काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मधेस प्रदेशमा एसइईमा चिट चोरिएको विषयको दोष त्यहाँका सिडिओ, एसपी र निरीक्षकले लिनुपर्ने बताएका छन्।
आज (सोमबार) प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले मधेस प्रदेशका विभिन्न जिल्लामा एसइईमा चिट चोराइएको र आम मधेसलाई दोष दिइएको भन्दै मधेसलाई दोष नदिन आग्रह समेत गरे।
सरकारले खटाएका प्रमुख जिल्ला अधिकारी, एसपी र निरीक्षकहरूले चिट चोर्न छुट दिएको भन्दै चिट चोराउनुमा मधेसको कुनै दोष नभएको उनको भनाइ थियो। सांसद झाले परीक्षालाई आवश्यक पद्धति र कडाइका साथ परीक्षा गर्न आग्रह गर्दै मधेसलाई दोष नदिन आग्रह गरे।
उनले भने, ‘मधेसले पहाडलाई पढाउनको लागि कुनै बेला उक्लिने गर्थ्यो। तर, अहिले मधेस आफैँ एसइई परीक्षा हुँदै गर्दाखेरी चिट चोर्नेको चपेटामा पर्दैछ। यसको दोष मधेसले किन खेप्दैछ? काठमाडौँमै सुनिन्छ, कसैको ड्राइभिङ लाइसेन्स छैन भने मधेस झरौँ न त्यहाँ बनिहाल्छ। कोही एसइई पास हुन सकेन भने मधेस झरौँ त्यहाँ पास भइहाल्छ भन्ने कुरा। तर, त्यसको इमेजको कष्ट मधेसले तिरिराखेको छ। त्यो हामीले किन तिर्ने? किनकि यहीँबाट खटाइएको सिडिओ, एसपी, निरीक्षक सबै अधिकारीहरूले छुट दिइराखेको छ, त्यसको मूल्य मधेसले तिरिराखेको छ। तर यसको दोष हामी मधेसी होइनौँ, यसको दोष केन्द्रबाट खटाइने सिडिओ, एसपी र अरु अधिकारीहरू हुन्। त्यसैले यहाँ सबैको ध्यानाकर्षण गराउन चाहन्छु, मधेसमा हुँदै गरेको परीक्षालाई गम्भीरतापूर्वक लिइयोस्। आवश्यक विधि, पद्धति र कडाइका साथ परीक्षा गरियोस्। ताकि यसको मूल्य भविष्यमा मधेसले तिर्नु नपरोस्।