शिक्षा मन्त्रालयको इन्टर्नसिप कार्यक्रममा राजनीति नगर्न शिक्षामन्त्री श्रेष्ठको आग्रह - Chaitanya News
  • 2026-07-16
  • 19:33:49
  • बिहिबार,आषाढ ३२, २०८३
  • शिक्षा मन्त्रालयको इन्टर्नसिप कार्यक्रममा राजनीति नगर्न शिक्षामन्त्री श्रेष्ठको आग्रह

    शिक्षा मन्त्रालयको इन्टर्नसिप कार्यक्रममा राजनीति नगर्न शिक्षामन्त्री श्रेष्ठको आग्रह

    काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षा मन्त्रालयले इन्टर्नसिप मार्फत विद्यार्थीलाई काम सिकाउन लागेको बताएकी छिन्।

    आज (बुधबार) प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले ‘प्रशिक्षार्थी (इन्टर्न) सम्बन्धी कार्यविधि २०८०’ मार्फत विद्यार्थीहरूलाई काम सिकाउन लागेको बताएकी हुन्।

    उनले भनिन्, ‘भातृ सङ्गठनबाट युवा विद्यार्थीहरूले राजनीति सिक्ने हो भन्नुहुन्छ। विद्यार्थीहरूले राजनीति मात्र सिक्ने हो। प्रशासनको काम सिक्न पर्दैन र। हाम्रो देशमा नेता मात्र चाहिएको हो। अबल कर्मचारी चाहिएको हो। नीति निर्माता चाहिएको हो। त्यसो हो भने हामीले काम गर्न सिक नसिकाउने, शिक्षा मन्त्रालयले गर्न खोजेको हो।’

    उनले शिक्षा मन्त्रालयले विद्यार्थीलाई काम गर्न सिकाउन लागेको हुँदा यो कार्यक्रममा राजनीति नगर्न पनि उनले आग्रह गरेकी छिन्।

    मन्त्रालयले ‘प्रशिक्षार्थी (इन्टर्न) सम्बन्धी कार्यविधि २०८०’ ल्याइएको छ। सोमबार मन्त्री स्तरीय बैठकबाट उक्त कार्यविधि पारित भएको हो।

    सुशासन व्यवस्थापन तथा सञ्चालन नियमावली २०६५को नियम ९ को उपनियम (१) ले दिएको अधिकार प्रयोग गरी यो कार्यविधि ल्याइएको कार्यविधिमा उल्लेख छ।

    ‘उच्च शिक्षा महाशाखाका सहसचिवको संयोजकमा गठित प्रशिक्षार्थी छनौट समितिले विद्यार्थीको रुचि, विद्यार्थीले अध्ययन गरेको विषय र इन्टर्नसिपसँग सम्बन्धित विषयमा मन्त्रालयले निर्धारण गरेको आधारमा इन्टर्नसिपमा सहभागी हुने कार्यक्षेत्रगत पहिचान गरिने व्यवस्था गरिएको छ,’कार्यविधिमा भनिएको छ।