सुमना मन्त्री श्रेष्ठले थालिन् शिक्षक सरुवाको मापदण्ड बनाउन सुझाव संकलन - Chaitanya News
  • 2026-07-16
  • 20:48:57
  • बिहिबार,आषाढ ३२, २०८३
  • सुमना मन्त्री श्रेष्ठले थालिन् शिक्षक सरुवाको मापदण्ड बनाउन सुझाव संकलन

    सुमना मन्त्री श्रेष्ठले थालिन् शिक्षक सरुवाको मापदण्ड बनाउन सुझाव संकलन

    काठमाडौँ–  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सुझाव संकलन थालेकी छन्। विभिन्न किसिमका गुनासा आएपछि जिल्लान्तर शिक्षक सरुवा स्थगित गरेकी मन्त्री श्रेष्ठले सुशिक्षक सरुवा मापदण्ड निर्माणका लागि सुझाव संकलन थालेकी हुन्।

    उनले प्रधानाध्यापक, शिक्षक तथा अन्य सरोकारवालासँग छलफल गरेकी छन्। पहिलो चरणमा गत चैत ३० गते सात वटै प्रदेशका १३ जना प्रतिनिधि प्रधानाध्यापकसँग अनलाइन संवाद गरिएको मन्त्रालयले जनाएको छ।

    प्रधानाध्यापकले शिक्षक सरुवा मापदण्डसँगै विद्यालय सञ्चालन तथा व्यवस्थापन मापदण्ड र नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्नालगायतका विषयमा सुझाव दिएका छन्।

    आइतबार बैशाख २ गते पनि विभिन्न प्रदेशका शिक्षकसँग सुझाव सङ्कलन गर्न छलफल गरिएको मन्त्रालयले जनाएको छ। विभिन्न प्रदेश र समुदायका १३ जना प्रतिनिधि शिक्षकसँग शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत मन्त्री श्रेष्ठले सुझाव लिएको केन्द्रको भनाई छ।

    केन्द्रले सुझावको अभिलेख गर्दै शिक्षक सरुवाको मापदण्ड बनाइरहेको छ।

    पारदर्शी नीति निर्माण र सहभागितामूलक नेतृत्वका लागि सबै सरोकारवालासँग छलफल गरेरमात्रै मापदण्ड मस्यौदा गर्ने शिक्षामन्त्रीले प्रतिबद्धता जनाएकी थिइन्। छलफलमा सहभागीले शिक्षक सरुवा पारदर्शी, सहज र व्यवस्थित हुनुपर्ने सुझाएका छन्।

    उनीहरूले जिल्लान्तर सरुवा बाह्रै महिना हुने व्यवस्थालाई शैक्षिक सत्रसँग मिलान हुने गरी वर्षको एक पटकमात्रै हुनुपर्ने, शिक्षक पदपूर्तिका लागि दरबन्दी लुकाएर विज्ञापनमा नपठाउनेलाई कारबाहीको प्रावधान, शिक्षकलाई पायक पर्ने र स्वार्थको द्वन्द्व नहुने ठाउँमा सरुवा गर्नुपर्नेलगायतका सुझाव दिएका छन्।