काठमाडौँ– नुवाकोटको एक स्थानीय तहले गाउँपालिका स्तरीय वार्षिक परीक्षाको प्रश्नपत्रमा गम्भीर लापरबाही गरेको खुलेको छ। तारकेश्वर गाउँपालिकाले कक्षा ६ र ७ को ‘सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा’ विषयको प्रश्नपत्र एउटै बनाएको पाइएको हो।
मंगलबार प्रश्नपत्रमा भएको यो हदको त्रुटि विद्यार्थीलाई वितरण गर्ने बेलामा विद्यालयहरूले पत्तो पाएका थिए। वार्षिक परीक्षा समितिका संयोजक राजाराम अधिकारीको नेतृत्वमा बनाइएको प्रश्न कक्षा ६ को पाठ्यक्रमअनुसार मिल्दो भए पनि कक्षा ७ को पाठ्यक्रमअनुसार भने मिल्दो थिएन। परीक्षा समितिले यो हदको लापरबाही गरेको भन्दै आलोचना भएको छ।
गाउँपालिकाका उपाध्यक्ष हरि रिमालले प्रश्नपत्र बनाउने क्रममा लापरबाही हुँदा यस्तो भएको बताए। उनले भने, ‘यो लापरबाही हो। यसबारे बैठकमा छलफलको विषय हुन्छ।’ शिक्षा समितिले प्रश्नपत्र ठिक भए नभएको रुजु गरेरमात्रै छपाइ गर्नुपर्ने भए पनि त्यसो नगरिकै कारण यस्तो त्रुटि भएको हुनसक्ने उनको भनाइ छ। प्रश्नपत्र गल्ती भएको पाइएसँगै सो दिन गाउँपालिकाका विद्यालयहरूले अर्को विकल्प तयार गरेर ढिलागरी कक्षा ७ को परीक्षा सञ्चालन गरेको बताइएको छ।
यस विषयमा शिक्षा समितिका संयोजक समेत रहेका गाउँपालिकाका अध्यक्ष अधिकारीले भने यसबारे प्रतिक्रिया दिन चाहेनन्। तर, गाउँपालिकाको प्रश्नपत्र भने यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ। सार्वजनिक प्रश्नपत्रमा कक्षा ६ को प्रश्नपत्र रातो र ७ को सेतो रंगको हुनुबाहेक अरु केही फरक छैन।
तारकेश्वर गाउँपालिकाको शिक्षा क्षेत्रमा निरन्तर नै विवाद हुँदै आएको छ। गाउँपालिका अध्यक्षले मनपरी सरुवा गरेको भन्दै यो वर्ष लामो समय विवाद भएको थियो। उसो त गाउँपालिकाका अध्यक्ष कांग्रेसबाट निर्वाचित भए पनि सोही पार्टीबाट निर्वाचित केही वडाध्यक्षले नै अध्यक्ष अधिकारीको कार्यशैलीको विरोध गर्दै आएका छन्।
![]()
![]()