राजविराज — जनमत पार्टीका अध्यक्ष एवं सप्तरी क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सिके राउतले आफ्नो कार्यकालमा जिल्लाका हरेक परिवारमा कम्तीमा एकजनालाई रोजगार दिने दाबी गरेका छन्।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि प्रमाणपत्र ग्रहण पश्चात बोल्दै राउतले रोजगारी सृजना गरेर हरेक परिवारमा कम्तिमा एकजनालाई रोजगारी दिने गरी काम गर्ने बताए।
सप्तरीको साक्षरता दर ५४ प्रतिशत मात्र रहेको बताउँदै अध्यक्ष राउतले यो कार्यकालमा सप्तरी जिल्लालाई पूर्ण साक्षर जिल्लाको रुपमा विकसित गर्ने बताए। ‘सप्तरीलाई सतप्रतिशत साक्षर जिल्ला बनाउने छु,’ राउतले भने।
जिल्लामा ६६ हजार बालबालिका कुपोषित रहेको बताउँदै उनले कुपोषण हटाउनुका साथै स्वास्थ्य सेवा सर्वसुलभ ढंगबाट जनताले पाउने गरी व्यवस्थापन गराउन लाग्ने बताए। किसानको मलखाद्य र कृषि मिटर,कृषि ऋण लगायतका पहुँचका लागि आवश्यक कार्य गर्ने उनले बताए।