जातीको भाषा नेवारी हो ।
    • यिनीहरुको पुरोहितलाई गुभाजु भनिन्छ ।
    • यस जातीलाई उन्नत जनजातिमा वर्गिकरण गरिएको छ ।
    • यो जातिले गाईजात्रा, ईन्द्रजात्रा लगायतका विभिन्न जात्राहरु मनाउँदछन्।
    • नेवार कन्याहरुको रजस्वलापूर्व बेलसँग गरिने विवाहलाई ईहि भनिन्छ ।
    • वि.सं २०७८ सालको जनगणनाअनुसार यस जातिको जनसंख्या ४.६% रहेको छ ।

     

    नमुना प्रश्न : चेपाङ जातीको बारेमा लेख्नुहोस् । (५)

    • यो नेपालको आदिवासी जनजाति हो ।
    • यसलाई प्रजाको नामले समेत चिनिन्छ ।
    • चेपाङहरुको मुख्य बसोबास चितवन, धादिङ, मकवानपुर लगायतका जिल्लाहरुमा रहको छ ।
    • यिनीहरुमा मागी विवाह, प्रेम विवाह र केटी भगाई गरिने विवाह प्रचलनमा रहेको छ ।
    • यिनीहरुले चिउरीको बोटलाई उच्च महत्व दिन्छन् । विवाहमा समेत चिउरीको बोट दाईयो स्वरुप दिन्छन् ।
    • यो जातिले गिठ्ठा, भ्याकुर जस्ता कन्दमुल तथा माछा, गंगटा, चेपा खाना खाने प्रचलन छ।
    • यस जातिमा पुरुषहरुले ठाडो लगौटी, कछाड र भोटो र महिलाहरु चोलो, गुन्यू र पटुका जस्ता परम्परागत भेषभुषा लगाउँदछन् ।
    • वि.सं २०७८ सालको जनगणना अनुसार यस जातिको कूल जनसंख्या ८४, ३६४ रहेको छ ।

    अत: यो जाति मौलिक परम्परा भएको नेपालको आदिवासी जनजाति हो ।

    नमुना प्रश्न :राउटे जातीको बारेमा लेख्नुहोस् । (५)

    • यो नेपालको फिरन्ते जाति हो ।
    • यसलाई नेपालको प्राचीन जनजातिको रुपमा लिईन्छ ।
    • यिनीहरुको मुख्य बसोबास दैलेख, दार्चुला, सुर्खेत, जाजरकोट, कालिकोट लगायतका जिल्लाहरुमा रहेको छ ।
    • यिनीहरुले खाम्ची भाषा बोल्दछन् ।
    • यिनीहरु १ महिना भन्दा बढी एकै ठाँउमा बसोबास गर्दैनन् ।
    • बाँदर यिनीहरुको प्रमुख शिकार मानिन्छ ।
    • यिनीहरु गिठ्ठा, भ्याकुर, फलफूल एवं शिकार गरी जंगली जीवजन्तुको मासु खाने गर्दछन्।
    • यिनीहरु मूलको मात्र पानी खान्छन् ।
    • राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा यिनीहरुको कुल जनसंख्या ५६६ रहेको छ।

    अत: राउटे नेपालमा आदिवासी जनजाति मध्ये सबैभन्दा प्राचीन जनजाती हो ।

    नमुना प्रश्न : थारु जातीको बारेमा लेख्नुहोस ।(५)

    • थारु जाती नेपालको तराई क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजाती हो ।
    • यो जातिको आफ्नै मौलिक संस्कृति र परम्परा रहेको छ ।
    • यिनीहरुको मुख्य बसोबास दाङ, कैलाली र कञ्चनपुर लगायतका जिल्लाहरुमा रहेको छ।
    • यस जातिको मूख्य पेशा कृषि हो ।
    • यो जातिमा मागि र चोरी विवाह गर्ने प्रचलन छ ।
    • यस जातिमा बच्चा जन्मेकै दिनमा न्वारन गरिन्छ ।
    • यिनीहरुको पुरोहितलाई गुरुवा वा भर्रा भनिन्छ ।
    • राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा थारु जातीको संख्या कूल जनसंख्याको ६.२ % रहेका छ ।

    अत: थारु जाति विशिष्ट पहिचान र विशेषता बोकेको नेपालको आदिवासी जनजाति हो ।

    नमुना प्रश्न : व्यासी जातीको बारेमा लेख्नुहोस् । (५)

