एसिसी वुमन्स प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित - Chaitanya News
  • 2026-06-07
  • 22:51:22
  • आइतबार,जेठ २४, २०८३
  • एसिसी वुमन्स प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    एसिसी वुमन्स प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    काठमाडौँ– एसिसी वुमन्स प्रिमियर कप २०२४ मा नेपालले लगातार दोस्रो जित निकालेको छ।

    आज (आइतबार) भुटानलाई ८ विकेटले पराजित गर्दै नेपाल क्वार्टरफाइनल नजिक पुगेको छ। भुटानले दिएको ६६ रनको सामान्य लक्ष्य नेपालले ११।५ ओभरमा २ विकेट गुमाएर पार गर्‍यो।

    नेपालको जितमा सीता रानामगरले नटआउट ३२ रन र रुबिना क्षेत्रीले नटआउट १७ रन बनाए। सीताले ३७ बलमा २ चौका र १ छक्का तथा रुबिनाले २४ बलमा १ चौका र १ छक्का प्रहार गरे। नेपालकी ओपनर कविता कुँवर ५ रन र कप्तान इन्दू बर्मा १ रनमै आउट भएका थिए। कवितालाई भुटानकी अञ्जु गुरुङ र इन्दूलाई अञ्जुली घलेले आउट गरेका थिए।

    त्यसअघि मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको भुटानले २० ओभरमा ४ विकेट गुमामएर ६५ रन जोड्यो। भुटानका लागि ओपनर नवाङ छोडेनले नेपालकी कप्तान इन्दू बर्माबाट बोल्ड हुनुअघि ५० बलमा २५ रन जोडिन्।

    यस्तै छिरिङ जाङमोले १६ रन र डेचेन वाङमोले १७ रन जोडे। नेपालका कप्तान इन्दूसहित कविता कुँवर, सीता रानामगर र कविता जोशीले १(१ विकेट लिए।

    समूह ‘डी’ मा रहेको नेपालले यसअघि शनिबार भएको पहिलो खेलमा हङकङलाई ८ विकेटले पराजित गरेको थियो। नेपालले समूहको अन्तिम खेल मंगलबार माल्दिभ्ससँग खेल्नेछ। समूहका शीर्ष दुई टिम क्वार्टरफाइनलमका पुग्नेछन्।