काठमाडौं- कैलालीका दुईवटा निर्वाचन क्षेत्रमा प्रतिनिधि सभातर्फ नागरिक उन्मुक्ति पार्टीको सुरुवाती अग्रता कायमै रहेको छ। प्राप्त मत परिणाम अनुसार सो पार्टीले क्षेत्र नं. १ र २ मा निरन्तरता अग्रता लिइरहेको छ।
क्षेत्र नं. १ मा पार्टीकी अध्यक्ष समेत रहेकी रञ्जिता श्रेष्ठले मतान्तर फराकिलो बनाउँदै लगेकी छन्। उनले प्रतिस्पर्धी गठबन्धनका तर्फबाट काँग्रेस केन्द्रिय सदस्य पूर्वमन्त्री रामजनम चौधरीलाई ६ हजार ६२ मतले पछि पारेकी छन्।
अहिलेसम्म गणना भएको ३१ हजार ९५४ मतमा श्रेष्ठले १४ हजार ९१४ र चौधरीले ८ हजार ८५२ मत पाएका छन्। नेकपा एमालेका तपेन्द्रबहादुर रावल ३ हजार १६३ मतका साथ तेस्रो स्थानमा छन्। कुल १ लाख ७ हजार ६७२ मतदाता रहेको यस क्षेत्रमा ६४ हजार ९९९ मत खसेको थियो।
त्यस्तै क्षेत्र नं. २ मा नागरिक उन्मुक्तिकै अरुण चौधरीको अग्रता छ। अहिलेसम्म गणना भएको १३ हजार ६३ मतमा उनले ४ हजार ४९५ मत पाएका छन्। गठबन्धनका तर्फबाट माओवादीका भगत बडुवालले ४ हजार १९९ मत पाएर मतान्तरलाई कम बनाएका छन्। तेस्रो स्थानमा रहेका नेकपा एमालेका झपटबहादुर रावलले ३ हजार ३९ मत पाएका छन्।
यहाँ १ लाख ४ हजार ९०० मध्ये ६० हजार ६२९ मत खसेको थियो। मंसिर ४ गते सम्पन्न निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले कैलाली क्षेत्र नं. ३ बाट विजयी सुरुवात गरेको छ। सो पार्टीका तर्फबाट गंगाराम चौधरी विजयी भैसकेका छन्।
उनी निकटतम प्रतिद्वन्दी भन्दा ५ हजार ३७१ मतान्तरले विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। उनले २३ हजार १२० मत पाएका छन भने निकटतम प्रतिद्वन्दी गठबन्धनका कृष्ण कुमार चौधरीले १७ हजार ७४९ मत पाएका छन्। त्यस्तै एमाले उम्मेदवार गौरीशंकर थारुले ९ हजार ८७४ मत र राप्रपाका बिरेन्द्रबहादुर बमले ७ हजार ४७ मत पाएका छन्।
१ लाख ७ हजार ६५९ मतदाता रहेको यस क्षेत्रमा ६३ हजार ४४० मत खसेको थियो। जसमध्ये ४ हजार २१ मत बदर भएको छ।