शिक्षक महासङ्घले ‘विद्यालय शिक्षा विधेयक’ को पुनर्लेखन नमान्ने - Chaitanya News
  • 2026-07-16
  • 19:33:29
  • बिहिबार,आषाढ ३२, २०८३
  • शिक्षक महासङ्घले ‘विद्यालय शिक्षा विधेयक’ को पुनर्लेखन नमान्ने

    शिक्षक महासङ्घले ‘विद्यालय शिक्षा विधेयक’ को पुनर्लेखन नमान्ने

    काठमाडौँ– नेपाल शिक्षक महासङ्घले संसदीय समितिमा रहेको ‘विद्यालय शिक्षा विधेयक’ को पुनर्लेखन नमान्ने भएको छ। छलफलको क्रममा रहेको विधेयकमाथि पुनर्लेखन हुनुपर्ने आवाज उठिरहेको बेला महासङ्घले उक्त प्रस्ताव नमान्ने बताएको हो।

    विधेयकमा आवश्यक संशोधन गरेर मात्रै पारित गरिनुपर्ने धारणा महासङ्घको छ। महासङ्घ अध्यक्ष कमला तुलाधरले विधेयकमा पुनर्लेखन नभई संशोधन गरेर मात्रै अगाडि बढ्नुपर्ने बताए।

    ५२ वर्षपछि विधेयक ल्याउन खोजिएको छ। कतिपयले यसलाई पुनर्लेखन गर्नुपर्छ भनिरहेका छन्। यसको पुनर्लेखन हामीलाई स्वीकार्य हुँदैन। आवश्यक विषयहरू संशोधन गरेर चाँडो भन्दा चाँडो पारित गर्नुपर्छ भन्ने हो। पुनर्लेखनको पक्षमा लागियो भने ऐन आउँदैन’ अध्यक्ष तुलाधरले भनिन्।

    विधेयकमा संशोधन गर्नुपर्ने विषयमा सांसदहरूले प्रस्ताव हालिसकेको भन्दै उनीहरूको प्रस्तावको आधारमा संशोधन मात्रै गर्नुपर्ने उनको भनाइ थियो। संशोधन नभई विधेयकमाथि पुनर्लेखनको कुरा गर्न थाल्यो भने ऐन नै नआउने खतरा बढी रहेको बताइन्।

    विधेयकमा १५२ जना सांसदहरूले संशोधन प्रस्ताव हालेका छन्। उनीहरूको तर्फबाट एक हजार ७५८ विवरणमा संशोधन प्रस्ताव दर्ता भएका छन्। धेरै विषयमा संशोधन प्रस्ताव दर्ता भएको भन्दै कतिपय सरोकारवाला निकायले विधेयक संशोधन नभई पुनर्लेखन नै हुनुपर्ने आवाज उठाइरहेका छन्। शिक्षाविद्हरूले समेत विधेयक संशोधन नभई पुनर्लेखन गर्नुपर्ने पक्षमा तर्क अघि सार्दै आएका छन्। महासङ्घले भने पुनर्लेखन नभई संशोधन गरेर मात्रै जानुपर्ने अडान लिएको हो।