विश्व कप लिग–२: नेदरल्यान्ड्सविरुद्ध नेपालले बनायो २० ओभरमा ३ विकेट गुमाएर ७६ रन - Chaitanya News
  • 2026-06-07
  • 11:09:20
  • आइतबार,जेठ २४, २०८३
  • विश्व कप लिग–२: नेदरल्यान्ड्सविरुद्ध नेपालले बनायो २० ओभरमा ३ विकेट गुमाएर ७६ रन

    विश्व कप लिग–२: नेदरल्यान्ड्सविरुद्ध नेपालले बनायो २० ओभरमा ३ विकेट गुमाएर ७६ रन

    काठमाडौँ– आज (आइतबार) जारी आईसीसी क्रिकेट विश्व कप लिग–२ प्रतियोगिताको नेदरल्यान्ड्सको खेलमा नेपालले २० ओभरमा तीन विकेट गुमाएर ७६ रन बनाएको छ। नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेल ३७ र पाँचौँ नम्बरमा क्रिज समाल्न आएका कप्तान रोहित पौडेल नौ रन बनाउँदै क्रिजमा छन्।

    नेपालको रन रेट ३.८० रहेको छ। कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेदरल्यान्ड्सले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो।

    नेपालले पहिलो विकेटका रूपमा ओपनर आसिफ शेखलाई गुमाएको थियो। उनी १७ रन बनाउँदै आउट भएका थिए। विकेटकिपर ब्याट्सम्यान आसिफ शेखले २७ बलमा एक छक्का र दुई चौका पनि हिर्काएका थिए। उनलाई नेदरल्यान्ड्सका बलर भिभियन किङ्माले बास डे लिडद्वारा क्याच गराएका थिए। ८.३ ओभरमा आसिफ शेख आउट हुँदा नेपालले ४२ रन बनाएको थियो।

    नेपालले दोस्रो विकेटमा रूपमा भने अनिल शाहलाई गुमाएको थियो। तेस्रो नम्बरका क्रिज समाल्न आएका अनिल ११ बलमा एक छक्काको मद्दतले सात रन बनाउँदै आउट भएका थिए। उनलाई भिभियन किङ्माले बोल्ड गरेका थिए। भिभियन किङ्माले लिएको यो दोस्रो विकेट थियो। ११औँ ओभरको अन्तिम बलमा अनिल आउट हुँदा नेपालले ५० रन बनाएको थियो।

    नेपालले तेस्रो विकेटमा रूपमा कुशल मल्ललाई गुमाएको थियो। चौथो नम्बरमा क्रिज समाल्न आएका कुशल मल्ल नौ बलमा दुई रन बनाउँदै पेभेलियन फर्किएका थिए। उनलाई नेदरल्यान्ड्सका बलर आर्यन दत्तले एलबीडब्लूको धरापमा पारेका थिए। १३औँ ओभरको अन्तिम बलमा कुशल मल्ल आउट हुँदा नेपालले ५४ रन बनाएको थियो।