    • आफुलाई राजपूत भन्ने यो जाति नेपालको आदिवासी जनजातिमा सूचिकृत जनजाति मध्येको एक हो ।
    • यिनीहरुको मुख्य बसोबास दार्चुला जिल्लामा रहेको छ ।
    • यो जाति आफूलाई बेदव्यासका सन्तान भन्दछन् ।
    • यिनीहरु अर्धडुलुवा अवस्थामा रहेका छन् ।
    • यो जातिमा बच्चा जन्मिने वित्तिकै न्वारन गरिन्छ ।
    • यिनीहरुले “धवला” लाई मुख्य चाडको रुपमा मनाउँदछन् ।
    • राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालमा यिनीहरुको संख्या ५७१८ जना रहेको छ ।

    अत: व्यासी जाति छुट्टै पहिचान बोकेको नेपालको आदिवासी जनजाति हो ।

    नमुना प्रश्न : छठ पर्वबारे लेख्नुहोस् । (५)

    • छठ कार्तिक शुक्ल षष्ठीको दिन मनाईन्छ ।
    • यो खास गरी तराई क्षेत्रमा मनाईने प्रमुख चाड हो ।
    • यो पर्व सूर्यको उपासना गरेर मनाईन्छ ।
    • यो परिबारको सुख र समृद्धिको कामना गर्दै मनाईने चाड हो ।
    • यो चाडमा नदि एवं कुण्डहरुमा स्नान गरी सूर्यको पुजाआजा गरिन्छ ।
    • यो चाड हाल देशैभरि मनाउन थालिएको छ ।

    अत: छठ विशेषत: तराई क्षेत्रमा मनाईने नेपालको महत्वपूर्ण चाड हो ।

    नमुना प्रश्न : ल्होसार चाडबारे लेख्नुहोस् । (५)

    • यो चाड शेर्पा, गुरुङ, तामाङ्ग, थकाली, मगर लगायतका जातजातिले विशेष रुपमा मनाउँदछन्।
    • यस चाडमा मिठो खानेकुरा खाने र नाचगान गरी रमाईलो गरिन्छ ।
    • विभिन्न ल्होसारहरु मध्ये सोनाम, तमु, ग्याल्वो मुख्य ल्होसार हुन् ।
    • यो चाड नयाँ बर्षको अवसरमा मनाईन्छ ।
    • प्रत्येक बर्षको गणना मुसा, गाई, बाघ, बिरालो, चरा, सर्प, घोडा, भेँडा, बाँदर, गरुड, कुकुर, सुङ्गुर नाममा गरिन्छ ।
    • प्रत्येक १२ बर्षमा यो चक्र दोहोरिन्छ ।

    अत: ल्होसार चाड नेपालको मौलिक विशेषतायुक्त एक प्रमुख चाड हो ।

    नमुना प्रश्न : गुरुङ जातिको बारेमा लेख्नुहोस् ।

    • तमु जातिको नामले चिनिने नेपालको आदिवासी जनजातिभित्र पर्ने जाति गुरुङ हो ।
    • यिनीहरु गण्डकी क्षेत्रको तनहुँ, लमजुङ, कास्की, मनाङ लगायतका जिल्लाहरुमा बसोबास गर्दछन् ।
    • एक विशिष्ट पहिचान र मौलिक परम्परा रहेको जाति हो ।
    • यिनीहरुले नेपाल भरि नै छरिएर रहेका छन् ।
    • यिनीहरु खेतीपाती, पशुपालन, सेना, प्रहरी, पर्यटन लगायतका पेशाहरुमा संलग्न रहेका छन् ।
    • यिनीहरुले भोट बर्मेली अन्तर्गतको तमु भाषा बोल्दछन् ।
    • राष्ट्रिय जनगणना, २०७८ अनुसार यिनीहरुको जनसंख्या कूल जनसंख्याको १.८६% रहेको छ ।

    अत: गुरुङ विशेषगरी गण्डकी क्षेत्रमा बसोबास गर्ने मौलिक संस्कृति भएको जाति हो ।

    नमुना प्रश्न : धान नाचको छोटो परिचय दिनुहोस् । (५)

