चितवन– भरतपुर महानगरपालिकाको दुई स्थानमा बम लेखिएको शंकास्पद वस्तु फेला परेको छ।
प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई आतङ्कित पार्ने गरी दुई स्थानमा राखिएको बमलाई सुरक्षाकर्मीले निष्क्रिय पारेको छ। पूर्व पश्चिम राजमार्गको आस्था चोक र वाइपास रोडको आँखा अस्पताल अगाडि कुकर बम राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए।
राति १२ बजे राखिएको शङ्कास्पद वस्तुलाई बम डिष्पोजल टोलीले निष्क्रिय पारेको उनले बताए। बन्द कुकुरमा खतरा लेखिएर विद्युतीय स्विच समेत जडान गरी राखिएको अवस्थामा फेला परेको उनले जानकारी दिए। निर्वाचनलाई लक्षित गरी राखिएको बमलाई निष्क्रिय पारे पनि अवस्था सामान्य भएको उनले जानकारी दिए। जिल्लामा यस्ता शङ्कास्पद गतिविधि गर्न नदिनको लागि शान्ति सुरक्षा कायम गर्न सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए।