टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध पहिले बलिङ गर्ने - Chaitanya News
  • 2026-06-07
  • 11:08:53
  • आइतबार,जेठ २४, २०८३
  • टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध पहिले बलिङ गर्ने

    टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध पहिले बलिङ गर्ने

    काठमाडौँ– त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपाली टोलीले नामिबियाविरुद्ध पहिले बलिङ गर्ने भएको छ। कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार नामिबियाले टस जिती पहिले ब्याटिङको निर्णय लिएको हो।

    नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगिता खेल्न आएका दुई टोली नामिबिया र नेदरल्यान्ड्ससँग टी–२० शृङ्खला खेल्न लागेको हो। आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा यो शृङ्खला खेल्न लागिएको हो।

    नेपालसँगै नामिबिया र नेदरल्यान्ड्स पनि आगामी जुन १ देखि २९ तारिखसमम सञ्चालन हुने टी–२० विश्वकपमा छनोट भएका छन्। त्यसैले मंगलबारदेखि सुरु हुने त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाले यी तीनवटै राष्ट्रलाई सहयोग पुग्नेछ।

    त्रिकोणात्मक टी–२० शृङ्खलाको पहिलो चरणमा तीनवटै टोलीले एक–अर्कासँग दुई–दुई खेल खेल्नेछन्। पहिलो खेल मंगलबार नेपाल र नामिबियाबिच खेलिने छ। खेल विहान ११ः३० बजे सुरु हुनेछ। नेपालले दोस्रो खेल बुधबार नेदरल्यान्ड्ससँग खेल्नेछ।

    फेब्रुअरी २९ मा नामिबिया र नेदरल्यान्ड्सबिच तेस्रो खेल हुनेछ। मार्च १ तारिखमा नेपाल र नामिबियाबिच चौथो तथा मार्च २ तारिखमा नेपाल र नेदरल्यान्ड्सबिच पाँचौँ खेल हुनेछ। छैटौँ खेल मार्च ३ तारिखमा नामिबिया र नेदरल्यान्ड्सबिच खेलिने छ।

    त्यसपछि अंक तालिकाको माथिल्लो स्थानमा रहने दुई टोली प्रतियोगिताको फाइनलमा पुग्नेछन्। फाइनल खेल मार्च ५ तारिखमा खेलिने क्यानले जनाएको छ। आगामी आईसीसी टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ।

    नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन्। नामिबिया भने विश्वकपको समूह ‘बी’ मा रहेको छ। त्यो समूहमा इङ्ल्यान्ड, अस्ट्रेलिया, स्कटल्यान्ड र ओमान रहेका छन्।

    त्रिकोणात्मक शृङ्खलाका लागि क्यानले रोहित पौडेलको कप्तानीमा टोलीको घोषणा गरिसकेको छ। टोलीमा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिस जिसी, सन्दीप जोरा, विनोद भण्डारी, बिवेक यादब, अनिल शाह, रासिद खान, सागर ढकाल, आरिफ शेख र अविनाष बोहरा रहेका छन्।