     धान नाच परिचय

    यो नाच कोशी प्रदेशको पहाडी जिल्लाहरु ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा लगायतका जिल्लाहरुमा किराँती समुदायले खेतीपाती लगाई सकेपछि फुर्सदको समयमा नाच्दै गाउँदै मनाईन्छ ।

    • यस नाचमा युवा युवतीहररुद्वारा सामुहिक नृत्य एवं गायन गरी आफ्नो आफ्नो मनको भावना प्रकट गरिन्छ ।
    • धान र पराल छुट्याउने क्रममा युवायुवतीहरु परस्परमा मिलेर नाच्ने, गाउने गरेकाले यसलाई धान नाच भनिएको हो ।
    • धान नाचमा गाईने गितलाई पालङ्मा भनिन्छ ।
    • यो नाचलाई लिम्बु भाषामा यालङ्मा भन्ने गरिन्छ ।
    • लिम्बुहरुको प्रमुख थलो पाँचथर भएकाले यहाँ मुख्य रुपमा यो नाच बढी प्रचलित छ ।

    अत: धान कोशी प्रदेशको प्रमुख नाच हो ।

    नमुना प्रश्न : झिझिया नाचको बारेमा छोटकरीमा उल्लेख गर्नुहोस् ।

        झिझिया नाच

    यो  विशेषगरी पूर्वी र मध्य तराईमा बसोबास गर्ने मैथली भाषाभाषीमा यो नाच प्रचलित छ ।

     

    • यो नाच घटस्थापनाको दिनदेखि बडादशैंसम्म रातको समयमा घर –घर डुल्दै नृत्य गरिन्छ ।
    • यस नृत्यमा महिलाहरु प्वाल पारेको माटोको घैलामा आगो बालेर शिरमा राखी समूहमा नृत्य गर्दछन् ।
    • देवी देवताको भजन भूतप्रेतको निन्दा गर्दै गितीमय पारमा नाच्ने यो नाचमा केहीले नाच्ने र केहीले गित गाउने गर्दछन् ।
    • यो नृत्य गर्दा भूतप्रेत नलाग्ने विश्वास गरिन्छ ।
    • यो सर्लाही र महोत्तरी जिल्लामा विशेष प्रचलित छ ।

    अत: झिझिया नाच तराईमा नाचिने मौलिक नाच हो ।

      नमुना प्रश्न : चण्डी नाचको छोटो परिचय दिनुहोस् । (५)

        चण्डी नाच

    • पूर्वी नेपालको ओखलढुंगा, खोटाङ, धनकुटा, भोजपुर लगायतका जिल्लाहरुमा किराँती राईहरुद्वरा नाचिने नाच चण्डी नाच हो ।
    • यो नाच बर्षको दुईपटक नाचिन्छ ।
    • यो नाच महिला र पुरुष लामो धर्को जस्तो आकारमा बाजाका तालमा हातखुट्टा चलाउँदै नाच्ने गर्दछन्।
    • यो प्रदेश १ को प्रमुख नाच हो ।
    • चण्डीनाचमा नाच्ने तरिकालाई सिली भनिन्छ ।

    अत: यो नाच पूर्वी तराईको प्रमुख नाच हो ।

    नमुना प्रश्न : निम्न विषयको छोटो टिप्पणी लेख्नुहोस् । (२.५×=५)

    • सिरुवा पर्व ख) चासोक पर्व
    • सिरुवा पर्व
    • यो झापा, मोरङ र सुनसरी जिल्लामा बसोबास गर्ने राजवंशी जनजातिको महत्वपूर्ण पर्व हो ।
    • सिरुवा पर्वको बेला राजवंशी जातिमा लसुन र प्याज घरबाहिर झुण्ड्याउने चलन छ ।
    • कुलदेवताको पूजा गरी हिलो तथा रङ्ग छ्यापेर यो चाड मनाईने गरिन्छ।
    • यो पर्वका बेला ७ प्रकारका तरकारी मिलाएर बनाईने सागभाजी बनाएर खाने गरिन्छ ।
    • सिरुवा पर्वमा यो समुदायका कुलदेवता ठाकूर विसरीको पूजा गर्ने र टिष्टाबूढीका नामले टिष्टा नदिको पूजा गर्ने गरिन्छ ।
    • चासोक पर्व
    • लिम्बु समुदायको विशिष्ट पर्व चालोक पर्व हो ।
    • यो कार्तिक महिनामा मनाईन्छ ।
    • न्वागी पूजा समेत भनिने यो पर्वमा पाकेका नयाँ फलफूल, अन्नबाली देवी देवतालाई चढाएर मात्र खाने चलन छ ।
    • यो पर्वमा रातभर धाननाच, च्याब्रुङनाच नाच्दै गीत गाई रमाईलो गरिन्छ।
    • यो पर्व मनाएको भोलिपल्ट छेलोहान्ने खेल आयोजना गरिन्छ ।

