काठमाडौं– काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आइतबार सम्पन्न आम निर्वाचनको मतगणना सकिइसकेको छ। निर्वाचनमा कतिपय निर्वाचन क्षेत्रका उम्मेदवारको चर्चा व्यापक भए। उनीहरूको प्रचारप्रसार शैलीदेखि व्यक्तित्व र बौद्धिकता मिडियादेखि आम सर्वसाधारणसम्म चर्चाको विषय बन्थ्यो। तर तिनै उम्मेदवारहरूले यो निर्वाचनमा विजय हासिल गर्न सकेनन्।
काठमाडौं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले विजय हासिल गर्न सकेनन्। उनले ४ हजार ११५ मत ल्याएर तेस्रो स्थान हासिल गरे। यस्तै सोही क्षेत्रबाट पूर्वडीआईजी समेत रहेका नेपाल सुशासन पार्टीका रमेश खरेलले पराजय भोगे। उनले ३ हजार १२४ मात मात्रै पाए।
यस्तै काठमाडौं १ का अर्का चर्चित उम्मेदवार हुन्, राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र। उनले पनि जित्न सकेनन्। कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहसँग उनी झिनो मतान्तरले पराजित भएका हुन्। सिंहले ७ हजार १४३ मत पाउँदा मिश्रले ७ हजार १८ मत पाए।
यस्तै काठमाडौं २ बाट पूर्वसभामुख ओनसरी घर्तीले पराजय भोगिन्। सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले जित्दा ओनसरी चौथो बनिन्। ओनसरीले ९ हजार ४४९ मत ल्याएर चौथो स्थान हासिल गरेकी हुन्। सोही क्षेत्रमा चर्चामा रहेकी राप्रपाकी कुन्ती पोखरेलले पनि ११ हजार १४ मत ल्याएर पराजय भोगिन्।
यस्तै काठमाडौं क्षेत्र नम्बर ४ मा चर्चामा रहेका अर्का उम्मेदवार राजन भट्टराईले जित्न सकेनन्। एमालेका उम्मेदवार उनी कांग्रेस नेता गगन थापासँग पराजित भए। गगनले २१ हजार ३०२ मत पाउँदा राजनले १३ हजार ८५५ मत मात्रै पाए।
यस्तै काठमाडौंँ ५ बाट कांग्रेसका युवा नेता प्रदीप पौडेल विजयी हुँदा सोही क्षेत्रमा चर्चामा रहेका श्रीराम गुरुङ, हेमराज थापा, रञ्जु दर्शना र ईश्वर पोखरेलसमेत पराजित बने। एमालेका उम्मेदवार ईश्वरले १० हजार १७५ मत पाएर पराजय भोगे भने प्रदीपले १५ हजार २३७ मत पाए।
यस्तै स्वतन्त्र उम्मेदवार श्रीरामले २७६१ मत पाउँदा हेमराजले २४४० मत पाए। यस्तै रञ्जुले मात्र ६०० मत पाइन्। उनीहरूले प्रचारप्रसार आक्रामक रुपमा गरेका थिए भने युवा भएकाले चर्चा पनि राम्रै पाएका थिए। तर, पोखरेललाई भने मतदाताले हेविवेट भएपनि रुचाएनन्।
यस्तै काठमाडौं ६ मा पूर्वआईजीपी सर्वेन्द्र खनालको निकै चर्चा भयो। चुनावअघि एमालेमा प्रवेश गरेर सो क्षेत्रबाट टिकट पाएका उनले विजय हासिल गर्न सकेनन्। यस्तै यसअघि विजयी भएका कांग्रेसका भीमसेनदास प्रधान पनि पराजित भए। सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले १४ हजार २०४ मतका साथ विजय हासिल गर्दा सर्वेन्द्रले ८ हजार ९११ मत पाए । यस्तै भीमसेनदासले ८ हजार ८०५ मत पाए।
यतै काठमाडौं क्षेत्र नम्बर ७ मा मानुषी यमि भट्टराईको निकै चर्चा भयो। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईकी छोरी उनले जित्न सकिनन्। सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली विजयी हुँदा मानुषी तेस्रो भइन्। पराजुलीले ८ हजार ७४३ मत ल्याएर विजय हासिल गरेका हुन् भने मानुषीले ६ हजार ६३ मत मात्रै ल्याउन सकिन्।
यस्तै क्षेत्र नम्बर ८ मा स्वतन्त्र उम्मेदवार सुमन सायमि र एकीकृत समाजवादी पार्टीका उम्मेदवार जीवनराम श्रेष्ठले हारे। सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका विराज भक्त श्रेष्ठ विजयी भए। यसअघिका विजयी जीवनराम ४ हजार ३८२ मत पाएर तेस्रो भए भने दोस्रोमा स्वतन्त्र उम्मेदवार सायमी भए। सायमी सम्पदा अभियन्ताका रुपमा समाजसेवा हुँदै राजनीतिमा आएका हुन्। सो क्षेत्रमा विजयी भएका विराजले १० हजार १०५ मत पाए।
यस्तै काठमाडौं ९ मा उम्मेदवार बनेका मिलन पाण्डे पनि चर्चामा रहे। तर नतिजाचाहिँ एमालेका कृष्ण गोपाल श्रेष्ठको पक्षमा आयो। मिलनले साझा पार्टीबाट मात्र २३२७ मत पाए। मतगणनाको नतिजाको ट्रेन्ड हेर्दा काठमाडौंमा मतदाताले केही नयाँ र युवा उम्मेदवारलाई छाने तर कतिपय चर्चामा रहेका उम्मेदवारले आशातीत मत पाउन सकेनन्।