काठमाडौं -प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौं लगायत तराईका जिल्लाहरु आज आइतबार राति ९ बजेदेखि नै मत गणना कार्य सुरु गरिने बताएका छन् ।
आइतबार भक्तपुरको युनिक नेपाल एकेडेमीस्थित मतदान केन्द्रबाट उहाँले प्रतिनिधि र प्रदेश सभा सदस्यको मतदान गर्दै यस्तो बताएका हुन । आफ्नो मत खसालीसकेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस निर्वाचनमा ७० प्रतिशत भन्दा बढी मतदान हुनेमा आयोग विश्वस्त रहेको बताए ।
उनले आइतबार साँझ ५ बजे मतदान कार्य सम्पन्न हुना साथ सबै मतपेटिकाहरु संकलन गर्ने कार्य प्रारम्भ हुने र ७ बजेसम्म मतपेटिका संकलन गरी एक घण्टा छलफलको समय राखेर आइतबार राति ९ बजेदेखि मतगणना कार्य प्रारम्भ हुने बताए ।
उनले हिमाली जिल्लामा मतपेटिकाहरु आइतबार नै जम्मा गर्न नसकिने भएकाले सोमबार बिहान ५ बजेसम्म सबै मतपेटिक जम्मा गर्ने र आवश्यक परे हेलिकोप्टरबाट मतपेटिका संकलन गरी सोमबार ५ बजेबाट नै मतगणना कार्य प्रारम्भ गर्ने बताए । उनले प्रत्यक्षतर्फको नतिजा ८ दिन भित्रमा प्रकाशित गर्ने बताउँदै मंसिर २२ गते भित्रमा सबै नतिजा आउने उल्लेख गरे । आइतबार बिहान ७ बजेबाट देशभर नै एकैचरणमा मतदान सुरु भएको छ ।