     

        अन्य केही जातीहरु

    शेर्पा जाति

    • शेर्पाहरुको मुख्य बासस्थान सोलुखुम्बु जिल्ला हो ।
    • शेर्पा भनेका पूर्वका बासिन्दाहरु हुन्।
    • उनिहरुको भाषा र संस्कृति तिब्वती परिवारको हो ।
    • यिनीहरुको प्रमुख पुजारीलाई लामा भनिन्छ।
    • यो जातीको श्राद्ध कर्मलाई घेवा भनिन्छ ।
    • यिनीहरुको कूल देवतालाई जिङ्ग भनिन्छ ।
    • उनीहरुको मुख्य चाड ल्होसार हो ।
    • उनीहरुको मुख्य धर्म बौद्ध हो ।
    • यिनीहरु पर्यटन, हिमाल आरोहण र खेतिकिसान जस्ता व्यवसायमा संलग्न छन् ।
    • बि.सं २०७८ सालको जनगणना अनुसार शेर्पा जातिको जनसंख्या ०.४५% रहेको छ ।

    नमुना प्रश्न : ल्होमी जातिको बारेमा उल्लेख गर्नुहोस् ।

    ल्होमी

    • संखुवासभा जिल्लामा यो जातीको मुख्य बसोबास रहेको छ ।
    • यिनीहरुलाई कारभोटे पनि भनिन्छ ।
    • यिनीहरुले बोन्पो र बौद्ध धर्म मान्दछन् ।
    • यिनीहरुले गाउँको मुखियालाई पोम्बो भन्दछन् ।
    • यिनीहरुको प्रमुख व्यवसाय कृषि हो ।

    राजवंशी

    • यो जातिको मुख्य बसोबास झापा, मोरङ र सुनसरी जिल्लामा रहेको छ।
    • यो जातिको प्रमुख पर्व जितिया पर्व हो ।
    • यस जातीमा डंगुवा प्रथा रहेको छ ।
    • यो जातीले नयाँ बर्ष मान्दा सिरुवा पर्व मनाउँदछन् ।
    • सिरुवा पर्व मान्दा हिलो छ्यापा छ्याप गरेर मनाईन्छ ।
    • भूतप्रेतमा बढी विश्वास गर्ने यो जातीमा धार्मिक झाँक्रीलाई गुरु गोसाई भनिन्छ ।

    लेप्चा जाति

    • यो जातिको मुख्य बासस्थान ईलाम जिल्ला हो ।
    • जातिय विभेद नगर्ने यो जातिहरु कञ्चनजंघा हिमाललाई देवता मान्दछन् ।
    • यो जातिमा पूरोहितलाई बिजुवा भनिन्छ ।
    • यो जातिको प्रमुख धार्मिक ग्रन्थ अस्ताच्यो हो ।
    • यो जातिमा विहेका केटी माग्न जाँदा केटालाई सिस्नु हानेर उसको धैर्यताको परीक्षण गरिन्छ ।
    • यो जातिमा महिला सुत्केरी भएको ३ दिनमा जाँडरक्सी खाई जोख्याईन्छ ।

                                     धिमाल

    • झापा र मोरङ जिल्लामा बस्ने धिमाललाई तराईको लिम्बु पनि भनिन्छ।
    • सोझा र अशिक्षित यो जातिको आर्थिकस्तर न्यून रहेको पाईन्छ ।
    • यो जातिको मुख्य चाड सिरिजात हो ।
    • यो जातिमा बच्चा जन्मिएपछि मात्र विवाह गर्ने चलन रहेको छ ।
    • यो जाति आफूलाई आदिवासी भन्न रुचाउँदछ ।

     नमुना प्रश्न : नेपालमा बोलिने प्रमुख भाषाहरु उल्लेख गर्नुहोस् । (५)

