एसइई आजबाट सुरू, ५ लाख बढी विद्यार्थी परीक्षामा सहभागी - Chaitanya News
  • 2026-07-16
  • 19:38:29
  • बिहिबार,आषाढ ३२, २०८३
  • एसइई आजबाट सुरू, ५ लाख बढी विद्यार्थी परीक्षामा सहभागी

    एसइई आजबाट सुरू, ५ लाख बढी विद्यार्थी परीक्षामा सहभागी

    काठमाडौँ– माध्यामिक शिक्षा परीक्षा (एसइई)आजबाट सुरु भएको छ।

    आजबाट सुरु भएको एसइईमा पाँच लाख ४ हजार ४ सय १४ विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

    परीक्षा बिहान ८ बजेबाट सुरु भएको छ। पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुँदैछ। एसइईका लागि देशभर दुई हजार ६४ परीक्षा केन्द्र तोकिएका छन्। परीक्षा व्यवस्थित तुल्याउन ७७ हजार ४ सय ८५ जना जनशक्ति परिचालन गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

    बोर्डले आज (चैत १५) गतेदेखि सुरु हुने परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुने कक्षा १० परीक्षा नियन्त्रण कार्यालयका एसइई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए। उनका अनुसार कूल परीक्षार्थीमध्ये पाँच सय छ विद्यालयका १५ हजार सात सय ४९ जना परीक्षार्थी प्राविधिक धारतर्फका छन्।

    परीक्षामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका १५ जना परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए। उनका अनुसार बाँके, चितवन, दाङ, गोरखा, इलाम, खोटाङ, सुर्खेतबाट एकरएक, पर्सा र सप्तरीबाट दुई दुई, रुपन्देहीबाट चार जना छन्।

    परीक्षाका लागि कार्यालयले दुई हजार ६४ परीक्षा केन्द्र निर्धारण गरेको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए। उनका अनुसार सबैभन्दा कम मनाङ, मुस्ताङमा एकरएक र सबैभन्दा बढी काठमाडौँमा एक सय २७ परीक्षा केन्द्र निर्धारण गरिएको छ।

    नेपाल बाहिर एक परीक्षा केन्द्र

    यस वर्षको एसइई परीषमा जापानबाट २३ जना सहभागी हुने परीक्षा नियन्त्रक पौडेलले बताए। उनका अनुसार जापानमा रहेको एभरेष्ट स्कुलमा एक परीक्षा केन्द्रबाट १५ छात्रा र आठ छात्र गरी २३ विद्यार्थीले परीक्षा दिने भएका छन्।

    देशभरका दुई हजार ६४ केन्द्रमा ३० हजार ९ सय ४५ जना सुरक्षाकर्मी परिचालन गरिने बोर्डले बताएको छ।

    परीक्षा उत्तीर्ण हुन ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट विसं २०७८ पुस ७ गते ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ जारी गरेपनि कार्यान्वयनमा आउन सकेको थिएन। यस वर्षको परीक्षामा भने बोर्डले ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ लागू गरेको छ।

    विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने प्रावधान रहेकामा बोर्डले यस वर्ष पहिलो पटक निर्देशिका कार्यान्वयनमा ल्याएसँगै एसइई परीक्षाको नतिजामा विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अङ्क ल्याउनै पर्ने भएको छ।

    परीक्षा नियन्त्रक पौडेलले परीक्षार्थीले कम्तीमा सैद्धान्तिक विषयमा ३५ अङ्क र प्रयोगात्मकमा ४० अङ्क ल्याउनै पर्ने बताउँदै एक सय पूर्णाङ्क रहेको विषयमा ३५ र ७५ पूर्णाङ्क रहेको विषयमा २७ अङ्क ल्याउनु पर्ने जानकारी दिए।

    परीक्षा नियन्त्रक पौडेलले ३५ प्रतिशतभन्दा कम अङ्क ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनः मौका परीक्षामा सहभागी हुनुपर्ने प्रावधान रहेको बताए। उनका अनुसार ३५ अङ्क ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको छ। विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छन्।