    नेपालमा बोलिने प्रमुख भाषाहरु

    भाषा सम्पर्कको माध्यम हो । नेपालमा बोलिने प्रमुख भाषाहरु देहायबमोजिम रहेका छन् ।

    • भारोपेली भाषा परिवार
    • संसारमा सबैभन्दा बढी बोलिने भाषा परिवार
    • नेपालमा बोलिने नेपाली,मैथेली, भोजपुरी, थारु, अवधि, राजवंशी, माझी, दरै, बोटे, दनुवारी आदि भाषाहरु यस भाषा परिवार अन्तर्गत पर्ने
    • चिनियाँ तिब्यती भाषा परिवार
    • संसारको भारोपेली पछि बोलिने भाषा परिवार
    • नेपालमा यस भाषा परिवार अन्तर्गत लिम्बु, नेवारी, तामाङ्ग, मगर, गुरुङ्ग, शेर्पा आदि भाषा पर्ने
    • द्रविड भाषा परिवार
    • भारतमा बोलिने तमिल, तेलगु यस भाषा अन्तर्गत पर्ने
    • नेपालमा बोलिने झाँगड भाषा द्रविड भाषा हो ।
    • आग्नेय भाषा परिवार
    • मुख्यगरी भारतमा बोलिने
    • नेपालमा सन्थाल वा सतार जातिले यो भाषा बोल्ने

    अत: नेपाल बहुजातीय, बहुभाषिक मुलुक हो । यहाँ विभिन्न प्रकारका भाषाहरु बोलिन्छन् ।

     

    नमुना प्रश्न : छोटकरीमा टिप्पणी लेख्नुहोस् । (२.५×=५)

    • आदिवासी समुदाय ख) जनजाति 
    • आदिवासी
    • कुनै पनि मुलुकमा प्राचीन समयदेखि बसोबास गर्दै आईरहेका जाति तथा समुदायलाई आदिवासी भनिन्छ ।
    • यिनीहरुको आफ्नै मौलिक परम्परा रहेको हुन्छ ।
    • आदिवासी जमिनको स्वामित्वसँग सम्बन्धित शब्द हो ।
    • यसको मौलिक भाषा, सभ्यता तथा संस्कृति रहेको हुन्छ ।
    • यसलाई आदिम निवासीको नामले समेत चिनिन्छ ।

    अत: आदिवासी कुनै पनि क्षेत्रमा परम्परादेखि बसोबास गर्दै आएको जाति हो ।

    • जनजाति
    • नेपाल १४२ जातजाति र १२४ भाषाभाषी भएको मुलुक हो।
    • आफ्नै मौलिक भाषा, धर्म र संस्कृति भई छुट्टै पहिचान बनाएको जाति नै जनजाति हो ।
    • हाल नेपालमा सूचीकृत आदिवासी जनजातिको संख्या ६० छ ।
    • जसअन्तर्गत उन्नत समुह अन्तर्गत २, सुविधाबञ्चित समुह अन्तर्गत १५, सीमान्तकृत समूह अन्तर्गत २१, अति सीमान्तकृत समूह अन्तर्गत १२ र लोपोन्मुख समूह अन्तर्गत १० जनजातिहरु पर्दछन्।
    • हिमाली क्षेत्रका जनजातिहरु १९, पहाडी क्षेत्रका जनजातिहरु २३, भित्रि मधेशका जनजातिहरु ७ र तराई क्षेत्रका जनजातिहरु ११ रहेका छन् ।

    अत: जनजातिहरु छुट्टै धार्मिक तथा सांस्कृतिक पहिचान बनाएका जातिहरु हुन् ।

    विश्व सम्पदामा सूचीकृत प्राकृतिक तथा साँस्कृतिक सम्पदाहरु

    • चितवन राष्ट्रिय निकुञ्ज
    • सगरमाथा राष्ट्रिय निकुञ्ज
    • लुम्बिनी क्षेत्र
    • पशुपति क्षेत्र
    • बौद्धनाथ
    • चाँगुनारायण
    • स्वयम्भूनाथ
    • हनुमानढोका दरबार क्षेत्र
    • पाटन दरबार क्षेत्र
    • भक्तपुर दरबार क्षेत्र

    अत: विभिन्न १० वटा नेपालका सम्पदानहरुलाई विश्व सम्पदामा सूचीकृत गरिएको छ ।

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal

    New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100